समाज

जलवायु परिवर्तनबारे १५ बुँदे घोषणापत्र जारी

इकागज |
पुस ५, २०७८ सोमबार १५:३२ बजे

फाइल तस्बिर

महेन्द्रनगर - जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको हो । महेन्द्रनगरमा सम्पन्न सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणसहित यहाँ आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा नौवटै स्थानीय तहका प्रमुख र उपप्रमुखले हस्ताक्षर गरेका छन् । 

घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीयकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।


भीमदत्त नगरपालिकाले आयोजना गरेको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे पहिलो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा जलवायु अनुकूलनसँगै र उत्थानशील शहर तथा दिगो विकासबारे छलफलसहित भावि रणनीति तय गरेको छ । 

नेपाल राष्ट्रिय समाज कल्याण संघ र डिसिएको प्राविधिक सहयोगमा यहाँ हरेक वर्ष सम्मेलन आयोजना हुने बताइएको छ । जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थान, उत्थानशील शहर र दिगो विकासबारे विस्तृत छलफलसहित भावि योजनातर्जुमा लागि सम्मेलनको आयोजना गरिएको भीमदत्तका नगरप्रमुख विष्टले जानकारी दिए ।

उनले भीमदत्तले दिगो विकासका लागि २५ वर्षे गुरुयोजना निर्माण, आधुनिक शहरको विकासका लागि शहरी योजना आयोग गठनसँगै नगरविकास समितिले काम गरिरहेको बताए । घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै जोखिम नियन्त्रणका लागि स्रोतसाधनको पहिचान र व्यवस्थापन, आवश्यक जनशक्ति उत्पादनसँगै खोज अनुसन्धानको विकास, एकीकृत योजना निर्माण, हरित नगरको अभियान अघि बढाउने, प्रत्येक वर्ष सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च कञ्चनपुर सम्मेलन आयोजना गर्ने विषय घोषणापत्रमा समेटिएका छन् । 

सम्मेलनमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले अगामी वर्ष पुनर्वास नगरपालिकाले उक्त सम्मेलन आयोजना गर्ने बताए । उनले दिगो विकास र समृद्धि सामूहिक पहलमा सम्भव हुने पनि बताए । 

जलवायु परिर्वतनको असर बढ्दै 

त्यसैगरी जलवायु विज्ञ राजन थापाले कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा रहेको बताए । 'पहाडी जिल्लामा हुने जथाभावी विकासले पनि तराईका जिल्ला बाढीको उच्च जोखिममा छन्,' उनले भने, 'पछिल्लो समय निरन्तर जलवायु परिवर्तन भइरहेको छ ।' केही वर्षयता तापक्रम बढिरहेको उल्लेख गर्दै उनले सुदूरपश्चिममा पानी पर्ने मात्रा बढेको जानकारी दिए ।

    त्यस्तै डा. बसन्त अधिकारीले अव्यस्थित शहरीकरणले जलवायु परिर्वतनमा असर परिरहेको जनाउँदै दिगो विकासमा आधारित पूर्वाधार निर्माणलगायत काम गर्नुपर्ने बताए । उनले शहरीकरण वर्षेनी बढ्दै गएको औंल्याउँदै विकासलाई वातारणमैत्री बनाउनसके जलवायु अनुकूलन र विपद् जोखिम व्यवस्थापनमा सहज हुनेमा जोड दिए ।


Author

थप समाचार
x