समाज

विवाह पञ्चमी महोत्सव मनाइने रंगभूमि मैदानको अवस्था लथालिङ्ग

सुवास कर्ण |
मंसिर २१, २०७८ मंगलबार २१:१९ बजे

जनकपुरधाम - प्रत्येक वर्ष हर्षोल्लास र उत्साहका साथ जनकपुरधाममा मनाइने श्रीराम जानकी विवाहपञ्चमी महोत्सवको प्रमुख स्थल रंगभूमि मैदानको अवस्था लथालिङ्ग रहेको छ । विवाह पञ्चमी महोत्सवको मात्र एक दिन बांकी रहेको अवस्थामा जानकी मन्दिरलाई दुल्हिन झै सजाइए पनि महोत्सवको प्रमुख स्थल रंगभूमि मैदान अहिले फोहरमय नै रहेको छ, कुनै व्यवस्थापन गरिएको छैन ।

भगवान श्रीराम जानकी विवाहको प्रत्यक्ष साक्षीको रुपमा रहेको बारह विग्घा भनिने रंगभूमि मैदान महोत्सवमा उपेक्षितको शिकार भएको देखिएको छ । रंगभूमि मैदान त्रेतायुगमा माता सीताको विवाहका लागि स्वयंवर स्थलको रुपमा परिचित छन । श्रीरामजानकीको विवाहको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवमा वैवाहिक पद्धति स्वयंवर र डोला मिलन कार्यक्रम आयोजना गरिदै आएको छ ।


माता जानकीको माइती स्थल जानकी मन्दिर र भगवान श्रीरामको घरको स्वरुप राम मन्दिरको डोला सहित जनकपुरधामका विभिन्न मठमन्दिरका डोलाहरु यही मैदानमा स्वयम्बरका दिन पुग्ने गर्छन । सो अवसरमा माता सीता र भगवान राम सवार डोलाको मिलन गर्ने गरिन्छ । यसका साथै महोत्सवमा सहभागी हुन आएका देश विदेशका लाखौ श्रद्धलु भक्तजनहरु वास समेत बस्ने गर्छन ।

महोत्सवमा यतिका महत्व बोकेका र श्रद्धालुहरुको वास स्थल रंगभूमि मैदान वैवाहिक कार्यक्रमको पुर्वसन्ध्यासम्म फोहरमय नै रहेको छ । न त कुनै सरसफाई गरिएको छ, न कुनै शौचालय र न शुद्ध पेयजलकै व्यवस्था गरिएकोमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले दुख व्यक्त गरेका छन ।

मैदानको आधाभन्दा बढी क्षेत्र हिलाम्य र अस्पतालका औषधिज्य फोहोर सामाग्री फालिएको छ । व्यवस्थापनका लागि सम्बन्धित निकाय वृहत्तर जनकपुर क्षेत्र विकास परिषद र जनकपुरधाम उपमहानगरपालिका लगायतका निकायले कुनै चासो देखाएको छैन । हुनत प्रदेश सरकारले ५ लाख रुपैया बजेटमा मात्र एउटा पण्डाल खडा गरेको छ ।

सम्बन्धित निकाय वृहत्तर र उपमहानगरपालिका एक अर्कालाई दोषारोपण गरी पन्छिने प्रयास गरेका छन । तिनीहरुले आफ्नो जिम्मेवारी नरहेको भनी एक अर्कामाथि दोष थुपारेर चासो नलिएको प्रतिक्रिया दिइरहेका छन ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरले रंगभूमि मैदान कसको क्षेत्राधिकारमा पर्ने विषयमा स्पष्ट नरहेकोले त्यस तर्फ आफूहरुले चासो नलिएको बताएका छन । शहीद गेटको नाममा करोडौ रुपैया खर्च गर्ने उपमहानगरपालिकाले रंगभूमिको जिम्मेवारी आफ्नो नभई वृहत्तरको रहेको भनी पन्छिने प्रयास गरेका छन । उपमहानगरका उपप्रमुख रीता मिश्रले भनिन् ‘रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व हाम्रो रहेपनि यसको रेखदेख मुख्य रुपमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको रहेको छ ।’

विवाह पञ्चमी महोत्सवका साथै विभिन्न उत्सव र समारोहका लागि उतिकै महत्वपूर्ण थियो । ठूलठूला कार्यक्रमहरु समेत आयोजना हुँदै आएको थियो भने स्थानीय युवाहरु त्यहाँ पुगेर बिहान बेलुका खेलकुदको अभ्यास पनि गर्ने गर्थे । तर फोहोर, हिलाम्य र विभिन्न स्थानमा खाल्डाखुल्डी भएको कारणले प्रयोग विहिन भएको कुरा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामतले बताए ।
 


Author

थप समाचार
x