समाज

कृषिमा बीएस्सीपछि ग्रेस‘फूल’ लाइफ : एक्जिट हैन, एक्टिभ

सृजना खड्का |
कात्तिक १५, २०७८ सोमबार १५:४९ बजे

काठमाडौँ -  एग्रिकल्चरमा बीएस्सी गरेकी उनले त्यतिबेला नै आफ्नो ठाउँमा कृषिको सम्भावना देखेकी थिइन् । त्यसैले त कलेज पढ्दा रुपा आफ्ना शिक्षकहरूलाई सुनाइरहन्थिन्– हाम्रो घरतिर फूल खेती हुन्छ नि ! 

हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी (हिकास्ट) मा बीएस्सी एग्रिकल्चर गरेकी उनले त्यतिबेला नै आफ्नो ठाउँमा कृषिको सम्भावना देखेकी थिइन् । त्यसैले त फ्लोरिकल्चरलाई उनले मुख्य विषय बनाएर पढिन् । प्लस टु साइन्स पढेपछि नै उनलाई लागेको थियो– नेपाल त कृषिप्रधान देश, किन यही क्षेत्रमा काम गरेर नहेर्ने ? 


भक्तपुर, गुण्डुकी रुपा बस्नेत (२७)को घरमा फूल खेती गर्न थालेको २० वर्ष भयो । सानैदेखि उनी बारीमा जाने, फूल टिप्ने र माला उन्ने काम गर्थिन् । त्यतिबेला सामान्य घरखर्च चलाउन उनको परिवार यो काम गर्थ्यो । अहिले भने रुपाको नेतृत्वमा उनको परिवारले व्यावसायिक फूल खेती गर्न थालेको पाँच वर्ष भइसक्यो ।

‘हामी सानो हुँदादेखि नै हाम्रो दैनिकी यस्तै थियो,’ रुपाले सम्झिइन्, ‘त्यो बेला पनि हामी झिसमिसेमै फूल टिप्न बारीमा आइपुग्थ्यौँ । पहिला सामान्य जीविका चलाउन गरिन्थ्यो । अहिले जीवन नै यसैमा समर्पित गरेका छौँ ।’ 

रुपाको यो यात्रामा बलियो साथ बनेर उभिएकी छिन्, उनकी माइली दिदी रञ्जना (३१) । रञ्जना र रुपाले दिदीबहिनीको नाम मिलाएर आर. बी. अर्गानिक फार्म दर्ता गरेका छन् । फार्मको प्राविधिक पाटो रुपाले हेर्छिन् । फिल्डमा खटिएर काम गर्न रञ्जनालाई मज्जा लाग्छ । रञ्जना र रुपाको मेहनतले ढकमक्क फुलेका फूलले यतिबेला तिहारलाई स्वागत गरिरहेको छ । 

यो यात्रा यसै तय भएको होइन । ब्याचलर्स सकेर आफ्नै ठाउँमा व्यावसायिक फूल खेती गर्न खोज्दा रुपालाई धेरैले पत्याएनन् । आठ–दश लाख रुपैयाँ लगानी गर्न आफन्तदेखि बैंकसम्मलाई गुहारिन् । ‘बैंकबाट ऋण लिएको थिएँ’ उनले भनिन्, ‘सुरुमा प्रोसेस गर्दा निकै आत्तिएको थिएँ । तिर्न नसकिने हो कि भनेर निकै डर लागेको थियो ।’

गुण्डुमा उनीजस्तो कृषि पढेर यही क्षेत्रमा काम गर्ने कोही थिएनन् र छैनन् पनि । धेरैले धेरै थरी कुरा सुनाउँथे, तर उनले कहिल्यै सुनिनन् । आफ्नै थोरै जमिनमा काम गर्ने उनले साढे चार रोपनी जग्गा भाडामा लिएर काम थालेकी थिइन् । त्यति धेरै जग्गामा दैनिकजसो कुटो, कोदालो र माटोसँग खेल्न असाध्यै गाह्रो भएको थियो । बिस्तारै बानी पर्दै गयो ।

‘सुरुमा चुनौती आउँछ तर, आफूभित्र आत्मविश्वास हुनुपर्छ,’ उनले भनिन्, ‘समाजको मान्छेले के भन्ला, साथीभाइले के भन्लान्, परिवारले के भन्ला भन्‍नेतिर सोचियो भने केही गर्न सकिँदैन ।’

आजभोलि रुपाको दिनचर्या बिहान पाँच बजेबाट सुरु हुन्छ । उज्यालो हुन नपाउँदै उनको परिवार बारीमा आइसक्छ । चर्को घाम लाग्नुभन्दा पहिले नै उनीहरूले मखमली फूल टिपिसक्छन् । दिउँसो माला उन्छन् । साँझपख घाम डुब्दै गएपछि उनीहरू फेरि बारीमै फर्किन्छन् ।

‘अहिले सिजन भएकाले दिनको १७ घण्टा जस्तो खटिन्छौँ,’ उनले भनिन्, ‘बिहान ५ बजेदेखि राति १० बजेसम्म हामी फूलकै काम गरिरहेका हुन्छौँ ।’ जति नै दुःख भए पनि फूलबारीमा आएपछि सारा पीडा भुल्छिन् रुपा । फूलबारीमा ढकमक्क फुलेका फूल र तिनले दिने सुगन्धमा उनका दुःख पनि भुलिदिन्छन् । ‘कहिलेकाहीँ त मैले फुलाएका सबै फूलले मलाई चिन्छन् जस्तो लाग्छ,’ उनले सुनाइन् । 

कहिलेकाहीँ बारीमा खटेअनुसारको उपलब्धि हुँदैन । मौसमदेखि मार्केटसम्मको अवस्था उनीहरूको वशमा हुँदैन । ‘फूल खेती सिजनल हुने भएकाले तरकारी बालीजस्तो वर्षैभरि बिक्छ भन्‍ने पनि हुँदैन,’ उनले भनिन् । अघिल्लो वर्ष कोभिडले गर्दा उनीहरूलाई अप्ठ्यारो परेको थियो । कति फूल बारीमै ओइलाए । कति फूल टिपेर पनि फ्याँक्नुपर्‍यो ।

जोखिम भए पनि उनीहरू हरेस भने खाएनन् । जोखिम नमोली सफलता पाइँदैन भन्‍ने सोच रुपाको छ । ‘सुरुवाती वर्षमा निकै गाह्रो भएको थियो,’ उनले सुनाइन्, ‘यो वर्ष त मागअनुसारको आपूर्ति गर्नै मुस्किल परिरहेको छ । मखमली १० हजार जति बेचिन्छ होला सोचेका थियौँ । केही दिन पहिले हिसाब गर्दा १५ हजार बेचिसकेछाैँ ।’

यो वर्षदेखि उनीहरूले फूलाएका फूल विदेश पनि जान थालेको छ । विशेषगरी उनीहरूले उत्पादन गरेको फूल तिहारका लागि अस्ट्रेलिया, अमेरिका र जापानसम्म पुग्छ । ‘पहिला त फूल उत्पादन गर्ने आइडिया मात्रै थियो,’ उनले सुनाइन्, ‘त्यसलाई कसरी मार्केटिङ गर्नुपर्छ भन्‍ने नै थाहा थिएन । पछि बिस्तारै सिक्दै गएँ, मान्छेहरू चिन्दै गएँ । अहिले हाम्रो कामले हामीलाई मान्छेहरूले चिन्न थालेका छन् ।’

पढेर र नपढी खेती गर्नुमा उनले धेरै भिन्नता पाएकी छिन् । ‘नपढी गर्दा बिरुवामा के रोग लाग्यो ?, त्यसको कसरी समाधान गर्ने ? थाहा हुँदैन,’ उनले भनिन्, ‘मैले कृषि नै पढेकाले बिरुवामा केही भइहाल्यो भने आत्तिन्नँ । त्यसको समाधान कसरी गर्ने हामीलाई थाहा हुन्छ ।’

अहिले उनी कसैको बाली बिग्रियो भने आफू वरपरसम्म गएर हेरिदिन्छिन् । बिउ राखिदिन्छिन् । कतिले बेच्न सकेका छैनन् भने मार्केटिङ पनि गरिदिन्छिन् । उनले सुरु गर्दा व्यावसायिक रुपमा फूल खेती गर्नेहरू खासै थिएनन् । ‘टनेल बनाएरै फूल खेती गर्न मैले नै सुरु गरेको हुँ,’ उनले भनिन्, ‘अहिले मलाई नै हेरेर धेरै जनाले टनेल बनाएर व्यावसायिक फूल खेती गर्न थालेका छन् ।’

रुपाले सात रोपनी जग्गामा १२ ओटा टनेल बनाएकी छिन् । १ रोपनी जग्गाको वर्षको १५ हजार तिर्छिन् । कृषिमा नयाँ टेक्नोलोजीको प्रयोग गरेर काम गर्ने उनको इच्छा छ । अहिलेसम्म उनले कम लागत लाग्ने सामग्रीको प्रयोग गर्दै आइरहेकी छिन् । टनेल बनाउन बाँस प्रयोग गर्छिन् । ‘बाँसको टनेल बनाउँदा कुन बेला हावाहुरी आएर उडाउँछ थाहा हुँदैन,’ उनले सुनाइन्, ‘त्यसमा फलामको तुलनामा ५० प्रतिशत कम लागत लाग्छ । तर, बलियो हुँदैन । यस्ता कुरामा सरकारी स्तरबाट सहयोग मिले आफूजस्ता व्यवसायीलाई सजिलो हुन्थ्यो ।’ 

रुपालाई विदेश गएर आफ्नो जस्तो खेती प्रणाली हेर्न र सिक्न मन छ । तर, उनको मन भने विदेशमा बस्ने भने छैन । उनले सुनाइन्, ‘सिक्न जाने हो, ढुक्कैले उतै पलायन हुने सोच भने कहिल्यै आएन ।’ उनीहरू चैतको अन्तिममा फूलको बिउ राख्छन् । वैशाखमा रोप्छन् । भदौदेखि टिप्न सुरु हुन्छ । मखमलीलाई त्यहीबेलादेखि टिप्दै सुकाउँदै गर्छन् ।

बारीमा ट्रयाक्टर लगाउने, मल बोक्नेदेखि फूल टिप्ने र उन्नेसम्म धेरैलाई उनीहरूले रोजगारी दिएका छन् । उनीहरू आफैँ पनि कामदारसँगै खटिन्छन् । आजभोलि रुपाले कामदारको अभाव हुन थालेको महसुस गरेकी छिन् । ‘गुण्डु मखमलीका लागि खास क्षेत्र भएकाले सबैलाई आफ्नै फूल टिप्न भ्याइनभ्याई हुन्छ,’ उनले सुनाइन्, ‘कामदार नै पाउन मुस्किल हुन्छ । बारीभरि फूल हुँदा नि अर्डर पुर्‍याउन हम्मेहम्मे हुन्छ ।’

हजारौँका दाजुभाइ–दिदीबहिनीका लागि आफूहरू वर्षौंदेखि माला बनिरहे पनि उनीहरू आफूले फुलाएका फूल आफ्नै दाजु–भाइलाई लगाइदिन भने पाउँदैनन् । उनीहरू चार दिदीबहिनी छन् । दाइ–भाइ नहुँदा खल्लो जस्तो लागे पनि आफूहरूका फूल थुप्रै दाइ–भाइको गलामा पुगेको सम्झेर उनीहरूलाई उसै आनन्द लाग्छ । 

र, आजै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘ग्रेसफूल एक्जिट’ खोजेको खबर छ्यालब्याल छ । तर, रुपा–रञ्जना सिस्टर्सका लागि फूलले दिएको आफ्नो ग्रेसफूल लाइफ (सम्मानजनक जीवन) मा ‘एक्जिट’ भन्‍ने शब्द छैन । उनीहरू यो व्यवसायबाट ‘एक्जिट’ (बाहिरिने) हुनभन्दा झनै ‘एक्टिभ’ हुन चाहन्छन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x