समाज

प्रदेश २ मा ३ सय १ जना एचआइभी संक्रमित सम्पर्कविहीन

सुभाष कर्ण |
मंसिर १५, २०७८ बुधबार २०:७ बजे

जनकपुरधाम - प्रदेश २ मा एचआइभी संक्रमित ३ सय १ जना सम्पर्कविहीन रहेको जनाइएको छ । ३४ औं विश्व एड्स दिवसको अवसरमा बुधवार धनुषाको सपहीमा स्वास्थ्य निर्देशनालयद्वारा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

प्रदेश २ मा हाल ४ हजार ३ सय ८० संक्रमित रहेकोमध्ये ३ सय १ सम्पर्कविहीन रहेको कारण उपचार सेवाबाट बञ्चित रहेको जनाइएको छ । ‘पछिल्लो असार मसान्तसम्मको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ९ सय ९८ जना नियमित उपचारमा रहेका छन् भने एक हजार ३ सय ८२ जना उपचारबाट बञ्चित सूचीमा छन्,’ कार्यक्रमा सेभ द चिल्डे«नका सिनियर प्रोग्राम कोर्डिनेटर चन्द्रनारायण साहले भने ।


उपचारत संक्रमितमध्ये १ हजार ७ सय ३० जना अरूलाई सार्नसक्ने जोखिममा छन् भने १ हजार ६ सय ५६ जना अरूलाई सार्न नसक्ने अवस्थाका रहेको उनले जानकारी दिए । संक्रमितमध्ये सबैभन्दा बढी पर्सामा ९ सय ७७ र सबैभन्दा कम बारामा ९७ जना उनले जानकारी दिए । 

‘उपचारबाट बञ्चित १ हजार ३ सय ८२ जनामध्ये ६ सय ७२ जना अन्य प्रदेशमा औषधि लिइरहेका छन् भने ३ सय ९७ जनाको मृत्यु भइसकेको र ३ सय एक जना सम्पर्कविहीन छन्,’ उनले भने ।

‘सम्पर्कविहीनमध्ये २३ जना पूर्णबेखबर छन् भने २ सय ७८ जना उपचारका लागि नाम दर्ता गराएपछि सम्पर्कमा नआएको अवस्था छ,’ उनले भने, ‘कुल संक्रमितमध्ये १ सय ७५ जना बालबालिका छन् ।’ कार्यक्रममा साहले पछिल्लो समयता चेकजाँचको दायरा बढ्दै गएपछि संक्रमितहरूको संख्यामा तीव्र रूपमा बढ्दै गएको बताए । ‘गएको तीन वर्षको तथ्यांक हेर्दा दोब्बरभन्दा बढी संक्रमित बढेको देखिन्छ,’ उनले भने । 

नेपाल सरकारले सन् २०३० सम्म एचआईभी संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ । तर जुन रूपमा संक्रमितको संख्यामा बढ्दै गएको छ त्यस अवस्थामा शून्यमा झार्ने ठूलो चुनौती रहेको बताइएको छ । 

तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा कुल ५ हजार ६ सय ९० चेकजाँचमा २ सय २६ पोजेटिभ केश भेटिएका थिए भने ०७६/७७ मा १४ हजार ६ सय २ चेकजाँचमा चार सय र ०७७/७८ मा सो संख्या बढ्दै २५ हजार ९ सय ७८ चेकजाँच ४ सय ७५ जना संक्रमित फेला परेका थिए ।

‘नेपाल सरकारले सन् २०१८ सम्ममा ४ हजार ५६ संक्रमित फेला पार्ने लक्ष्य लिएकोमा २०२१ सम्ममा सो ह्वातै ११८ प्रतिशतले वृद्धि भएको छ, जुन सरकारका लागि चुनौतीपूर्ण छ,’ उनले भने । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सचेतनाका लागि स्वास्थ्य निर्देशनालयले नियमित रूपमा अपडेटसहितका जानकारी दिनुपर्ने र मिसिंग भएका संक्रमितहरूलाई चाँडोभन्दा चाँडो खोजबिन गरी उपचारमा ल्याउनुुपर्ने बताए ।

आयोजक संस्था स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले अन्तर्राष्ट्रिय संस्था ग्लोबल फन्डको कार्यक्रमअन्तर्गत एचआइभी संक्रमित बालबालिकाको स्याहार सुसार र भरणपोषणका लागि उपलब्ध गराउंदै आएको भत्तालाई सरकारले आफ्नो कार्यक्रम समावेश गर्दा दिगोपना हुनसक्ने बताए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x