समाज

वानेश्वरको भित्तो भन्छ : घर-घरमा भ्रष्ट संस्कार

अनिष भट्टराई | अनुज बज्राचार्य |
कात्तिक २५, २०७८ बिहीबार १६:४४ बजे

काठमाडौँ - नयाँ वानेश्वर संगम चोकमा नासिर आलमको सिरक–डसना पसल छ । मौसम मंसिर छ, मतलब चिसो बढ्दै छ । तर उनको तातो कपडावाला पसलमा ग्राहकको तातो छिरेको छैन । उनले यो पसल सुरु गरेको भर्खर दुई महिना पुग्यो ।


नासिरका आँखा ग्राहकमा हैन, पसल अगाडिको भित्तामा ठोक्किन्छन् । प्रज्ञा कुञ्ज विद्यालयको बाहिरी भित्तामा लेखिएको त्यो वाक्य उनलाई कटुसत्य लाग्छ । त्यहाँ लेखिएको छ, ‘घर–घरमा भ्रष्ट संस्कार ।’

यो वाक्य कसले र किन लेख्यो नासिरलाई पत्तो छैन । नासिरमात्र होइन हामीले कुराकानी गरेका कोही पनि स्थानीयले यसको ‘सर्जक’ ठम्याउन सकेनन् ।

सर्जक अज्ञात रहेको यो लाइन यो लोकसाहित्यजस्तै लोकको सामूहिक स्वर हो ? नासिरले पसल चलाउन आउनुअघि नै सो वाक्य त्यो भित्तामा कुँदिएको थियो । ‘म यहाँ आउनुअघि नै त्यो लेखिएको थियो, कसले कहिले लेख्यो थाहा छैन,’ नासिर भन्छन् ।

नासिरका अनुसार काठमाडौंका घर–घरमा भ्रष्ट संस्कार छ । स्थानीय युवा राज्यको कामकारबाहीबाट आजित भएपछि त्यो लेखेको हुनसक्ने उनी लख काट्छन् । ‘सरकार नै भ्रष्ट छ, युवाहरूले लेखेको हुनपर्छ । सत्यता नै लेखेका हुन्, गलत के नै छ र ?’ उनी प्रश्न गर्छन् ।

यस्तो लेखोट केवल त्यहाँमात्र लेखिएको छैन । प्रज्ञा कुञ्ज विद्यालयबाट केही पूर्वपट्टि पनि यस्तै आक्रोशपूर्ण वाक्य लेखिएको छ । एउटा घरको बाहिरी भित्तामा लेखिएको छ, ‘जनता एट्याक !’ त्यो वाक्य कुँदिएको भित्ताअगाडि केबल नेटवर्क प्रालि चलाइरहेका रुपक श्रेष्ठले पनि त्यो वाक्य कसले र कहिले लेख्यो थाहा नभएको प्रतिक्रिया दिए । ‘दसैंअघि नयाँ पेन्ट लगाएका थिए, त्यसपछि लेखिएको हो । एक महिना भयो होला,’ उनले सुनाए ।

वानेश्वरका भित्तामा लेखिएका यी वाक्य केवल वाक्य होइनन्, देशको अवस्थाको चित्रण हो । जनताको आक्रोश हो । उपेक्षित युवाका भाव हुन् । सरकारले जनआवाज सुन्दो हो त भित्ता यसरी पोतिने थिएनन् । त्यहाँ हाम्रा ‘राजनेता’हरूका महावाणी छापिने थिए ।

शब्द : अनिष भट्टराई 
तस्बिर : अनुज बज्राचार्य
  


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x