समाज

प्राधिकरणको बिजुली नपुगेपछि देउसी खेलेर युवाले किने जेनेरेटर

कौवाडाँडाका स्थानीय अझै पनि टुकीको भरमा

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १५:१६ बजे

सिन्धुली - हरिहरपुरगढीस्थित कौवाडाँडाका युवाले देउसी खेलेर जम्मा गरेको पैसाले जेनेरेटर खरिद गरेका छन् । नेपाल विद्युत प्रधिकरको ‘उज्यालो नेपाल अभियान’ले आफ्नो गाउँलाई नछोएपछि स्थानीय युवाले गाउँमा बत्ती बाल्ने उद्देश्यले जेनेरेटर खरिद गरेका हुन् । 

स्थानीय युवा कमान सिंङ बम्जनकाअनुसार देउसी खेलेर करिब ६० हजार रूपैयाँ संकलन भएको छ । उक्त रकममा गाउँका युवाको तर्फबाट केही थप गरेर जेनेरेटर र स्पीकर खरिद गरिएको हो । ५६ घरधुरी रहेको कौवाडाँडाका स्थानीय अझै पनि टुकीको भरमा छन् । 


गाउँमा जेनेरेटर आएपछि अब विभिन्न सामूहिक कार्य, विवाह, व्रतवन्ध, मेलाजस्ता कार्य गर्दा बत्ती बाल्न पाइने भएपछि स्थानीय खुसी भएका छन् । कौवाडाँडामा वर्षेनी हरिबोधिनी एकादशीमा मेला लाग्दै आएको छ । 

पुर्व पश्चिम लोकमार्गबाट आधा घण्टाकोे पैदल दूरीमा रहेको कौवागाउँको सीमाना सर्लाहीसँग जोडिएको छ । कौवाडाँडामा गाउँपालिकाको लगानीमा ६ महिनाअघि पोल गाड्ने र तार टाग्ने काम भए पनि बिजुली बत्ती भने बलेको छैन । गाउँपालिकाले भने गत वैशाखमै बिजुली बाल्ने उद्देश्यसहित काम गरे पनि कोभिड संक्रमणले सिर्जना गरेको महामारी र वर्षातले ढिला भएको गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले जानकारी दिए । ‘कोभिड र वर्षातका कारण ठेकेदार कम्पनीले काम गर्न सकेन,’ उनले भने, ‘अब तत्काल काम गर्न अनुरोध गरेका छौं ।’ 


Author

थप समाचार
x