मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको भिड
जनकपुरधाम - फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या बढदै गएको छ । जनकपुरस्थित निर्वाचन आयोगको कार्यालय धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन दैनिक सयौंको संख्यामा पुग्ने गरेका छन्।
प्रतिदिन ५/६ सयको संख्यामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भइरहेको निर्वाचन आयोगको कार्यालय धनुषाले जनाएको छ ।
आयोगले कोही नागरिक पनि मतदाता नामावलीमा नछुटोस् भन्ने उद्देश्यका साथ मंसिर १७ गतेदेखि पुस १८ गतेसम्म स्थानीय तहमा टोली समेत खटाएको थियो । सो टोलीमा नाम दर्ता गराउन छुट भएकाहरु अहिले नियमित रुपमा निर्वाचन आयोगको कार्यालय जनकपुरधाममा पुग्ने गरेका छन् ।
सहजताका लागि निर्वाचन आयोगको कार्यालयले जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय शहीदनगरमा स्थायी शिविर समेत राखेका छन । आयोग कार्यालयसहित यी दुई शिविरमा समेत मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भिड लाग्ने गरेको छ ।
स्थानीय तहको निर्वाचन तयारी भइरहेको समयमा नेपाल सरकारले चलाएको फोटो सहितको मतदाता नामावली दर्ता विशेष कार्यक्रम निकै नै प्रभावकारी भइरहेको आयोगकी जिल्ला प्रमुख पुष्पा झाले बताएकी छिन ।
उनले भनिन, 'स्थानीय तहको निर्वाचनको समयावधि नजिकिदै जाँदा नाम दर्ता गराउनेहरुको चासो बढेको छ । धनुषासहित अन्य जिल्लाका समेत दैनिक रुपमा ५/६ सयको हाराहारीमा कार्यालयमा मान्छेहरु आउने गरेका छन् ।' पहिला जिल्लाका नागरिकहरुको लागि मात्र खुल्ला गरिएको थियो । तर पछिल्लो पटक आफू बसेको कुनै ठाउँमा नाम दर्ता गराउन सक्ने नेपाल सरकारको निर्देशन आएपछि यस जिल्लामा बस्ने अन्य जिल्लाका मान्छेहरु नाम दर्ताका लागि आउने गरेका छन् ।
नाम दर्ता गराउनेहरुको भिड बढदै जाँदा कार्यालयमा अहिले फर्म रुजु र फोटो खिच्ने काम मात्र भइरहेको उनले जानकारी दिइन् । ४/४ वटा फोटो खिच्ने र फर्म रुजु गर्ने व्यवस्था गरिएको छ । भिड बढेपछि होहल्ला नहोस् भनेर सुरक्षा र व्यवस्थापनको दृष्टिकोणले प्रहरी परिचालन समेत गरिएको छ ।
उनका अनुसार टोली बाहेक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा करिब साढे १२ हजारको संख्यामा नाम दर्ता भएको छ । एक महिनासम्म चलेको स्थानीय तह शिविरमा साढे ३८ हजारसहित हालसम्म चालु आर्थिक वर्षमा ५१ हजारभन्दा बढीको नाम दर्ता भइसकेको छ ।
जिल्लामा अहिलेसम्म लगभग ७० प्रतिशत नागरिकको नाम दर्ता भइसकेको छ र चुनावको मिति नतोकिएसम्म मतदाता नामावली दर्ताको कार्यक्रम संचालन हुने उनले जानकारी दिइन् ।
मतदाता नामावलीमा नाम दर्ता गराउन सम्बन्धित मान्छे भन्दा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएका विभिन्न पार्टीका नेताहरुले चासो देखाएको पाइएको छ । नेताहरुले आफ्नो खर्चमै नाम दर्ता गराउनेहरुलाई गाडीमा बोकेर ल्याउने गरेका छन् ।
बटेश्वर गाउँपालिकाका ६० वर्षीय वृद्ध अमृत राउतले भने, मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ भन्ने कुरा मलाई थाहा पनि थिएन, तर गाउँकै एक माओवादीका नेताले मसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई गाडीमा चढाएर यहाँसम्म ल्याए ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया