समाज

रामदेवद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

इकागज |
मंसिर ४, २०७८ शनिवार १५:५२ बजे

काठमाडौँ - भारतीय योगगुरु रामदेव बाबाले पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् । शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा योग प्रशिक्षण कार्यक्रममा उनले शाहप्रति सम्मान प्रकट गरेका हुन् ।

‘नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति मेरो नमन छ, जसरी मेरो भारतका बल्लव भाई पट्टेलप्रति सदैव श्रद्धा रही आएको छ,’ उनले भने । उनले नेपालको धार्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने पनि बताएका छन् । नेपाल वैदिक सनातन एवम् धार्मिक संस्कृतिले धनी र अद्वितीय देश रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।


‘नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु,’ योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने ।

उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गरे । नेपाल कैयौं ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उहाँले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती रहेको बताए । उनले चन्द्रागिरि हिल्सको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा यहाँको प्राकृतिक सुन्दर पक्षको बयान गरे । ‘हिमशृङ्खला देखिने यस डाँडाको स्वच्छ हावा र प्राकृतिक सुन्दर पक्षका कारण योग तथा ध्यान गर्ने यो एक पुण्य भूमि हो भन्ने भलाई लाग्यो, यस्ता अलौकिक स्थान र सम्पदा नेपालमा मात्र छन्, त्यसैले नेपाल एक पुण्यभूमि हो,’ उनले भने ।

उनले भारतीय अध्यात्मिक व्यक्ति एवम् पर्यटकलाई नेपाल आउन र यहाँ आएका बेला चन्द्रागिरि नछुटाउन आग्रह पनि गरे । प्रशस्त हिमालय पर्वत रहेको तथा धार्मिक एवम् पवित्रभूमि नेपाल योग तथा ध्यानका लागि संसारकै एक उत्कृष्ट धर्ती भएको उनले बताए । बिहीबार नेपाल आएका रामदेव साथमा योगगुरु आचार्य बालकृष्ण पनि छन् ।


Author

थप समाचार
x