समाज

आत्महत्याले लिदैंछ विकराल रूप

पाँच वर्षमा २७ हजार बढी नेपालीले गरे आत्महत्या

अतिन आचार्य |
पुस १०, २०७८ शनिबार १३:१३ बजे

काठमाडौँ- संसारभर आत्महत्याले विकराल समस्याको रूप लिन थालेको छ । केही समययता आत्महत्या गर्नेको संख्या तीव्र रूपमा बढ्दै गएको छ । विश्‍व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक वर्ष ७ लाख बढी मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ५० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्छन् ।

नेपालमा पनि केही दशक यता आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएको छ । पाँच वर्षमा मात्र मुलुकभरका विभिन्न स्थानमा करिब ३० हजार मानिसले आत्यहत्या गरेका छन् । कोभिड-१९ को महामारीको केही महिनामै रोगले भन्दा पनि आत्महत्या गरेर मर्नेको संख्या बढी  थियाे । 


चैत ११ देखि देशमा कोभिडको त्रासले लकडाउन भयो । सोही समयमा २०७७ जेठको दोस्रो सातासम्ममा आत्महत्या गर्नेको संख्या पनि वृद्धि भयो । मुलुकभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन् । ५ सय ७१ पुरुष, ३ सय ९६ महिला,५२ बालक  र ८६ जना बालिकाले गरेका थिए ।

कोभिड महामारीमा धेरै मानिस घरभित्र थुनिएका थिए । रोजगारी गुमाएका र आम्दानीको स्रोत बन्द हुँदा आर्थिक व्ययभार बढ्नाले पनि एक्कासी आत्महत्या गर्नेको संख्या चुलिएको थियो ।

अधिकांश मुलुकमा पुरुषको तुलनामा कम संख्यामा महिलाले आत्महत्या गरेका छन् । नेपालमा पनि त्यस्तै प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकले पनि हरेक वर्ष विभिन्न उपाय अपनाई आत्महत्या गरिरहेको विवरणमा उल्लेख छ ।

मुलुकभर एक वर्षमा चार हजार पुरुषले आत्महत्या गर्दा महिलाको आत्महत्या गर्ने संख्या २५ सय हुने गरेको पाइएको छ । यसले मुलुकमा पछिल्लो समय आत्महत्या गर्ने महिलाको बढ्दै गइरहेको छ ।

सातै प्रदेशमा गरी पाँच वर्षमा मात्र कुल ११ हजार २ सय ५४ महिललाले आत्महत्या गरेका छन् । प्रत्येक वर्ष दुई हजार बढीको संख्यामा महिलाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले जनाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा २४४९ जना महिलाले आत्महत्या गरेका थिए । त्यसैगरी पुरुषले सोही पाँच आर्थिक वर्षमा १५ हजार ९६५ जनाले आत्महत्या गरे ।

समाजमा बलात्का जस्ता जघन्य घटना, घरेलु हिंसा, परिवारको साथ नपाउनु, कार्यस्थलको हिंसा र उत्पिडनका कारण महिलाहरूले आत्महत्या गर्ने क्रम बढ्दो छ । मानसिक स्वास्थ्य, परिवारमा श्रीमानको साथ र माया नपाउनु पनि महिलाहरूले आत्महत्या गर्नुको मुख्य कारण बनेको उदाहरणहरू समय-समयमा प्रशस्त भेटिने गरेको छ ।

पुरुषमा भन्दा महिलामा बढी डिप्रेसन

वैदेशिक रोजगारीका कारण परिवारमा विग्रह हुँदा महिला र पुरुषमा बेमेल हुँदा मानसिक समस्या थपिने गरेको छ । कतिपय श्रीमानश्रीमती बीचको सम्बन्धमा दरार भइ महिलामा दीर्घकालीन समस्या भएको दृष्‍टान्त भेटिएको पाटन मानसिक अस्पतालका चिकित्सक डा. अनन्त अधिकारी बताउँछन् ।

महिलाहरूले आत्महत्या गर्नुका मुख्य-मुख्य कारण मनोवैज्ञानिक, सामाजिक, घरेलु हिंसा तथा व्यक्तिगत चारित्रिक कुराहरू पनि रहने गरेका छन् । महिलाहरूमा मानसिक समस्या रहँदा मनोवैज्ञानिक त्रासका कारण समयमा स्वास्थ्य परीक्षण नगराउँदा अवस्था जटिल बन्दा आफ्नो जीवन त्याग्‍ने गरेको डा. अधिकारीले बताए ।

'महिलालाई डिप्रेसन भयो भनेर कसैले थाहा पाउला भन्‍ने हिनताबोध राख्दा पनि समयमा उपचार गर्दैनन,' डा. अधिकारीले भने,' मृत्युको कारक यही हुने गरेको छ । आफ्‍नो जीवनलाई माया गर्नुपरो र केही होइन सामान्य समस्या हो भनेर बुझ्‍नुपर्छ ।' महिलाहरूले चारित्रिक कुराको एकदम ख्याल गर्ने भएकाले बाहिर खुल्न नसक्दा यस्ता समस्याहरू आउने गरेको उनले बताए ।

नेपालमा पछिल्लो समय घरेलु हिंसाका कारण महिलाको अवस्था दयनीय छ । महिलाले आफ्ना समस्या खुलेर बाहिर निकाल्न नसक्दा पनि डिप्रसेनको समस्या झन-झन बढ्दै गएको छ । पुरुषको तुलनामा महिलाहरू डिप्रेसनमा रहने गरेको अधिकारीले खुलाए । पुरूषलाई केही समस्या भएमा झट्टै अस्पताल गइ परीक्षण गर्ने गरे पनि महिला भने सहजै जान नसकिरहेको उनको भनाइ छ ।

मानसिक रुपमा आफूलाई असहज महसुस भएमा स्वास्थ्य परीक्षण गरिहाल्न उनको सुझाव छ । निराशामा कहिले पनि बस्‍न नहुने र केही समस्या भएमा खुलेर कुरा गर्नुपर्ने उनले बताए । आत्मसम्मानको अनुभूति पाएमा र शिक्षामा पहुँच लगायतका अन्य सहभागीतामूलक कार्यक्रममा समान अवसर दिनुपर्ने उनले बताए ।

महिलाको भावना सुनौ

पुरुषका तुलनामा घरको सामाजिक र आर्थिक व्ययभार महिलाको जिम्मेवारमा रहने भएकाले बढी बोझ थेग्‍न नसक्दा मानसिक पीडा बढ्न गई यस्ता घटना वृद्धि हुने गरेको सामाजिक परामर्शदाता डा.नम्रता पाण्डे बताउँछिन् । घरेलु हिंसा लगायतका अन्य सामाजिक कारणले पनि उनीहरूलाई असहज बनाउने उनले बताइन् । उनकाअनुसार वैदेशिक रोजगारीबाट आएपछि पुरुषले घर व्यवहारको काममा वास्ता नगर्दा महिलामा थप बोझ थपिएको छ ।

महिलाले आफ्नो समस्या सहजै राख्‍न नसक्दा पनि आत्महत्या गर्ने बढी लालयित हुने गरेको पाण्डेले बताइन् । 'नेपालको सामाजिक संस्कृतिले महिलालाई सहजै खुल्न नदिएकाले घट्ना बढिरहेको छ,' उनले भनिन,' पुरुषले महिलाले गरिरहेको काममा साथ र सहयोग प्रदान नगर्दा एक्लोपनको महसुसले आत्महत्या गर्न पुग्छन् ।'

केही समस्या परेमा सहजै बाहिर आउन नसक्ने उनले बताइन् । शारीरिक समस्या र महिनावारी रोकिने समयमा हर्मनको घटबढले इरिटेशन महसुस हुँदा सानो कुरालाई ठूलो लाग्‍न सक्ने हुँदा महिलाहरूले आत्महत्याको एटेम्प्ट (प्रयास) गर्ने उनले औल्याइन् ।

पाण्डेले श्रीमानश्रीमती बीच सम्बन्धमा खटपट आउँदा पनि अप्रिय घट्न जाने गरेको बताइन । परिवारको कुनै पनि महिला सदस्यलाई सुन्ने र उनीहरूको भावना बुझिदिनुपर्ने उनले धारणा राखिन् । मानसिक स्वास्थ्यमा समस्या भएमा समयमा उपचार गर्नलाई उनले सुझाइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x