समाज

विवादकै कारण भक्तपुरको नौ सय वर्ष पुरानो पोखरी नासिने डर

इकागज |
कात्तिक ८, २०७८ सोमबार १२:२८ बजे

भक्तपुर - वरिपरि ठडिएका ठूल्ठूला भवन । बीचमा पोखरीभरि उम्रिएका झार । पोखरीकै संरक्षणको लागि घेरिएको तारबार । यो भक्तपुरको मध्यपुर थिमिको स्वँगुगा पुखुको दृश्य हो । मध्यपुर थिमि नगरपालिकाको यो  पोखरीले ऐतिहासिक महत्व बोकेको छ । तर स्थानीयबीच पोखरी पुनर्निर्माणको विषयमा उत्पन्न भएको विवादले पोखरीभरि झार र घाँसले भरिभराउ भएको छ । 

नौ सय वर्ष पुरानो यो पोखरी मध्यपुरका तीन गाउँले बनाएको स्थानीय बताउँछन् । बोडे, थिमि र नगदेशका स्थानीय मिलेर पोखरीको निर्माण गरेको स्थानीय बुढापाखा बताउँछन् । ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको यस स्वँगुःगामा तत्कालीन समयमा बच्चाहरूको रुन्चे भगाउनलगायत विभिन्न विरामीहरूलाई औषधिको रूपमा पोखरीको पानी प्रयोग गरिने स्थानीय लक्ष्मी प्रजापतिले बताइन् । तर पोखरीमा पानी सुकेपछि पोखरीमा झार र घाँसले भरिएको गुनासो उनको छ । 


सुरुमा पोखरी मात्रै रहेको सो क्षेत्रमा २०३२ सालमा वडा भवन निर्माण गरिएको र २०५२ सालको माओवादी द्वन्द्वमा सो भवनमा बम प्रहार भएको स्थानीय श्यामकृणि चक्रधरले बताए । उनले बाँकी भएको केही अवशेष २०७२ सालको भूकम्पले पुरिएको जानकारी दिए । ‘पोखरी संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजनसमेत गरिसकेको छ । तर पालिकाले पोखरीमाथि भवन बनाउने भएपछि हामीले पोखरी पुनर्निर्माणमा रोक लगाएका हौँ,’ उनले भने । 

पोखरीमाथि भवन बनेपछि पोखरीको स्वरूप आउन नसक्ने र त्यसको मौलिक अस्तित्व हराउन सक्ने भएकाले पोखरी पुनर्निर्माणमा विवाद आएको उनले बताए । ‘पोखरीको संरक्षणका लागि वरिपर तारबार लगाइएको छ । समयसमयमा झारपात निकाल्ने र सरसफाइसमेत गर्दै आएका छौँ । यसका लागि  संरक्षण समितिसमेत गठन गरिएको छ,’ उनले भने ।

पोखरी पुनर्निर्माणका लागि साढे दुई वर्ष अगाडि नै नगरपालिकाले बजेट विनियोजन गरी शिलान्यास गरे पनि पोखरी संरक्षण हुन नसकेको नगरपालिकाको भनाइ छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मौलिक शैलीमा पोखरीमाथि वडा भवन बन्ने गरी साढे दुई करोड बजेट विनियोजन गरिसकेको छ ।

‘स्थानीय पोखरीमा भवन बनाउने र नबनाउने भन्ने दुई पक्षमा विभाजन भए । सो विवाद अझसम्म टुंगो लाग्न सकेको छैन,’ उनले थपे, ‘पोखरी निर्माण हुन नसक्दा वडा नम्बर ६ को वडा कार्यालय भवनसमेत बन्न सकेको छैन । साँघुरो भाडाको भवनबाट सेवा विस्तार भइरहेको छ ।’

आफूलाई याद भएदेखि नै पोखरीमाथि भवन भएकाले सोहीअनुरूप पुनर्निर्माण गर्न लागिएको उनले बताए । ‘हामीले पोखरीमा भवन देखेका थियौँ । तल बच्चाहरू पौडी खेलिरहेका हुन्थ्ये,’ उनले भने, ‘पोखरीको स्वरूप नबिग्रने गरी पुनर्निर्माण गर्न खोजेका हौं । विवादले सकेनौँ । विवाद सकिनेबित्तिकै पुनर्निर्माण सुरु गर्नेछौँ ।’ 


Author

थप समाचार
x