समाज

हुम्लाका ४ सय ९४ बालबालिकाको उद्धार

इकागज |
मंसिर ४, २०७८ शनिवार १८:१२ बजे

सिमकोट- हिमाली नवीन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा ४ सय ९४ जना बालबालिका उद्धार गरेको छ । जिल्लामा स्थापना भएदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको समाजले अठार वर्षसम्म आइपुग्दा सो संख्याका बालबालिकाको उद्धार गरी उनीहरूको परिवारसँग पुनर्मिलन गरिएको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने काम गरिरहेको छ । राम्रो पढाउनुका साथै उच्च शिक्षासम्म निस्शुल्क पठनपाठन गराइदिने प्रलोभनमा पारेर जिल्ला बाहिर लगिएका ती बालबालिकाको उद्धार गरिएको समाजका निर्देशक धनबहादुर लामाले बताए ।


जिल्लाबाहिर नेपालगञ्ज, काठमाडौं, पोखरालगायत सहरबाट राष्ट्रिय बालअधिकार परिषद् तथा स्थानीय तह अर्थात्, सम्बन्धी गाउँपालिका र नगरपालिकामा रहेका होस्टेलमा, बालगृहबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको लामाले बताए ।

गाउँबाट १२ कक्षाभन्दा माथिसम्म निःशुल्क पढाइ दिने प्रलोभनलगायत विभिन्न बहानामा बालबालिका जिल्ला बाहिर लग्ने गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कापी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिएर देशका विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेको अवस्थामा अधिकांश बालबालिकालाई उद्धार गरिएको उनले जानकारी दिए ।

जोखिम अवस्थामा बालगृहमा रहेका तथा देशका चर्चित पर्यटकीय क्षेत्रबाट गरेर हुम्लाका हालसम्म ४ सय ९४ जनाको उद्धार गरिएको हो । विशेष गरी पर्यटकीय सहरबाट बढी उद्धार गरिएको र बालबालिकाको गन्तव्य नै पर्यटकीय क्षेत्रमा रहेको छ । ‘सबैभन्दा बढी पर्यटकीय क्षेत्रबाट देशभरका बालबालिका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको छ,’ उनले भने ।


Author

थप समाचार
x