समाज

नेपालको सार्वभौमिकतामाथि प्रहार गरेको भन्दै रञ्जित रेको किताब जलाउने चेतावनी

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १८:२ बजे

काठमाडौँ – पूर्वसुरक्षाकर्मी परिषद् नेपालले नेपालका लागि पूर्वराजदूत रञ्जित रेको किताब ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ जलाउने चेतावनी दिएको छ । परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल र नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्नेतले रेको किताबले नेपालको सार्वभौमिकतामाथि ठाडो प्रहार गरेकाे औंल्याए ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्वसहायक बस्नेतले रेको उक्त किताब नेपालीहरूले जलाउने चेतावनी दिए । ‘काठमाडौंमा द्विविधा छ भनेको के हो ? भारतले नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा किताबमा लेखिएको छ । नेपालको सार्वभौमिकतामाथि यसरी प्रहार गरिएको किताब नेपालीहरूले जलाउनुपर्छ,’ बस्नेतले भने ।


सम्मेलनमा खरेलले रेको किताबमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको विरोध गर्नुपर्ने बताए । उनले ‘काठमाडौं द्विविधामा छ’ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दासमेत नेपाल सरकार मौन रहेको भन्दै खेद प्रकट गरे । खरेलले नेपाली राजनीतिक दलका नेताहरू भारतसँग लम्पसार परेकाले भारतले नेपालमा खेल्ने गरेकाले यसको सबै दोष नेताहरू जाने बताए ।

किताबमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा प्रहार गरेको खरेलको भनाइ छ । पुस्तकमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको द्वैध चरित्र यथार्थ भएको खरेलले टिप्पणी गरे । ‘हाम्रा शासकहरू लम्पसार परेर व्यक्तिगत स्वार्थका लागि नेपाल–भारतको नाता व्याख्या गर्न थाले, जसकारण भारतले हामीलाई हेप्यो, किताबमा मात्र होइन, हाम्रो राष्ट्रियतामाथि भौतिक रूपमै भारतले प्रहार गरेको छ,’ खरेलले भने । 

रञ्जित रेले आफ्नो किताबमा नेपालमाथि प्रहार गर्नुजति ठूलो अपमान अरू नहुने भन्दै बस्नेतले नेपालीहरू अब वीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको बताए । नेपाललाई भूटान बनाएर भारतको अधिनमा राख्ने कुरा रञ्जित रे र भारतीय शासकहरूको दिवास्वप्न भएको बस्नेतले टिप्पणी गरे । ‘सरकारमा सहभागी नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालहरू नै रेको किताबको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर नेपालको अपमान गरेका छन्,’ बस्नेतले भने ।


Author

थप समाचार
x