समाज

विराटनगरको छठ रौनक : नदी, तलाउ र नहर किनारबाट अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (फोटो फिचर)

बाबुराम भण्डारी |
कात्तिक २४, २०७८ बुधबार १७:२५ बजे

विराटनगर - अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भक्तजनहरु विराटनगरका नदी, तलाउ र नहर किनारमा पुगेका छन् । उनीहरु सूर्य अस्ताउनु पुर्व नै नदी तलाउ र नहर किनारमा बनाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।


सूर्यको आराधनासँग जोडिएको छठ पर्वको मुख्य रौनकमध्ये अस्ताउँदो सूर्यलाई अर्घ्य दिनु पनि हो । सूर्य स्तुतिले आफुले चिताएको मनोकामना पुरा हुने चाहनाका साथ श्रद्धालु भक्तजनहरुले छठ पर्व मनाउँदै आएका छन् । कात्तिक चतुर्थीदेखि सुरु हुने छठ सप्तमि तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुन्छ । विशेष गरी मिथिला संस्कृतिसँग जोडिएका र तराईमा बढी मनाइने छठ पर्व अहिले पहाडी समुदायमा पनि उत्तिक्कै श्रद्धाका साथ मनाइरहेका छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन ब्रतालु भक्तजनहरु नदी, तलाउ र नहरमा बनाइएको आ–आफ्नो घाटमा उपस्थित भएका हुन् । मंगलबार पञ्चमी तिथिका दिन उनीहरुले ‘खरना’ ब्रत लिएका हुन्छन् । खरना समापनपछि ब्रतालुहरुले नुहाई धुवाई गरेर चोखो हुने घरमा नयाँ चुल्हो बनाएर त्यसमा खिर पकाउँछन् र प्रसादका रुपमा प्रयोग गर्दछन् ।

साथै ओखलमा कुटिएको गहँुको पिठोबाट बनाइएको ठकुवासहितका अन्य मिष्टान परिकार समेत सूर्यलाई अर्घ्य दिइने घाटमा लगेर राखिन्छन् । उनीहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने बेलामा शरिरको घुँडामाथिसम्म पानीमा डुबाएर सूर्य आराधना गर्दछन् ।

विराटनगरको पुर्वपटि रहेको सिंघीया नदी, पश्चिम तर्फको केसलिया नहर, मोरङ सुनसरी सिंचाई आयोजनाको नहर, बुढी खोलासम्म पुगेर भक्तजनहरुले सूर्यलाई अर्घ्य चढाइरहेका छन् । अर्घ्य चढाएर अघिकांश श्रद्धालुहरु घाटमै जाग्राम बस्दछन् । बालबालिका, बृद्धबृद्धाहरु भने सूर्यलाई अर्घ्य चढाइसकेर घर फर्किने गरेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x