समाज

कारागारमा झडप प्रकरण

अभिषेक गिरीलाई रोक्न आन्दोलन गर्ने चौकीदार गुरुङसहित १४ कैदीको सरुवा

बाबुराम भण्डारी |
कात्तिक २३, २०७८ मंगलबार २१:१७ बजे

झडपपछि थप सुरक्षाका लागि कारागार परिसरमा खटिएका प्रहरी । तस्बिर : बाबुराम भण्डारी / इकागज

विराटनगर – मोरङ कारागारभित्र मंगलबार भएको झडपका क्रममा घाइते भएका चौकीदार किरण गुरुङसहित उनकै नेतृत्वमा रहेका नाइके तथा भाइ नाइकेहरूको अचानक सरुवा गरिएको छ । कारागार व्यवस्थापन विभागको आकस्मिक निर्देशन भन्दै उनीहरूलाई सुनसरीको झुम्का र झापा कारागारमा सरुवा गरिएको जनाइएको छ ।

झडपको मुख्य कारण बनाइएका चौकीदार गुरुङ र उनको समुहले कारागारभित्रका अन्य कैदीबन्दीलाई यातना दिएको भनिएको छ । प्रतिकारमा उत्रिएको समुहले चौकीदार गुरुङसहित नाइके र भाइनाइकेहरूलाई नियन्त्रणमा लिएर बुधबार बिहान करिब १० बजे कुटपिट गरी कोठामा थुनेका थिए ।


कारागार स्रोतका अनुसार चौकीदार गुरुङविरुद्ध प्रतिकार गर्ने समुहको नेतृत्व कार्तिक कामतले गरेका हुन् । झडपका क्रममा घाइते भएको गुरुङको समुहका १४ जना मध्ये ६ जनाको कोसी अस्पताल विराटनगरमा प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ । उपचारपछि उनीहरूलाई पुनः कारागार पुर्‍याएर त्यहाँबाट १४ जनालाई दुई समुह बनाएर झुम्का र झापा लगिएको निमित्त जेलर रामप्रसाद पोखरेलले इकागजलाई जानकारी दिए ।

झुम्का सरुवा हुनेमा चौकीदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बु रहेका छन् । त्यसैगरी रमेश मण्डल, बबिहाङ राई, एलेक्स नेपाली, रामबहादुर लिम्बु, रोशन दाहाल, कपिलकुमार साह, विशाल तामाङ, राजु राई र डिल्ली देवानलाई जिल्ला कारागार झापा पठाएको जेलर पोखरेलले बताए ।
चौकीदार गुरुङ तिनै व्यक्ति हुन्, जसले कात्तिक १६ गते डिल्ली बजार कारागारबाट सरुवा गरेर ल्याइएका ‘डन’ अभिषेक गिरीलाई कारागार प्रवेश गर्न नदिने आन्दोलनको नेतृत्व गरेका थिए । गुरुङकै नेतृत्वमा भएको उक्त आन्दोलनपछि गिरीलाई मोरङ कारागारमा हाजिर नगराई जिल्ला कारागार सप्तरी पुर्‍याइएको थियो ।
एक पुर्वचौकीदारका अनुसार गिरीले सप्तरी कारागारबाटै कार्तिक कामतलाई प्रयोग गरेर गुरूङमाथि आक्रमण गरेको र योजनावद्ध तरिकाले उनको समुहकै सरुवा गरेका हुन् । उनकाअनुसार तत्कालीन चौकीदार नवीन राईलाई झुम्का कारागार सरूवा गरेर गिरी मोरङ कारागारमा आउने चाहन्थे । सोही योजनाअनुसार राईको झुम्का सरुवासमेत भइसकेको थियो । गिरी नआउञ्जेलमात्रै गुरुङलाई चौकीदारको जिम्मेवारी दिइएको थियो ।

गिरीको बिरोध गर्नेहरूलाई हटाएर उनलाई पुनः मोरङ ल्याउने वातावरण भने वर्तमान गृहमन्त्री बालकृष्ण खाणकै नेतृत्वमा बनेको ती पुर्वचौकीदारले दाबी गरे । गुण्डागर्दी र हत्याका घटनामा संलग्नता जोडिएका ‘डन’ गिरी कांग्रेस निकट मानिन्छन् । ०६५ मा साविक जिविसको एउटा टेण्डर भर्ने शिलशिलामा गिरी र अर्को समुहबीच भएको हानाहानमा विराटनगरका करण यादवको ज्यान गएको थियो ।

उक्त घटनाको मुख्य आरोपी गिरीले राईलाई घटनाको संलग्नता स्वीकार्न लगाएका थिए । एमाले निकटका डनहरुसँग नजिक रहेका राईले भने हत्या स्वीकारे वापत गिरीबाट २० लाख रुपैयाँ पाउने शर्त रहेको भए पनि गिरीले उक्त रकम नदिएपछि उनीहरूबीच मनमुटाव उत्पन्न भएको जनाइएको छ । गिरीले आफुलाई सरुवा गराएर पुनः मोरङ कारागारको चौकीदार बन्न लागेको थाहा पाएका राईले आफ्नै सिफारिसमा गुरुङलाई चौकीदारको जिम्मेवारी हस्तान्तरण गराएका थिए । यसअघि विराटनगर कारागारमै रहेका गिरीले कारागारभित्रैबाट विराटनगरका दर्जनौं व्यापारीसँग रकम असुली धन्दा चलाएको खुलेपछि उनलाई ०७४ चैतमा डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।

गृहमन्त्री खाणकै निर्देशनमा कारागार व्यवस्था विभागले मंगलबार चौकीदार गुरुङलाई अचानक सरुवा गराएको स्रोतको दाबी छ । चौकीदारमा गुरुङ नहुँदामात्रै अवस्था साम्य हुने कारण देखाएर अपहरण तथा शरीर बन्धक मुद्दामा जेल जीवन बिताइरहेका गिरीकै योजनाअनुसार १४ जना कैदीको सरुवा भएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x