समाज

जिल्ला प्रशासन कार्यालय बैतडीमा कर्मचारी अभाव

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १८:२७ बजे

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाइ हुने गरेको छ । 

कर्मचारी अभावका कारण यसै महिनाको सुरुवातमा अविरल वर्षाले क्षति पुर्‍याएका ठाउँमा समेत प्रशासन कार्यालयको नेतृत्व पुग्न सकेको छैन । विगतमा प्रकोप भएको ठाउँमा सबैभन्दा पहिला जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुग्ने गरेकोमा अहिले नपुगेको दशरथचन्द नगरपालिकाका– ३ का अजब पाण्डेयले बताए । ‘अहिले जिल्लाभरी बाढी पहिरोका घटना भए पनि प्रमुख जिल्ला अधिकारी जिल्लामा छैनन् । उहाँको गैरजिम्मेवारी देखिएको छ । उहाँकै निष्क्रियताका कारणसमेत प्रशासनमा कर्मचारी अभाव भएको हुनसक्छ,’ उनले भने ।


दसैं पहिला बिदामा बसेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे अझै पनि जिल्ला फर्किएका छैनन् । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएकै कारण चाडपर्वका बेला गरिनुपर्ने बजार अनुगमन कार्यसमेत हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी रहेकोमा १७ जना मात्रै कार्यरत रहेका छन् ।


Author

थप समाचार
x