समाज

राष्ट्रिय जनगणना

किराँत कि युमा धर्म भन्नेमा लिम्बू समुदायमा अन्योल

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १७:१ बजे

तेह्रथुम –  जनगणनामा धर्मको महलमा कुन धर्म लेख्ने भन्नेबारे लिम्बू समुदायमा अन्योल देखिएको छ । विगतको जनगणनमा किराँत धर्म लेख्दै आएक लिम्बूहरू अहिले आफ्नो धर्म के लेख्ने भन्नेमा अन्योलमा परेका हुन् ।

पछिल्लो समय मौलिक कला, संस्कार, संस्कृति र परम्परालाई मान्दै आएका लिम्बूहरूको धर्म युमा साम्यो हो भन्न थालिएको छ । लिम्बू समुदायमा सत्यहाङमा (किराँत)हरूले आफ्नो मौलिकता नै नष्ट गर्दै गएपछि मुन्धुमविद् मौलिक परम्परा मान्दै आएका लिम्बूहरूको धर्म युमा साम्यो नै हो भन्न थालेका छन् । 


आफुहरू प्रकृति पूजकको रूपमा मान्दै आएका लिम्बूहरूले ०४६ सालअगाडि हिन्दू नै लेख्दै आएका थिए । तर, अहिले लिम्बूहरू किराँत लेख्ने कि युमा लेख्ने भन्ने अन्योल भएको बताउँछन् ।  सत्यहाङमा (किराँत)हरूमा जाने हो भन्ने लिम्बू (याक्थुङवा)हरू हुन् भन्ने नै प्रतिविम्बित नभएको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका उपाध्यक्ष दिल साङवाले बताए । 

‘यसो भन्दै गर्दा युमा साम्योले लिम्बूहरूको अस्तित्वमा समेट्छ कि समेट्दैन भन्ने कुरा गम्भीर हो । त्यसैले जनगणनामा गम्भीर हुनपर्ने अवस्था सिर्जना भएको छ’, उनले भने । किराँत याक्थुङ चुम्लुङले किराँत नै लेख्नु पर्छ भनेर आग्रह गरिरहेको छ भने युमा साम्यो महासभाले युमा साम्यो लेख्नु पर्छ भनेर अपिल गर्दै आएको छ । 

किराँत याक्थुङ चुम्लुङले २०४६ सालदेखि किराँत धर्म लिम्बू समुदायमा लेख्ने अभियान सुरु गर्दै आएको छ । अहिलेको गणनामा पनि चुम्लुङले किराँत नै लेख्नु पर्छ भने अभियान चलाउँदै आइरहेको छ । किराँत र युमा साम्योबीच विवाद हुँदै आए पनि सबै लिम्बूहरू एक भएर जाँदा राम्रो हुने किराँत याक्थुङ चुम्लुङ छथरका अध्यक्ष थानाङ तिगेलाको भनाइ छ । 

किराँत र युमा साम्यो लेख्ने र लेखाउने अभियान पूर्वका विभिन्न जिल्लाहरूमा यतिबेला तीव्र रूपमा सञ्चालन हुँदै आएका छन । यो जनगणनामा सबै लिम्बूहरूले युमा साम्यो लेख्न चाहेको मुन्धुमविद् तथा लालिगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबोहाङले बताए । तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरीलगायत मुलुकका विभिन्न जिल्लाहरूमा लिम्बूहरू बसोबास गर्दै आएका छन् ।
 


Author

थप समाचार
x