समाज

एमआरपीका लागि भिड नगरौँ, अब ई-पासपोर्ट नै लिऔँ

चन्द्रशेखर अधिकारी |
कात्तिक ९, २०७८ मंगलबार १९:४५ बजे

काठमाडौँ- तत्काल मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिन हतार नगर्दा राम्रो हुने भएको छ । किनकी राहदानी विभागले अगामी महिनादेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) नै जारी गर्दैछ । यसको परीक्षण त्रिपुरेश्वरस्थित नयाँ भवनमा दिनहुँ भइरहेको छ । मंसिर १ देखि नै ई-पासपोर्ट जारी गर्ने कार्य भएकाले अहिले नै किन पुरानो फिचर भएको दोस्रो पुस्ताको पासपोर्ट लिने ?

अहिले जारी गरिरहेको एमआरपी लिन भिड लागेको अवस्था देख्दा एक महिना कुरेर किन नेपालीले ई-पासपोर्ट नलिएको भन्ने पनि लाग्न सक्छ। हुनत कतिपय नेपालीहरू अहिले अमेरिका जाने सपना देख्दै डिभी भर्न पासपोर्ट लिइरहेका पनि भेटिएका छन् । अमेरिकाले पनि अन्य कार्ड नम्बर राख्‍दा हुने ठाउँमा पासपोर्ट नम्बर नै राख्नु भनिदिएकाले अहिले राहदानी विभागमा भिड बढेको हो ।


राहादानी विभाग त्रिपुरेश्वर सरेर त्यहाँबाट ई-पासपोर्ट जारी गर्ने तयारीमा काम गरिरहँदा उल्टो एमआरपीमा भिड लागेर ई-पासपोर्ट तर्फ ध्यान दिनसमेत गाह्रो बनाएको अवस्था छ । अन्तराष्ट्रिय नागरिक उड्यान संगठन आइकाओले बाध्यकारी निमय लगाएपछि २०६७ पुस ६ मा नेपालले एमआरपी लागू गरेर हस्तलिखित पासपोर्ट विस्थापित गरेको थियो । अहिले बाध्यकारी नभए पनि सुरक्षित र आवागमनलाई सहज गर्न तेस्रो पुस्ताको अर्थात अन्तराष्ट्रि स्तरको सुरक्षित पासपोर्ट नेपालले जारी गर्न लागेको हो ।

पासपोर्टको बाहिरी आवरणसमेत फरक बनाएको हुँदा कुनै हतारो छैन भने अहिले लिनुभन्दा केही समय ढिलाइ गरेर ई-पासपोर्ट लिँदा राम्रो हुनेछ । विभागले माघदेखि ई-पासपोर्ट जारी गर्ने भने पनि दुई महिना अघिदेखि नै यो जारी गर्न लागेको विभागका महानिर्देशक डोरनाथ अर्यालले इकागजलाई बताए । ‘यसको परीक्षण सफल भएमा मंसिरदेखि नै ई-पासपोर्ट सर्वसाधारणलाई जारी गर्नेछौँ,’ उनले भने, ‘सबै ठिक भएका जारी गर्न समस्या हुँदैन ।’

विभागले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम तय गरेको थियो । ‘यति काम गरेछौँ की सबै थोकले साथ पनि दिएको छ । कोभिड भुलेर काम अघि बढेको छ । त्यसैले तोकिएको समयभन्दा अगाडि नै ई-पासपोर्ट जारी गर्न सकिने छ,’ उनले भने, ‘सबै काम सम्पन्न हुँदै गएका छन्। परीक्षण सुरु भएको छ । मंसिर महिनामै ई-पासपोर्ट दिन सकिने छ ।’

एमआरपीको तस्वीर भएको पेज अर्थात् डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याटमा मेसिन रिडेबल जोन हुन्छ । राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् । विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले इमिग्रेसनमा सहज पनि हुन्छ । चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन्। यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आफ्नै प्रकारको महत्व रहन्छ ।

पोलिकार्बोनेट सहितको डाटाकोे तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हनाले पनि यसलाई जतिसक्दो छिटो जारी गर्न तयारी गरिएको हो । अन्य राहादानीलाई पुरानै रंगमा छोडे पनि साधारण राहदानीको रंग भने परिवर्तन गरेको छ । साधारण राहदानी चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ । यद्यपि राहदानीहरू साधारण, कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन् । सिम्यान्स अभिलेख किताबलाई केही समय लाग्ने विभागको ठहर छ ।

हातले लेख्ने राहादीबाट मेसिनले पढ्ने हुँदै अहिले ई-पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोड सहित यो विशेष र सुरक्षित राहदानी हो । यो भन्दा अत्याधुनिक पासपोर्ट पनि आइसकेको भए पनि खासै उपयोगमा आएका छैनन् । भिसा नचाहिने मुलुकमा स्मार्ट कार्डहरूको प्रयोग भएको देखिन्छ । त्यही स्मार्ट कार्ड, स्मार्ट फोन पासपोर्ट, क्लाउड पासपोर्ट, भर्चुअल आइडी लगायतकालाई अर्को अर्थात फोर्थ जेनेरेसन पासपोर्ट पनि भिनिन्छ ।

अहिले एमआरपी हुनेले ई-पासपोर्ट बनाई हाल्न अनिवार्य छैन । तर, नयाँ बनाउनेले किन १० वर्षको लागि यो पासपोर्ट बनाईने हुनाले र केहीसाता कुरेर त ई-पासपोर्ट नै आउँने पासपोर्ट विभागका निर्देशक शरद अरनले बताए । यसमा विदेशस्थित कुटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरूले रुजु गर्ने लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागले बनाउने काम गर्छ ।

एमआरपीका लागि आईसीआर फर्म स्क्यान गर्दा त्रुटि हुने सम्भावना थियो । र, भएका पनि छन् । तर ई-पसापोर्ट त्यसबाट मुक्त हुने, अरनले बताउँदै भने,‘यसमा डिजिटल रूपमा फर्म भर्नुपर्ने हुनाले त्रुटि हुने सम्भावना पनि कम हुनेछ ।’ अरन बेलायतमा नियोग उपप्रमुख हुनु अघि पनि राहदानी विभागमा नै थिए । अहिले फर्केपछि केही समय राष्ट्रपति कार्यालय बसेर अनुभवी भन्दै पुन: विभागमा ल्याइएको हो । महानिर्देशक आर्यालसँग मिलेर ई-पासपोर्ट जतिसक्दो छिटो तयार गर्नेमा लागि परेका छन् ।

‘विश्वमा हाल चलेको सबैभन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वासयोग्य पनि छ । नेपालले आइकाओबाट पब्लिक कि डाइरेक्टरी (पीकेडी) पनि पाइसहेकाले थप सहज र सम्मानित हुनेछ,’ अरनले भने, ‘विदेश यात्रामा ई-पासपोर्टले निकै सहजता ल्याउँछ । विद्युतीय गेटहरूमा पनि आफैं स्क्यान गरेर जान सकिने हुन्छ । लाइभ इनरोलमेन्ट गर्नुपर्ने हुनाले पहिले जस्तै तस्बिरहरू नमिलेर दुःख पाउनुपर्ने पनि हुँदैन ।’

नेपालमा नै रहेर ई-पासपोर्ट बनाउनेको हकमा राष्ट्रिय परिचय पत्रको नम्बर आवश्यक पर्ने हुनाले त्यसको नम्बर लिन आवश्यक छ । परिचयपत्र नभए पनि त्यसको नम्बरको लागि भए पनि परिचयपत्र बनाउन फर्म भर्ने कार्य गर्न आवश्यक छ । यतिबेला डिभीले र कोभिडका कारण बाहिर जान नपाएर बसेकाहरूलाई अन्तराष्ट्रिय मुभमेन्टको कारण त्यसतर्फ जानका लागि होला पासपोर्ट बनाउनेको चाप बढेको छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x