समाज

मधेसी महिलाको मर्म : कसले बुझ्छ आगोको दर्द ?

‘घुर’ले लिँदै छ मधेसका महिलाको ज्यान

सृजना खड्का |
मंसिर २९, २०७८ १५:५५ बजे

काठमाडौँ -  जाडो सुरु भएसँगै सुष्मा कोइराला मेमोरियल अस्पतालकी सर्जन डा. रोजिना शिल्पकारलाई एकछिन फुर्सद हुन्‍न । अस्पतालमा बिरामीको संख्या बिस्तारै बढ्न थाल्छ । बिरामी राख्‍ने कोठाहरू भरिँदै जान्छन् । बिरामीको छटपटाहट र कुरुवाका मलिन अनुहार अस्पताल छिर्नेबित्तिकै महसुस गर्नसकिन्छ । 

‘जाडो लागेपछि मधेसका महिला ३० देखि ४० प्रतिशत जलेको शरीर लिएर आउँछन्,’ डा. शिल्पकार भन्छिन्, ‘धेरै ठाउँबाट आउँछन् तर मधेसका महिला आगोको सिकार धेरै हुन्छन् । तीमध्ये अधिकांश घुर ताप्दा र खाना बनाउँदा साडीमा आगो लागेर जलेर आउनेहरू छन् ।’


अस्पतालको रेकर्डमा सन् २०२० मा जलनबाट पीडित ३ सय ७० जना बिरामी आएका छन् । तीमध्ये तराईबाट आउने ९२ जना छन् । त्यसमा महिला ८४ जना र  पुरुष ८ जना रहेको अस्पतालले जनाएको छ । त्यस्तै, २०२१ को नोभेम्बरसम्म जलनका बिरामीको संख्या ३ सय ५६ जना पुगेको छन् । तराईबाट आउने १ सय ३ जना बिरामीमध्ये महिला ९७ जना र पुरुष ७ जना छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गत वर्षको पुस १ गतेदेखि फागुन १५ गतेसम्मको ‘दैनिक विपद् बुलेटिन’ केलाएर हेर्दा घुर ताप्‍ने क्रममा जलेर घाइते हुने र मृत्यु हुने ४५ जना छन् । जसमध्ये, ३९ जना महिला र ६ जना पुरुष छन् । 

०००

जाडो भर्खर सुरु हुँदै छ । तर, साँखुस्थित सुष्मा कोइराला अस्पतालमा तराईबाट जलनमा परेर दुई जना गम्भीर बिरामी आएका छन् । उनीहरू हुन्, सिराहाकी राजवतीदेवी मुखिया र धनुषाकी संगीता यादव । 

२५ वर्षे राजवतीदेवी घुर ताप्दा लगाइरहेको साडीमा आगो लागेर जलिन् । यो घटना मंसिर १८ गतेको हो । राजवतीदेवी बेलुकाको घरधन्दा सकेर घुर तापिरहेकी थिइन् । घुरको आगोले कति बेला साडी भेट्यो, उनले पत्तै पाइनन् । उनी एक्कासि चिच्याउन थालिन् । गाउँलेहरू भेला भए र उनको शरीरमा लागेको आगो निभाए । तर, त्यतिबेलासम्म उनको शरीरको आधाजसो भाग जलिसकेको थियो । घर नजिकैको अस्पतालमा उपचार हुन नसकेपछि दाइ रविनकुमारले उनलाई सुष्मा कोइराला अस्पतालमा लिएर आएका हुन् । 

राजवतीदेवीका पाँच र तीन वर्षका दुई छोरा र डेढ वर्षकी छोरी छन् । श्रीमान् रोजगारीका लागि कतार गएको बल्ल एक महिना भयो । ‘गाउँघरबाट ऋण उठाएर १ लाख ल्याएका थियौँ, त्यो पनि सकिन लागिसक्यो,’ दाइ रविनकुमार भन्छन्, ‘उसको श्रीमान् विदेशमा भएर के गर्नु, पहिलो महिनाको तलब पनि हात परेको छैन । यहाँ यस्तो हालत भयो ।’

जाडोसँगै तराईमा शीतलहरको प्रकोप बढ्छ । यस्तोमा मानिसहरू जाडो छल्न घुर ताप्छन् । ‘बिहान र बेलुका निकै चिसो हुने भएकाले घुर ताप्‍ने चलन छ,’ रविनकुमार भन्छन् । उनका अनुसार तराईमा बिहेपछि महिलाले साडी लगाउनुपर्छ । त्यही साडीलाई आगोले टिप्दा धेरैको ज्यानसमेत जान्छ । ‘पुरुषहरू साथी–भाइ जम्मा गरेर गाउँ डुल्न निस्किने भएकाले कमै घुर ताप्छन्,’ उनी भन्छन्, ‘महिलाहरूले घरायसी काम गरिरहनुपर्ने, पानी चलाइरहनुपर्ने भएकाले शरीर तताउन घुर ताप्छन् ।’

                 सिराहाकी राजवतीदेवी मुखियाको उपचार गर्दै सुष्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक ।

धनुषाकी ४० वर्षे संगीता अस्पताल आएको तीन हप्ताभन्दा बढी भयो । मंसिर ८ गते बेलुका उनी खाना बनाइरहेकी थिइन् । उनको टाउकोमाथि खोपामा मट्टितेलले भरिएको टुकी थियो । खोपामा बिरालो चढेर टुकी संगीताको टाउकोमाथि खस्यो । आगोले उनको साडी टिप्यो । हेर्दाहेर्द उनी ह्वारह्वार बल्न थालिन् । १३ वर्षका छोराले खाना पकाउन राखेको पानी खन्याएर आगो निभाए । गाउँलेको सहयोगमा उनलाई तुरुन्तै रामजानकी अस्पताल लगियो । तर, त्यहाँबाट उनलाई सुष्मा कोइराला अस्पताल लैजान सुझाइयो ।

‘रातारात १२ हजार रुपैयाँ एम्बुलेन्स खर्च तिरेर आयौँ,’ संगीताका आफन्त मिथिलेश भन्छन्, ‘उपचारको सबै खर्चपर्च उहाँको भाइ–बुहारीले गरिरहनुभएको छ ।’ मिथिलेशका अनुसार संगीताको उपचारमा अहिलेसम्म दुई लाख रुपैयाँ खर्च भइसक्यो । ‘अपरेसनमात्र चार–पाँच पटक भइसक्यो,’ उनी भन्छन्, ‘एउटै अपरेसनको खर्च १५–२० हजारसम्म हुँदो रहेछ ।’

हिजोआज मिथिलेस घरमा फोन गर्दैपिच्छे परिवारलाई भन्छन्– आगोबाट बचेर बस है !  

                                                                                 धनुषाकी संगीता यादव

के छ कीर्तिपुर अस्पतालको रेकर्डमा ?

कीर्तिपुर अस्पतालको रेकर्डमा सन् २०२० मा आगो पीडित बिरामीको संख्या ५ सय १९ छ । जसमध्ये तराईबाट १ सय ३५ जना छन् । त्यसमा घुर ताप्दा ८२ महिला र १२ जना पुरुष गरी ९४ जना जलनमा परेर अस्पताल आएको देखिन्छ । त्यस्तै, सन् २०२१ को रेकर्डमा ५ सय ६६ जना जलनका बिरामी अस्पताल आएका छन् । तीमध्ये १ सय ४२ जना तराईबाट आएका छन् । जसमा ४५ जना महिला र ६ जना पुरुष गरी ५१ जना घुर ताप्दा जलनमा परेर आएका छन् । 

अस्पतालका सर्जन डा. किरण नकर्मी साडीमा आगो लागिसकेपछि छिटोछरितो रूपमा उम्किन मुस्किल हुने बताउँछन् । उनका अनुसार तराईमा शीतलहर सुरु भएसँगै घुर ताप्दा धेरैजसो महिला कम्मर, खुट्टा, तिघ्रा र ढाडमा जलेको शरीर लिएर अस्पताल आउँछन् । ‘जाडो महिनामा यस्ता घटना धेरै हुने भएकाले सजग हुनुपर्छ,’ उनी भन्छन्, ‘दुर्घटना भइहाल्यो भने टोल फ्री नम्बरको सहायता लिन सकिन्छ । जलनले शरीरको बाहिरी मात्र नभई भित्री अंगलाई समेत असर पुर्‍याउने भएकाले यस्तो घटनालाई खेलाँची सम्झिनु हुँदैन ।’

जलन : मधेस र महिलामा किन बढी ?

मधेसी महिलाका पक्षमा लेख्दै–बोल्दै आइरहेकी रीता शाह यो विषय कपडा, कल्चर, जेन्डर रिलेसनसँग जोडिएको बताउँछिन् । ‘मधेसी समुदायमा बिहेपछि अनिवार्य रूपमा साडी लगाउनुपर्छ,’ उनी भन्छिन्, ‘कुर्ता लगाउँदा त्यहाँ राम्रो नजरले हेरिँदैन । ससुरा र जेठाजुको अगाडि साडीले टाउको छोपेर खाना बनाउनुपर्छ । यसरी खाना बनाउँदा घुर ताप्दा उनीहरू जलनमा पर्छन् ।’

सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारी तराईमा महिलाले प्यान्ट लगाउने हो भने यस्ता घटना ८० प्रतिशत कम भएर जाने बताउँछन् । ‘अहिलेसम्म अस्पतालमा आएका मधेसका महिलाहरू साडीबाटै आगो सल्किएर आएको पाइन्छ,’ उनी भन्छन्, ‘सस्तो र टिकाउ हुने भएकाले त्यतातिर बढी सिल्कको साडी लगाउने चलन छ । त्यस्तो कपडामा आगोले छिटो टिप्‍ने र जलेपछि कपडा शरीरमा टाँसिने भएकाले जलन गम्भीर हुन्छ ।’

मधेस–डेटलाइन स्तम्भकार चन्द्रकिशोर शीतलहरमा घुर ताप्दा मधेसका महिला कपडाकै कारणले जल्छन् भन्‍नेमा खासै सहमत छैनन् । ‘प्यान्ट लगाउँदा पनि जलनको घटना नहुने भन्‍ने हुँदैन,’ उनी भन्छन्, ‘शीतलहरमा मधेसका महिला जल्नुलाई कपडासँग मात्र जोडियो भने यो सतही हुन्छ । मूल कुरा सावधानी हो । न्यानो कपडाको अभाव हो । न्यानो कपडा भएको भए उनीहरूले घुर ताप्‍नु पर्दैनथ्यो । यसलाई हामीले गरिबी र आर्थिक अवस्थासँग जोड्नु जरुरी छ ।’ यो विषयलाई सावधानीसँग जोड्नुपर्ने उनको जोड छ । ‘सम्पन्‍न परिवारका मानिसहरू साधन–स्रोत भएर पनि एसी, हिटरमा निसास्सिएर मरेको अवस्था छ,’ उनी भन्छन्, ‘यो सावधानीसँग जोडिएको विषय हो ।’

‘आगो ताप्दा अनुहार, घाम ताप्दा ढाड’

डा. भण्डारीका अनुसार प्रायः बिरामी पछाडि फर्किएर आगो ताप्दा जलनको शिकार भएका छन् । ‘चिसोमा धेरैजसोको ढाड फर्काएर आगो ताप्‍ने बानी हुन्छ,’ उनी भन्छन्, ‘यसो गर्दा कतिखेर आगोले लुगा भेटिसकेको हुन्छ, पत्तै पाउँदैनन् । यहाँ आउने ९० प्रतिशत बिरामी त्यस्तै छन् ।’ 

जलनको उपचारभन्दा रोकथाममा ध्यान दिनुपर्ने उनी बताउँछन् । यसका लागि आगो ताप्दा अनुहार देखाएर र घाम ताप्दा ढाड फर्काएर ताप्न उनको सल्लाह छ । ‘घाम ताप्दा अनुहार देखाएर ताप्यो भने सनबर्न हुन्छ, अनुहार डढ्ने डर हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले घाम सधैँ ढाड फर्काएर ताप्‍नुपर्छ । आगो ताप्दा भने अगाडि फर्किएर ताप्‍नुपर्छ । पछाडि फर्किएर ताप्दा आगो लागे नलागेको थाहा हुँदैन र, जलनका घटना हुन्छन् ।’

सर्जन डा. रोजिना शिल्पकारका अनुसार शरीरको ४० प्रतिशत भाग जलेको व्यक्तिलाई बचाउन निकै मुस्किल हुन्छ । तर, त्यो जलनको गहिराइअनुसार फरक पर्छ । गहिरो जलन भएका कसैलाई ३० प्रतिशत जलन भए पनि बचाउन मुस्किल भएको उनको अनुभव छ ।  ‘पोल्नेबित्तिकै बिरामी हिँडडुल गर्न सक्ने भए पनि बिस्तारै जलनको गहिराइअनुसार मान्छे गल्दै जान्छ,’ उनी भन्छिन्, ‘घाउ पाक्दै जाँदा शरीरलाई चाहिने तत्वहरू बाहिर निस्किन थाल्छ । त्यसले शरीरको भित्री अंगलाई समेत प्रतिकूल असर गर्न थाल्छ ।’ 

उनका अनुसार गहिरो जलनमा परेका व्यक्तिको घाउको खत बिस्तारै खुम्चिँदै जान्छ । त्यसका लागि जीवनभरी फिजियोथेरापी गर्नुपर्छ ।  ‘जलनको उपचार एकदमै महँगो छ,’ उनी भन्छिन्, ‘तर, विडम्बना यसका अधिकांश बिरामी गरिब हुन्छन् । साथै जलनका उपचार गर्ने अस्पतालहरू पनि कम छन् । उपचारपछि समाजमा फर्किन गाह्रो हुने र उनीहरूले भोग्नुपर्ने मानसिक अवस्थाको त झन् कुनै लेखाजोखा गर्न सकिँदैन ।’जाडो सुरु भएसँगै अस्पतालमा यस्ता केसहरू आउने हुँदा सबैलाई सतर्क हुन उनको आग्रह छ । विशेषगरी मंसिर, पुस र माघमा त्यस्ता घटना नहुने भएकाले सतर्क रहन उनी सुझाव दिन्छिन् । 
 
बिरामी छाडेरै भाग्छन् आफन्त   

सुष्मा कोइराला अस्पतालकी प्रशासनिक अधिकारी ममता राज सिंह स्थानीय सरकारले गरिबीको रेखामुनि परेकालाई शिक्षा, स्वास्थ्यमा बजेट छुट्याए पनि यस्ता बिरामीले कमैमात्र स्थानीय सरकारको साथ पाउने गरेको बताउँछिन् । ‘उपचार गर्न सक्दैनौँ भनेर कुरुवाले बिरामीलाई छोडेर भागेको उदाहरण धरै छन्,’ उनी भन्छिन्, ‘कतिलाई त थानकोटबाट फर्काएर ल्याउनु परेको छ । राजवतीदेवीको केसमा पनि आईसीयूमा लैजानुपर्छ भन्‍नेबित्तिकै उनका आफन्तले ‘हामी सक्दैनौँ’ भनेर हात उठाइसकेका थिए । यो उनीहरूको रहर होइन, बाध्यता हो ।’ यस्ता केसहरूसँग सामना गर्नुपर्दा कहिलेकाहीँ त ममतालाई निद्रै पर्दैन । बिरामी र आफन्तको छटपटीसँगै उनी पनि छटपटाउँछिन् ।

कतिपयले भने महिलालाई मान्छे नै नठान्ने मानसिकता पनि उत्तिकै रहेको उनी बताउँछिन् । ‘परिवारका लागि बच्चा त्यसमा पनि छोरा जन्माइसकेकी छ भने त्यस्ता महिलाको उपचार गर्नु नै जरुरी ठान्दैनन्’ उनी भन्छिन्, ‘तर, यस्तो संख्या भने धेरै हुँदैन । तर, सयमा एक–दुईवटा यस्ता केस भए पनि म महिला हुनुको नाताले पनि होला मलाई बिझाउँछ, लामो समय दुख्छ पनि ।’

अधिकारकर्मी रीता शाह घटना भइसकेपछि सरकारले उनीहरूको उपचारका लागि सहयोग गर्नुपर्ने बताउँछिन् । ‘उपचार गर्न नसकेर धेरै महिलाले अपाङ्गता बेहोर्नुपरको हुन्छ,’ उनी भन्छिन्, ‘धेरै अविवाहित युवतीहरूको बिहे हुँदैन । बिहे भएका महिलालाई श्रीमान्ले छोडेका घटना देखिने गरेका छन् ।’ यस्ता घटनाबाट महिला धेरै तहको मारमा पर्ने गरेको उनी बताउँछिन् । ‘संविधानमा जतिसुकै ठूला कुरा लेखेपछि माइतीको सम्पत्ति पाउन महिलालाई गाह्रो छ,’ उनी भन्छिन्, ‘बिरामी परेपछि त झन् उनीहरू आर्थिक रुपमा परिवारकै भर पर्नुपर्छ । यस्तो बेलामा न उसलाई माइतीको साथ हुन्छ, न घरको । 

जलन–जनचेतना खै ?

अनुसन्धानकर्ता तथा तथ्य विश्लेषक मनीष झाको बाल्यकाल घुर तापेरै बित्यो । यसकारण पनि घुरको जोखिम उनी नजिकबाट नियाल्न सक्छन् । घुरको कारणले वर्षैपिच्छे मधेषका महिलाले ज्यान गुमाउनुको साथै यसका अन्य जोखिम पनि भएको उनी बताउँछन् । विभिन्‍न अध्ययनले गुइँठा र घुरको कारणले तराईका महिलाको १० वर्ष औसत आयु कम भएको उनी बताउँछन् । ‘१० जनाको औसत आयु घट्नु बराबर एकजना व्यक्तिको मृत्यु हुनु हो । यो विषय जोखिम मात्र नभएर स्वास्थ्यसँग पनि जोडिएको छ ।’ 

यस विषयमा सरकारी निकायले जनचेतनामूलक पहल नगरेको उनको गुनासो छ । ‘घुर ताप्दा सावधान हुनुस् भनेर रेडियो, टेलिभिजन र पत्रपत्रिकामा कतै पनि आएको पाइँदैन,’ उनी भन्छन्, ‘अहिले सबैको हातमा मोबाइल फोन हुन्छ । त्यसबाट पनि उनीहरूले सूचना पाउन सक्थे तर, त्यतातिर कामै भएको देखिँदैन ।’

त्यस्तै, नीति बनाउँदा एउटा क्षेत्रको मान्छेले अर्को क्षेत्रको मानिसको जीवनशैलीबारे परिकल्पना गर्न नसक्ने भएकाले त्यो फितलो हुन जाने उनको भनाइ छ । ‘सिंहदरबारमा उपरखुट्टी लगाएर तराईमा घुर ताप्दा जलेकाको जलन उनीहरूको परिकल्पनाभन्दा बाहिरको कुरा हो,’ उनी भन्छन्, ‘समस्यालाई नजिकबाट बुझेको स्थानीय र प्रदेश सरकारले यसमा चासो देखाउनुपर्ने हो । तर, खासै केही गरेको पाइदैन । यो कसको जिम्मेवारी हो भन्‍ने सरकारलाई नै थाहा छैन ।’

स्तम्भकार चन्द्रकिशोर पनि स्थानीय सरकारले यो विषयमा चासो देखाउन र जनचेतना जगाउन जोड दिनुपर्ने बताउँछन् । ‘शीतलहरमा एकदुई ओटा संस्था भेला पारेर डेढ दुई सय पर्ने ब्लाङ्केट बाढेर फोटो खिच्दैमा समस्याको समाधान हुँदैन,’ उनी भन्छन्, ‘त्यस्ता ब्लाङ्केटको उद्देश्य फोटो खिचाउने मात्र हो, जाडो छेक्ने होइन ।’

अधिकारकर्मी शाह यस्तो घटना किन हुन्छ भनेर अनुसन्धान गरेर समाधानको पाटोतिर अगाडि बढ्नुपर्ने बताउँछिन् । ‘जनचेतनामूलक कार्यक्रम गर्दा पनि त्यहाँको स्थानीय भाषामा हुनुपर्छ,’ उनी भन्छिन्, ‘नाटक, पोस्टरबाट उनीहरूले बुझ्‍ने माध्यममा जनचेतना फैलाउनुपर्छ । संघसंस्था गएर नेपाली र अंग्रेजीमा पावरपोइन्ट देखाएर हुँदैन ।’ 



Author

सृजना खड्का

स्वास्थ्य तथा सुरक्षा मामिलामा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
ad
x