समाज

कोभिड–१९ पोजिटिभलाई जहाज चढाएपछि...

विकास थापा |
पुस १९, २०७७ आइतबार १७:२९ बजे

काठमाडौं : कोरोना पोजिटिभ भएको व्यक्तिलाई जहाजभित्र प्रवेश गराएको आरोपमा नेपाल वायु सेवा निगमले मलेशियामा कार्यरत दुई उच्च तहका कर्मचारीलाई काठमाडौं फिर्ता बोलाएको छ । 

मलेसियास्थित निगमको कन्ट्री म्यानेजर नरेश श्रेष्ठ र विमानस्थल प्रमुख युवराज आचार्यलाई निगमले अंग्रेजी नयाँ वर्षको पहिलो दिन केन्द्रीय कार्यालय फिर्ता बोलाउने निर्णय गरेको हो । 


गत बुधबार (पुस १५) मा मलेसियाको क्वालाम्पुरबाट काठमाडौं आएको निगमको फ्लाइट नं. आरए ४१६ जहाज (न्याराे बडी) मा एकजना कोरोना पोजिटिभ नेपाली यात्रुलाई उड्न दिएपछि कारबाहीस्वरुप फिर्ता बोलाइएको निगमका प्रबन्ध निर्देशक दिमप्रकाश पौडेलले आइतबार इकागजलाई बताए ।

ती व्यक्तिको काठमाडौं आएर परीक्षण गर्दा पनि पोजिटिभै देखिएपछि स्वास्थ्य मापदण्ड अनुसार उक्त जहाजमा आएका ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जहाजमा एक सय ४७ यात्रु थिए । 

निगमका प्रबन्ध निर्देशक पौडेल, उपप्रबन्ध निर्देशक गणेश चन्द र कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल रहेको ‘पोस्टिङ कमिटी’ ले उक्त घटना भएको भोलिपल्टै निर्णय गरी १५ दिनभित्र काठमाडौं उपस्थित हुन पत्र काटेको हो । कमिर्सियल डाइरेक्टर दाहालले आफू मातहतका कर्मचारीलाई कारबाही गर्ने निर्णय गर्दा बैठकमा मौनता साँधेको स्रोतले बतायो ।

क्वालालम्पुर विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङको जिम्मा पाएको व्यक्ति यस घटनामा मुख्य जिम्मेवार हुने भए पनि निगमले एयरपोर्टमै उपस्थित नभएका कन्ट्री म्यानेजर श्रेष्ठलाई पनि कारबाही गरिएको थियो । प्रबन्ध निर्देशक पौडेलेले भने श्रेष्ठ उक्त उडानका समयमा एयरपोर्टमै रहेको बताए । ‘उहाँहरु विमानस्थल जानु भएको छ,’ पौडेलले भने, ‘भत्ताका लागि क्लेम (दाबी) नै गर्नुभएको छ ।’

कारबाहीमा परेका दुवैले स्पष्टीकरण दिएको र आफूले गल्ती गरेको स्वीकार पनि गरेको पौडेलले बताए । ‘उहाँहरुले आइदा गल्ती गर्नेछैनौं पनि भन्नु भएको छ ।’
एकजनाको गल्तीले गर्दा धेरै यात्रुहरुले हैरानी पाएको, तनावमा परेकोले जनदबाव थेग्नै नसकेर कारबाही गर्न बाध्य भएको पौडेलले बताए । यसबाहेक निगमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै प्रतिष्ठामाथि प्रश्न उठेकाले पनि आइन्दा अन्य कर्मचारीले यस प्रकारको लापरबाही नगरुन् भन्ने उद्देश्य रहेको पौडेलको भनाइ थियो ।

मलेसियामा कार्यरत निगमका कर्मचारीले मासिक भत्तामात्रै एक लाख रुपैयाँ पाउने गर्छन् । मलेसिया जान आउन निःशुल्क हुन्छ भने यातायात खर्च (ट्याक्सी) बापत पनि राम्रै आम्दानी हुने गर्छ । यसले गर्दा यी गन्तव्य कर्मचारीका लागि आकर्षक मानिन्छन् । जो कोही पुग्न मरिहत्ते गर्ने गरेको निगमका कर्मचारीहरु बताउँछन् । मलेसियामा कर्मचारी पठाउन तलदेखि माथिसम्म ‘सेटिङ’ हुने गरेको उनीहरुले बताए । 

बिना भिसा उडान अनुमति

निगम र काठमाडौंस्थित अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा गत असोजमा सात जना नेपालीलाई बिना भिसा उडन दिएको घटनाको छानबिन भइरहेको प्रबन्ध निर्देशक पौडेलले बताए । 

आजै (आइतबार) निगम र अध्यागनका दोषी कर्मचारीलाई कारबाही गराउन आफू अध्यागमन विभागको महानिर्देशक रमेशकुमार केसीलाई भेटेर आएको पनि पौडेलले बताए । ‘विभाग र निगमले यसमा छानबिन गरिरहेको छ,’ पौडेलको भनाइ थियो, ‘यस्ता कर्मचारीलाई कारबाही हुन्छ ।’


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x