समाज

कोरिया रोजगारी:

सरकारको नजर नयाँ भन्दा पुरानै कामदारमा

नयाँ कामदारका लागि भाषा परीक्षा चैतमा गर्ने तयारी

अतिन आचार्य |
मंसिर १६, २०७८ बिहीबार ७:११ बजे

फाइल तस्बिर

काठमाडौँ- कोरियामा चार-पाँच वर्ष काम गरी फर्केका कामदारको भाषा परीक्षा आगामी पौस १ गतेदेखि हुँदै छ । परीक्षा सञ्चालन गर्नका लागि ईपीएस कोरिया शाखाले तयारीसमेत अगाडि बढाइसकेको छ । विभिन्‍न माध्यमबाट सूचना प्रकाशित गरी प्रशिक्षार्थीलाई फारम भर्नसमेत आग्रह गरिसकेको छ ।

कोभिड-१९ को महामारीले नियमित परीक्षा हुन नसक्दा भाषा पढेर बसेकाहरू परीक्षा दिन वञ्‍चित छन् । नेपाल सरकारको तर्फबाट कोरियासँग विभिन्‍न समयमा वार्ता भइसकेको छ । सरकार नियमित कामदार पठाउन लागि परिरहेको भए पनि भाषा परीक्षा गर्न नसक्दा नयाँ कामदारलाई जान थप कठिन बन्दै गएको छ ।


कोरियाको प्राथमिकतामा नयाँ कामदार भन्दा पनि पुराना कामदार परेको छ । यता सरकारको दृष्‍टि भने रोष्‍ट्ररमा भाषा पास गरेर बसेका भन्दा पुरानो कामदार पठाउनमा छ । गएको दुई वर्षमा नयाँ कामदार पठाउन न भाषा परीक्षा सञ्‍चालन कुनै पहल हुन सकेको छैन ।

पछिल्लो समय इजरायलले कोभिड महामारीको बीचमा पनि केयर गिभरको रुपमा नेपाली कामदार लिनलाई प्रक्रिया अगाडि बढाइसकेको छ । भाषा परीक्षादेखि कामदारको स्वास्थ्यसमेत परीक्षण भइसकेको छ । सरकारले दुई वर्ष बितिसक्दा पनि नियमित रुपमा कोरिया भाषाको परीक्षा लिन सकेको छैन । आकर्षक रोजगारी गन्तव्य मुलुक मानिने कोरियालाई सरकारकै ढिलासुस्तीका कारण भाषा पढेर बसेका हज्जारौ विद्यार्थी परीक्षा दिनबाट वञ्‍चित भइरहेका छन् ।

पछिल्लो समय मुलुकमा कोभिड संक्रमितको संख्या कम हुँदै गएको छ । मानिसहरूको गतिविधि बढेको छ । साथै शैक्षिक संघ संस्थाले परीक्षासमेत भएको र विद्यालय पनि सञ्‍चालन आइसकेका छन् ।  आकर्षक रोजगार मुलुक मानिएको कोरियाको भाषा परीक्षा भने त्यसै रोकिएको छ ।

कोरियाले मुख्यगरी नेपाली कामदारलाई दुई क्षेत्रमा काम गर्न लाने गरेको छ । उद्योग र कृषि क्षेत्रमा कामदार जाने गरेका छन् । रोजगारदाताको मागअनुसार कामदार जाने गरेका छन् । ईपीएस कोरिया शाखा भने कामदारको माग बढाउन सक्‍ने कुरामा विश्‍वस्त हुँदै आइरहेको छ ।

 कात्तिको पहिलो सातादेखि कमीटेड कामदार नेपालबाट जान थालिसकेका छन् । कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा गरेका कामदारलाई लगेको थियो । अहिले भने नियमित कामदारलाई लान थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै गएको सम्भावना बढ्दै गएको छ ।

नयाँ कामदारको लागि भाषा परीक्षाको सुनिश्‍चितता अझैसम्म अगाडि बढ्न सकेको छैन । कोरियाले नयाँ कामदार लिन भाषा परीक्षा सञ्चालन गर्न अन्यौलता कायमै छ । सरकारले भाषा परीक्षा निश्‍चित गर्न नसक्दा हज्जारौँ नेपाली कामदार कोरियाबाट वञ्जित हुने जस्तै भएको छ ।

सरकार कोभिड महामारी सुरु भएपछि रोकिएको  कोरिया रोजगारीलाई केही समय यतादेखि चलायमान गराउन उद्देलित छ । भाषा परीक्षा पास गरेका र विभिन्‍न समयमा फर्केर आएका कामदारलाई पठाउन सुरु गरिसकेको छ ।

नियमित रुपमा कोरिया कामदार पठाउन सरकारले पहल नगर्दा विप्रेषणको कमी हुने सभ्भावना बढ्दै गएको छ । समयमा भाषा परीक्षा लिएर नेपाली कामदार पठाउन पहल नगरेमा रोगको महामारीले मात्र मुलुकलाई सताउँदैन । बेरोजगारीको समस्या थप बल्झदै जाने देखिएको छ ।

शाखाका निर्देशक सुरेश राउतका अनुसार भाषा परीक्षा नयाँ कामदार लैजानका लागि कोरियाली प्रतिनिधिसँग वार्ता भइरहेको छ । मुख्य समस्या कोभिडको कारण नेपालबाट नियमित कामदार पठाउन नसकिएको हो ।

पहिलो चरणमा कोरियामा काम गरी फर्केका कामदारको परीक्षा गर्ने तयारी भइरहेको राउतको भनाइ छ । 'कोरियाको पहलमा फर्केर आएका कामदारको परीक्षा लिन लागिएको हो,' उनले भने,' चरणबद्ध रुपमा कामदार पठाउनका लागि विभिन्न माध्यमबाट छलफल गरिँदै आएको छ ।'

चार-पाँच वर्ष कोरियामा बसेर आएका कामदारको परीक्षा सम्पन्न भएपछि नयाँ नियमित कामदारको लागि परीक्षा सञ्चालन गर्न सकिने राउतले बताए । महामारी मुख्य कारण रहेको उनी बताउँछन् ।

कोभिडको नयाँ भेरिन्ट 'ओमिक्रोन' भाइरस कोरियामा पनि देखिएको छ । कोभिडको अवस्था कस्तो हुन्छ त्यस अनुसार कामदार लाने प्रक्रिया अगाडि बढ्न सक्छ ।

नेपालबाट गएका एक जना कामदारमा कोभिड देखिएकाले अहिले आइसोलेशसन सेन्टरमा राखिएको उनले जानकारी दिए । नेपालबाट जाने कामदारमा कोभिड देखिएमा पुनः प्रतिबन्ध लाग्‍न सक्ने उनले चिन्ता व्यक्त गरे ।

रोष्‍ट्ररमा रहेका कामदारलाई पठाइसके पछि नयाँ कामदार पठाउनका शाखाले परीक्षा लिने तयारी गरेको छ । 'सम्भवतः चैत-वैशाखमा नयाँ परीक्षा लिन सकिन्छ,' उनले भने,' कोरिया भाषा परीक्षा गराउन तयारी अवस्था छ । बाँकी कामदार पठाइसके पछि मात्र परीक्षा हुन सक्छ ।'

कात्तिकदेखि यता कमिटेड र नयाँ कामदारसहित करिब १ सय ५० नेपाली कामदारलाई प्रवेश गराइसकेको छ । श्रम स्वीकृति प्राप्‍तगरी ६५ हजार नेपाली कामदार कोरिया पुगिसकेका छन् । सन् २००७ देखि वैधानीकरूपमा नेपालीहरू भाषा परीक्षा पास गरी कोरिया जान थालेका हुन् । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x