समाज

भेरी अस्पतालको स्टोर कक्षमा मृत भेटिएका चारै जनाको सनाखत

विक्रम खड्का |
पुस १५, २०७८ बिहीबार ९:४४ बजे

बुटवल - बाँके जिल्लाको भेरी अस्पतालभित्र स्टोर कक्षमा मृत भेटिएका चारै जनाको सनाखत भएको छ । प्रहरीकाअनुसार क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

एउटै कोठामा बसेका उनीहरूले हिटर बालेको र निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । घटानास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र एसपी अधिकारीले आफूहरू घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।


अस्पतालका कर्मचारीले काम परेपछि राति १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । बिहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले जानकारी दिए । संगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा भेटिएका थिए । उनीहरूको भेरीमै उपचार भइरहेको छ । भट्टराईकी श्रीमती, ३ वर्षीय छोरा र बहिनीको उपचार भइरहेको अधिकारीले बताए ।

यो पनि 

भेरी अस्पतालको स्टोर कक्षमा एकै परिवारका ४ जना मृत भेटिए

 

 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x