समाज

आगलागीपीडितलाई नगद र न्यानो कपडा सहयोग

इकागज |
मंसिर १५, २०७८ बुधबार १६:२० बजे

मुगु - मुगु गमगढीका आगलागीपीडित परिवारलाई न्यानो लुगा सहयोग गरिएको छ । छायानाथ रारा नगरपालिकाले आर्थिक सहयोग र लायन्स क्लब अफ रारा मुगुको आग्रहमा लायन्स क्लब अफ नेपालले उक्त सहयोग गरेको हो ।  

नगरपालिकाले छायानाथ रारा नगरपालिका– १ तल्लो बजारका आगलागीपीडित १९ परिवारलाई प्रतिपरिवार ४० हजार रूपैयाँ र भाडामा व्यवसाय गरेर बसेका २५ व्यवसायीलाई प्रतिव्यवसायी २० हजारका दरले सहयोग गरेको छ । यस्तै कोठा भाडामा बसेका परिवारलाई प्रतिपरिवार १० हजारका दरले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताए । 


यस्तै, गत बर्ष भारतको उत्तराखण्ड चमौली जिल्ला तपोवन भन्ने ठाँउमा हिउँ पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई पनि नगरपालिकाले प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग गरेको नगरपालिकाका खरिदार हिमबहादुर बढुवालले बताए ।

विभिन्न निकायबाट लत्ताकपडा, भाडाकुडा र खाद्यन्न सहयोग भए पनि आगलागी पीडित परिवारसँग नगद नहुँदा उनीहरूको दिनचर्या कठिन बनेकाले नगद सहयोग गरेको नगरप्रमुख हरिजंग शाहीले बताए । मंगलबार आगलागी पीडितलाई लायन्स क्लब अफ रारा मुगुले कम्बल र सिरक वितरण गरेको थियो ।

 


Author

थप समाचार
x