समाज

भूपेन्द्र बडुवाल हत्या प्रकरण

लोकजंग शाहीले मलजल गरेको अपराधको नतिजा (घटनाको नालीबेलीसहित)

दीपक उपाध्याय |
मंसिर २०, २०७८ सोमवार १६:४९ बजे

कैलाली- ‍भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पक्राउ परेकाहरूबारे प्रहरीले गरेको अनुसन्धान बारे जिल्ला प्रहरी कार्यालय कैलालीले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बडुवाल हत्यामा संलग्न रहेका र फरार रहेकाहरु बारे जानकारी दिइएको छ ।

हत्याको मुख्य योजनाकार नवीन रावल सहित हत्याको आरोप लागेका अन्य नौ जना फरार रहेको र उनीहरुको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनले हत्याको आरोपमा लम्किचुहा नगरपालिका ३ चिसापानीका महेश रावल (२३), धिरज भन्ने दिपेन्द्र शाही (२०), आर्यन देवकोटा (२०), मदन शाही (१९), वडा नम्बर १ का कपिल श्रेष्ठ (२२), दीपक गोलु भन्ने निशान्त मल्ल (१८), वडा नम्बर ५ बस्ने बिकास खड्का (२८), टिकापुर नगरपालिका १ का प्रबिण रिमाल (२३) रहेको बताएको छ ।


त्यस्तै बर्दिया जिल्लाको राजापुर नगरपालिका ७ घर भइ टिकापुर नगरपालिका १ का रोहित आले (२१), सोही ठाउँका सोहन शाह (२५), बर्दगोरिया गाउँ पालिका २ का लेकेन्द्र कुंवर (२५) र बर्दिया ठाकुरद्वारा नगरपालिका ३ गोदानाका सन्तोष भन्ने सबिन जंग शाही (२६) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । बिगत केही बर्ष देखि एउटै समुहमा रहि लम्की, टिकापुर, चिसापानी लगायतका क्षेत्रमा अपराधिक गतिविधि गर्दै आइरहेकाहरु बिच केही समय अघि मात्रै मनमुटाव रहेकोले उक्त घटना हुन गएको हत्यामा संलग्नहरुको बयानको आधारमा बताएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

हत्या हुनुअघि नवीन रावल र मृतक बडुवाल एउटै समुहमा रहि विभिन्न अपराधिक गतिविधि गर्दै आइरहेकोमा दशै अधि मात्रै घर आएका बडुवालाई पुन: आफ्नो समुहमा आवद्ध हुन गरेको आग्रहलाई बेवास्ता गरेपछि उनको हत्याको योजना बनेको प्रहरीले बताएको छ । गत कार्तिक २३ गते टिकापुर स्थिति शिद्धार्थ होटेल नजिक बडुवालको हत्या भएको थियो ।

२३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरण लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय लोकजंग शाहीले मलजल गरेको अपराधको नतिजा रहेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरेर लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावरको ठेक्कापट्टामा आफ्नो बर्चस्व कायम गर्न युवाको समूह बनाइ लोकजङ्गले आपराधिक लाभको लागि परिचालन गर्ने गरेको प्रहरीले जनाएको छ । सो समूहलाई टीकापुर नगरपालिका–६ का ३५ वर्षीय अशोक रावलले संरक्षण गर्दै आएका छन् । 

घटनापछि शाही र रावल दुवै जना भारतर्फ फरार भएका छन् । यसैगरी, जानकी गाउँपालिका–६ जगतपुरका २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ का २७ वर्षीय विकास शेरचन, लम्कीचुहा नगरपालिका–४ का २४ वर्षीय रोशनबहादुर शाही र बर्दियाको गेरुवा गाउँपालिका–५ का २२ वर्षीय हेमन्त शाही फरार छन् । 

लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको गत कात्तिक २३ गते टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक हत्या भएको थियो । हत्यामा संलग्न रहेको र मतियारका रुपमा रहेका १२ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको भन्दै २१ जनाविरुद्ध प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । हालसम्म १२ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय दीपेन्द्र शाही, आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहान नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ रहेका छन् । 

यस्तै, बर्दियाको राजापुर नगरपालिका–७ का २१ वर्षीय रोहित आले, टीकापुर नगरपालिका–१ का २५ वर्षीय सोहन शाह पक्राउ परेका छन् । यसैगरी, बर्दयोरिया गाउँपालिका–२ झगढपुरका २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सविनजङ्ग शाही रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

लम्की, टीकापुर, चिसापानी क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आफ्नो वर्चस्व कायम गर्नका लागि लोकजङ्ग शाहीले युवाको समूह बनाइ आपराधिक क्रियाकलापमा परिचालन गर्ने गरेको प्रहरीले जनाएको छ । सो समूहलाई अशोक रावलले संरक्षण गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अधिकारीले बताए । 
पछि सोही समूहका जयन्द्र शाह र नविन रावलबीच मनमुटाव बढेर युवाहरु दुई समूहमा विभाजन भएको र उनीहरुबीच पटक–पटक झगडा हुने गरेको उनले बताए । जयन्द्र समूहको कपिल श्रेष्ठले नविन रावलको समूहमाथि लम्कीको फुटबल मैदानमा आक्रमण गर्ने योजना विफल भएपछि टीकापुरमा बडुवाल हत्या घटना घटेको प्रहरीले जनाएको छ । 

आफ्नो समूहमाथि आक्रमण हुने खबर पाइसकेपछि नविनको समूहले जयन्द्रको समूहलाई आक्रमण गर्ने याेजना बनाएको प्रहरीले जनाएको छ । सोही क्रममा भाग्दाभाग्दै कपिल श्रेष्ठ एक्लै भएको र टीकापुर गइ लुकेर बसेको प्रहरीले जनाएको छ ।

 उनै कपिलले आफ्नो नजिकको साथी भूपेन्द्र बडुवाललाई टीकापुरमा आफूलाई लिन बोलाएपछि घटना घटेको प्रहरी उपरीक्षक अधिकारीले बताए । सो समूहविरुद्ध कैलाली र काठमाण्डौंमा छ वटा ज्यान मार्ने उद्योग, दुई वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

प्रहरी अनुसन्धानमा घटनाकाे नालीबेली

गत २०७८ भदौमा काठमाडाैंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहको हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गर्‍यो । तत्पश्चात कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र निजको समूहमाथि आक्रमण गर्ने योजना बनाइ कार्तिक १७ गते काठमाडौंबाट लम्की आए। कात्तिक २० गते लम्की पुगेका उनी मुनमुन होटलमा एक रात बसे ।  २१  र २२ गते बौनियास्थित अनुकूल होटलमा बसी नवीन रावललाई आक्रमण गर्ने उपयुक्त अवसरको खोजी गरे । 

कात्तिक २३ गते नवीन रावलसमेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिल श्रेष्ठले आफ्नो समूहलाई खबर गरी खेल मैदानमै आक्रमण गर्न खोजे पनि आफ्नो समूह समयमै लम्की पुग्‍न नसकेका कारण सो ठाउँमा आक्रमण गर्न सकेनन् । मदन शाहीले टीकापुर हिंडेका नवीन रावल समेतलाई बाटोमा भेटी जयन्द्रको समूह हातहतियारसहित आक्रमणको तयारीमा रहेको जानकारी दिए । नविन रावल आफ्नो समूह (आर्यन, हिमाल, हेमन्त, मदन, चिरञ्जिवी, रोशन, निशान्त, धीरज, रोहित सोहन, विकास शेरचनलाई) लाई रोड साइड क्याफेमा जम्मा गरी जयन्द्रको समूहको जुनसुकै व्यक्ति फेला पारी आक्रमण गर्ने योजना बनाए । 
कपिल श्रेष्ठ एक्लिएपछि नयाँ क्षेत्रमा लुकी बसेको र त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी भूपेन्द्र बडुवाललाई फोन गरी आफूलाई लिन बोलाएपछि भूपेन्द्र निजलाई लिन टीकापुर पुगेका थिए । यता, नवीन रावलको समूह जयन्द्र समूहको व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजी सुरु गरेका थिए । उक्त समूहमा सबैभन्दा अगाडि सो ठाउँका स्थानीय रोहित आलेसंग आर्यन देवकोटा पहिला स्कुटीमा, निजको पछाडि अर्को स्कुटीमा चिरञ्जिवी शाही र रोशन शाही र नविन रावलसमेत निस्के । 

टीकापुर नगरपालिकाको जमरा पुल नजिक आर्यन देवकोटासमेतले भूपेन्द्र बडुवाललाई फेला पारी करिब दुई किलोमिटरसम्म लखेटेको । सिद्धार्थ होटल नजिक पुर्‍याएपछि भूपेन्द्र बडुवाल मोटरसाइकल छोडी आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटी आर्यन, चिरञ्जिवी, रोशन, रोहित आलेले कौशीदेवी विष्टको घरको पेटीमा नै भूपेन्द्र बडुवाललाई नियन्त्रणमा लिएर पेट, छातीको भागमा दुई पटक, पिठ्युको भागमा तीन पटक र टाउको पछाडि भागबाट एक पटक धारिलो हतियार प्रहार गरी भागेका थिए । 

हत्यामा संलग्न प्रतिवादीहरु नजिकै रहेको विष्ट आयल नजिक पुगी भाग्ने योजना अनुसार खुकुरी सोही स्थानमा फालेको र रोहितलाई आफ्नो घरतर्फ पठाएका थिए  ।
नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जिवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुँदै जोशीपुर पुगेर एक जनाले अपराध स्वीकार गर्ने र अरु भागेर फरार हुने योजना बनाए । योजनानुसार कात्तिक २४ गते विहान बौनिया बजारमा पुगेर आफूलेमात्रै अपराध गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै रहेको र नविन, हेमन्त, हिमाल, रोशन र चिरञ्जिवी शाही लोकजंग शाहीले बनाएको योजना अनुरुप बौनिया बजारभन्दा उत्तरतर्फको चायाँभावर गाउँमा लुकिछिपी बसेका थिए । 

लोकजंगकै योजना अनुरुप चायाँ भावर गाउँमा रहेका फरार प्रतिवादीलाई खाने, बस्ने, व्यवस्थापन गर्ने, खर्च रकम दिने र कात्तिक २५ गते उनीहरुलाई भगाउन सविनजंग शाहीले कार भाडामा लिएर चायाँ भावर गइ निजहरुलाई उक्त कारमा धनगढी उपमहानगरपालिकाको जुगेडासम्म ल्याए । 

सविनजंगले नै कार्तिक २६ गते भारतीय बलेरो जीप भाडामा व्यवस्था गरी नविन रावलसमेतलाई भारतको ढकिया गाउँसम्म पुर्‍याइ आफू फर्केका थिए । 

नविन रावल समेतले प्रयोग गरेको दुई वटा मोटरसाइकल लोकेन्द्र कुँवरले बौनियाँमा ल्याइ नम्बर प्लेट परिवर्तन गर्न लगाइ बर्दियाको भुरीगाउँस्थित रोयल एडभेन्चर रिसोर्ट लुकाइछिपाइ राखेका थिए । 

कार्तिक २६ गते विहान सविनजंग शाहीले नविन रावलसमेतलाई भारततर्फ पठाइसकेपछि निजहरुको ५ थान मोबाइल आफूले लिएर मोबाइल लुकाइ छिपाइ गर्न बनबेहडा बस्ने डेबिड चन्द्र कडायतलाई राख्न दिएका थिए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x