समाज

घोडाघोडी तालमा चरा फोटोग्राफी प्रतियोगिता सुरु

दीपक उपाध्याय |
मंसिर १६, २०७८ बिहीबार २०:५१ बजे

कैलाली - कैलालीको घोडाघोडी तालमा चरा फोटोग्राफी प्रतियोगिता बिहीबार सुरू भएको छ । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पाइने चराको प्रचार-प्रसार गर्ने उद्देश्यले पहिलो पटक ‘बर्ड फोटोग्राफी प्रतियोगिता’ आयोजना गरिएको हो । 

बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले उक्त प्रतियोगिताको आयोजना गरेको बोर्डका अध्यक्ष एवम् घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाण्डौं, पोखरा, चितवन, बर्दिया, कैलाली, कञ्चनपुरका वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, संरक्षणकर्मीको सहभागिता रहेको छ ।


प्रतियोगितामा सहभागी फोटोग्राफरहरूले घोडाघोडी तालमा पाइने चराहरूको दुई दिनसम्म फोटो खिच्ने र आफूले खिचेको उत्कृष्ट तीन वटा फोटो प्रतियोगिताका लागि पेस गर्ने बोर्डका उपाध्यक्ष दयाराम चौधरीले बताए । उनले घोडाघोडी ताल र यहाँ पाइने चराको प्रचारप्रसार गर्ने लक्ष्यका साथ पहिलो पटक चरा फोटोग्राफी प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट फोटो खिच्ने फोटोग्राफरलाई ३० हजार रूपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यसैगरी, दोस्रो स्थान प्राप्त गर्नेलाई २० हजार र तेस्रो स्थान प्राप्त गर्ने फोटोग्राफरलाई १० हजार रूपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । 

कैलालीको ठूलो सिमसारको रूपमा रहेको घोडाघोडी ताल र आसपासका क्षेत्रमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये ६४ प्रजातिका जलपक्षी रहेको चराविद हिरुलाल डंगाैराले जानकारी दिए । उनले घोडाघोडी सिमसारमा विश्वका दुलर्भ १२ प्रजातिका चराचुरुंगी पाइने बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x