बालबालिकाले सोधिरहने, अभिभावकले टारिरहने एउटा प्रश्न
‘म कहाँबाट आएँ ?’ ‘म कसरी जन्मिएँ ?’ ‘मान्छे कसरी बन्छ त ?’ यस्ता प्रश्न आफ्ना ससाना छोराछोरीबाट नपाउने अभिभावक सायदै हुन्छन् । यी प्रश्न परिवारमा सबैभन्दा धेरै सोधिने र सबैभन्दा धेरै गलत जवाफ पाउने प्रश्न पनि हुन् । अभिभावक नाजवाफ हुने, नसुने जस्तो गर्ने प्रश्न पनि हो । अझ यी प्रश्नमा बालबालिकाले पाउने अर्को साझा जवाफ पनि हो, ‘चुप लाग ।’
बालबालिकाको उमेर स्वभावैले चुप लाग्ने उमेर भने होइन । अभिभावकका टालटुले गलत जवाफ ‘बाटोमा भेटेको, सुपरमार्केटबाट ल्याएको, देउताले दिएको, आकाशबाट झरेको’ पत्याउने उमेर पनि होइन । केही साताअघि काठमाडौँ, बत्तिसपुतली बस्ने समिरा बस्नेतले आफ्नो आठ वर्षे छोरालाई यस्तै टालटुले जवाफ दिएकी थिइन् । एकदिन फुर्सदमा समिराले छोरालाई बिहेको फोटो, भिडियो देखाइन् । ध्यान दिएर बिहेको फोटो, भिडियो हेरेपछि अन्तिममा छोराले समिरालाई सोधे, ‘मामु म चाहिँ खोई त यहाँ ?’ समिराले सहजै जवाफ दिइन्, ‘त्यो बेला तिमी जन्मिएकै थिएनौ ।’छाराले पुनः प्रश्न गरे, ‘त्यसो भए म कसरी जन्मिएँ त ?’
समिरालाई के भनौँ, कसो भनौँ भयो । ‘ठूलो भएपछि आफैँ थाहा पाउँछौ’ समिराले छोराको जिज्ञासा थामथुम पार्ने प्रयास गरिन् । आमाको जवाफ चित्त नबुझेर अहिले पनि उनका छोरा बारम्बार सोधिरहन्छन्, ‘मामु भन्नुस् न म कसरी जन्मिएँ ?’
आफ्ना आठ वर्षे छोरालाई यो प्रश्नको जवाफ कसरी दिने समिरालाई थाहा छैन । ‘केही साथीहरूलाई कसरी जवाफ दिने भनेर साधेको थिएँ,’ उनले सुनाइन्, ‘उनीहरूमध्ये कसैले भाटभटेनीबाट किनेर ल्याएको, कसैले भगवान्ले दिएको, कसैले पेट चिरेर निकालेको भनेर जवाफ दिँदा रहेछन् ।’
भक्तपुर, जगाती बस्ने प्रतिमा खत्रीकी छोरी भर्खरै टिनेज लागिन् । ‘म कसरी जन्मिएँ ?’ भन्ने प्रश्न उनले पनि बाल्यकालमा प्रतिमालाई सोधेकी थिइन् । प्रतिमाले त्यो बेला के भन्नु, भन्नु भएर ‘बाटोमा भेटेको’ भनिदिएकी थिइन् । घरमा आउने आफन्तहरूले पनि छोरीलाई बारम्बार बाटोमा भेटिएकी जिस्काउने गर्थे ।
त्यो कुराले छोरीको बाल मस्तिष्कमा नराम्रो छाप पर्यो । प्रतिमाले यस्तो कुराले छोरीलाई पछिसम्म असर गर्ला भनेर सोचेकी थिइनन् । ‘अहिले नानी हामीसँग जहिल्यै झगडा मात्रै गरिरहन्छे,’ उनले भनिन्, ‘मलाई बाटोमा भेटेर ल्याएको भएर तिमीहरूले मलाई माया नगरेको भनेर निहुँ खोजिरहन्छे । उसलाई हामीले केही गरी पनि सम्झाउन सकेका छैनौँ ।’
कुन उमेरका बालबालिकालाई कस्तो जवाफ दिने ?
बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बालबालिकाको विकास तीन चरणमा हुने बताउँछन् । छ वर्षभन्दा मुनिको उमेरलाई पूर्वबाल्यावस्था भन्न सकिन्छ । अनि १२ वर्षसम्म बाल्यावस्था र त्यसदेखि १९ वर्षसम्मको उमेर किशोरावस्था । यी भिन्नभिन्न अवस्थामा उनीहरूको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, विकास पनि एकनास हुँदैन । कुनै पनि विषयप्रति खुल्दुली बढ्नु, कौतूहलले घर गर्नु बाल्यावस्थाका सामान्य लक्षण हुन् । तर, अभिभावक र कतिपय सन्दर्भमा शिक्षालयलाई समेत बालबालिकाका यिनै सामान्य लक्षणले असामान्य टाउको दुखाइरहेका हुन्छन् ।
डा. कार्कीका अनुसार छ वर्षभन्दा मुनिका बालबालिकाको बौद्धिक विकास ठोस रूपले भइसकेको हुँदैन । जसले गर्दा उनीहरूलाई कुनै पनि कुराको ‘कज एन्ड इफेक्ट्स’ अर्थात् कारण र प्रभावबारे खासै जानकारी हुँदैन । परिवारसम्बन्धी अवधारणा नै उनीहरूले बुझेका हुँदैनन् । जसले उनीहरूलाई माया गर्छन्, खानेकुरा खान दिन्छन् त्यो नै उनीहरूको परिवार हुन्छ ।
यो उमेरका बालबालिकाले सो प्रश्न गरेमा प्रजनन प्रक्रियाबारे सबै बताउनु जरुरी नभएको उनी बताउँछन् । ‘छ वर्ष मुनिका बालबालिकाले त्यो बुझ्दा पनि बुझ्दैनन्,’ उनी भन्छन्, ‘उनीहरू कल्पनामा रमाउने खालका हुन्छन् । त्यो उमेरमा वैज्ञानिक जवाफ दिएर काम छैन । गलत सूचना नजाने गरी सिर्जनात्मक भएर जवाफ दिनुपर्छ ।’
उनीहरूलाई स्टोरी बुकको माध्यमबाट यौनका कुरा सिकाउन सकिने डा. कार्की बताउँछन् । ‘अभिभावकले सबै प्रश्नको उत्तर दिनैपर्छ भनेर प्रेसर अनुभव गर्नु हुँदैन,’ उनी भन्छन्, ‘उमेर अनुसार अन्तक्र्रिया गर्नुपर्छ । प्रेसर लिन थालियो भने गलत जवाफ जान सक्छ । जवाफ थाहा नहुँदा ‘म हेरेर, पढेर वा सोधेर भन्छु’ भन्न सकिन्छ । गलत जवाफ दिनुभन्दा जवाफ नदिनु राम्रो उपाय हो ।’
प्रजनन स्वास्थ्य विशेषज्ञ डा. तुम्ला शाह बालबालिकाको दिमागले जुनसुकै कुरा चाँडै टिपिहाल्ने बताउँछिन् । यसको प्रभाव पछिसम्म पर्ने भएकाले उनीहरूसँग कहिल्यै झुटो बोल्न नहुने उनको भनाइ छ । उनीकहाँ केही अभिभावक छोराछोरीका प्रश्न लिएर आउँछन् । ‘अहिले धेरैजसो डेलिभरी अपरेसन गरेर हुन्छ,’ उनी भन्छिन्, ‘अपरेसन गरेर पाएकाहरूले पेटको दाग देखाएर यहाँबाट चिरेर निकालेको भनेर देखाउनु हुँदो रहेछ । नर्मल डेलिभरी भएकाहरू भने भन्न अप्ठ्यारो लागेर हामीसँग सोध्नु पनि हुन्छ ।’
डा. शाह पनि आफूलाई जवाफ दिन अप्ठ्यारो लाग्छ भने अरुको सहायता लिनू तर, गलत जवाफ नदिनू भन्छिन् । बालबालिकालाई आठ वर्षपछि महिनावारीबारे चर्चा गर्दै उसको माध्यमबाट यौनसम्बन्धी कुराहरूबारे जानकारी दिन सकिने उनी बताउँछिन् ।
बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवर पाँच वर्षमुनिका बालबालिकाले बायोलोजिकल कुरा खासै नबुझ्ने भएकाले उनीहरूलाई सामान्य हिसाबले जवाफ दिँदा पनि हुने बताउँछन् । तर, किशोरकिशोरीलाई भने प्रस्टसँग यसको जवाफ दिनुपर्ने उनको भनाइ छ ।
गलत जवाफभन्दा नाजवाफ बेस !
यौनको बारेमा मात्र होइन अन्य जिज्ञासामा पनि बालबालिकासँग खुलेर छलफल गर्न लजाउने, गलत जवाफ दिने अभिभावकको शैली प्रत्युत्पादक हुने मनोपरामर्शदाता कञ्चन रावतको अनुभव छ । ‘बालबालिकाहरू यौन भनेको खराब कुरा हो भनेर सोच्न थाल्छन्,’ उनी भन्छिन्, ‘यौनसम्बन्धी कुराहरू लुकाउनुपर्ने रहेछ भन्ने सन्देश उनीहरूमाझ जान्छ । यौनाङ्गलाई छोप्नुपर्छ तर यौनांगबारेका कौतूहल छोप्न जरुरी छैन । यसलाई लाज र घृणाको विषय बनाउनु हुँदैन ।’
उनका अनुसार आठ वर्षभन्दा मुनिका बालबालिका तर्क होइन, भावनाबाट निर्देशित हुन्छन् । ‘आठ वर्षपछि भने सही÷गलत छुट्याउन थाल्ने भएकाले यो उमेरमा उनीहरूले सोधेका प्रश्नको बिनाहिचकिटाहट जवाफ दिनुपर्छ,’ उनी भन्छिन् ।
डा. उत्कर्ष कार्की बालबालिकाको यस्तो जिज्ञासामा गलत जवाफ दिँदा उनीहरूले आफूलाई परिवारको सदस्य नै नठान्ने बताउँछन् । ‘बच्चाले कुन सन्दर्भमा प्रश्न सोधेको हो विचार गर्नुपर्छ,’ उनी भन्छन्, ‘जथाभावी जवाफ दिनाले मनोवैज्ञानिक आघात पुग्छ । मेरो आमाबुवा को होला ? म ठीक ठाउँमा छु कि छैन ? जस्ता कुरा सोच्न थाल्छन् ।’ कसैले भने सामान्य रुपमा लिएर बिर्सिने उनी बताउँछन् । तर, त्यो बालबालिकाको स्वभावअनुसार फरक पर्छ ।
आठ वर्षमाथिका बालबालिकाको बुझाइ बिस्तारै बढ्दै जाने उनी बताउँछन् । ‘उनीहरूको बायोलोजिकल अन्डस्ट्यान्डिङ बिस्तारै बढ्दै जान्छ, परिवारबारे बुझ्न थाल्छन्,’ उनी भन्छन्, ‘उनीहरू कथा सुनेर चित्त बुझाउँदैनन् । यो अवस्थामा तिमीले के बुझेका छौ भनेर सोध्ने हो । नबुझेको कुरामा अभिभावकले थप्दै लैजाने हो ।’
दुई छोरीका बुवा त्रिभुवन विश्वविद्यालयका अध्यापक समीक्षक राम लोहनी साना बालबालिबालाई मानिस कसरी जन्मिन्छ भनेर सबै प्रक्रिया भन्नु जरुरी नभएको बताउँछन् । ‘आजभोलि अधिकांश अपरेसन गरेर बच्चा पाउने भएकाले पेटबाट जन्मिएको भनेर पेटको दाग देखाए पनि भयो,’ उनी भन्छन्, ‘आफू जन्मिनुमा आमाबुवाको जेनेटिक योगदान के छ भनेर बच्चाहरूले १०-१२ वर्षपछि मात्र थाहा पाउने भएकाले सानैमा सबै कुरा भन्न जरुरी छैन ।’
बच्चालाई बाटोमा भेटेकोभन्दा नकारात्मक असर पर्ने भएकाले आफैँले जन्माएको हो भनेर विश्वास दिलाउनुपर्ने उनी बताउँछन् । ‘तिम्रो नाक, मुख, बुवाको जस्तो छ, हातखुट्टा आमाको जस्तो भनेर बेलाबेलामा बताइहरनुपर्छ,’ उनी भन्छन्, ‘आमाबुवाको गुण र विशेषता उसमा भएको थाहा पाएपछि उसले बाटोमा भेटेको भन्यो भने पनि पत्याउँदैन ।’
बालबालिकालाई उनीहरूका यस्ता प्रश्नको जवाफ कुशलतापूर्वक दिनुपर्ने उनी बताउँछन् । ‘अभिभावकलाई सबै प्रश्नको जवाफ थाहा हुन्छ भन्ने छैन,’ उनी भन्छन्, ‘बिजनेस पढेको अभिभावकले बायोलोजीबारे राम्रोसँग बुझाउन नसक्ने हुन्छ । अभिभावकले आफूलाई सबैकुरा थाहा छ जस्तो गर्नु जरुरी छैन ।’
अभिभावक भएपछि जवाफ दिनैपर्छ भन्ने छ र ?
यौन तथा प्रजनन स्वास्थ्यमा लामो समयदेखि स्कुल-स्कुलमा गएर अभियान चलाइरहेकी डा. मधुरिमा भद्राले पनि बाल्यकालमा बुवाआमाको बिहेमा आफूलाई किन नबोलाएको भनेर झगडा गरेकी थिइन् । नेपाली संस्कारमा बिहेअगाडि बच्चा पाउन मिल्दैन भनेर उनका बुवाले जवाफ दिएका थिए । जिज्ञासा अझै नमेटिएपछि उनलाई बुवाले कमिक पुस्तक थमाइदिएका थिए । मानव शरीरबारे उल्लेख गरिएको उक्त कमिक पुस्तकमा चित्रद्वारा बच्चा कसरी बन्छ, नौ महिनासम्म पेटमा कसरी बस्छ भनेर देखाइएको थियो ।
अहिले भने उनी स्कुलमा गएर यौनको कुरा गर्नुपर्दा सुरुमा महिनावारीबाट सुरु गर्छिन् । ‘तिमीहरूको आमाको कथा भन्छु है भन्दै महिनावारी हुँदै यौन प्रजनन विषयमा जानकारी दिने गरेको छु,’ उनी भन्छिन् । बालबालिकालाई बाटोमा भेटेको, सुपरमार्केटबाट किनेको भन्दा उनीहरूले आफ्नो अस्तित्व नभएको अनुभव गर्ने उनी बताउँछिन् । यसो गर्नाले उनीहरूको आमाबुवासँगको विश्वास टुक्रिने, झनै कौतूहल पैदा हुने उनको बुझाइ छ ।
यो विषयमा सही जवाफ दिन नसकेकोमा अभिभावक, शिक्षक कसैलाई पनि दोष लगाउन नमिल्ने उनी बताउँछिन् । अभिभावक र शिक्षकलाई कसरी जवाफ दिने भनेर कसैले नसिकाएको उनको भनाइ छ । ‘हाम्रो संस्कारले यो विषयमा कुरै गर्न दिँदैन,’ उनी भन्छिन्, ‘यसमा हाम्रो समाज र मूल्य-मान्यता दोषी छन् । एउटा मात्रै समूहलाई यसमा दोष दिन मिल्दैन ।’
जनावरको जीवनचक्र देखाउन सकिन्छ
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला यौनका विषयमा अभिभावकले बालबालिकालाई स्पष्ट रूपले भन्न सक्ने हिम्मत राख्नुपर्ने बताउँछन् । ‘हाम्रोमा केही अभिभावकले यौनको विषयमा छोराछोरीलाई भनिरहेका त छन् तर, कसरी भन्नुपर्छ भन्ने जानिरहेका छैनन्,’ उनी भन्छन् ।
गाउँघरमा हुने धेरै क्रियाकलापले बालबालिकालाई यौनसम्बन्धी बुझ्न सघाउने उनी बताउँछन् । ‘बाख्रालाई बोका खोज्न लगेको, गाईलाई गोरु भए ठाउँमा लगेको, कुखुरा ठुँगाउन लगेको देखाएर यस्तो कुरा बुझ्न, बुझाउन सजिलो हुन्छ,’ उनी भन्छन्, ‘तर, सहरमा न आमाबुवाले भन्छन् न त्यस्ता क्रियाकलाप नै देखेका हुन्छन् । यो समस्या धेरैजसो सहरी अभिभावकले सामना गर्नुपरेको छ ।’
उनका अनुसार मन्दिरका टुँडालले पनि यौनका धेरै जिज्ञासा मेटाउने भएकाले त्यसको प्रयोग गर्न सकिन्छ । चराचुरुङ्गी वा जनावर आदिको उदाहरण दिएर आफू कसरी जन्मिएकोबारे जानकारी दिन सकिन्छ । जनावरबाट सम्भव नभएर चित्रात्मक ढंगबाट पनि यस्ता कुरा प्रस्ट पार्न सकिन्छ । त्यस्तै, कथा, कार्टुन र एनिमेसनको सहयोग पनि लिन सकिन्छ । विदेशीहरू भने सिमुलेसन (नक्कल) गरेर यौन शिक्षाबारे जानकारी दिन्छन् । उनीहरू यस्ता विषयमा उदार हुनाले धक नमानी खुलेर कुरा गर्छन् । ‘हाम्रोमा यौनको विषयलाई लुकाउने र रहस्यमय विषयका रूपमा प्रस्तुत गर्ने हुनाले झन् कौतूहल बढ्छ,’ उनी भन्छन् ।
‘हाम्रोमा न मन्दिरका टुँडाललाई देखाएर बुझाउन सक्ने क्षमता छ, न पश्चिमा जस्तो सिमुलेसन गरेर यौन शिक्षा दिने प्रचलन नै छ,’ उनी थप्छन् । तर, यसो भन्दैमा सबै दोष आमाबुवालाई थुपार्न नहुने उनी बताउँछन् । ‘उनीहरूले जसरी जवाफ दिँदै आएका छन्, त्यो उनीहरूको व्यक्त गर्ने कला हो,’ उनी भन्छन्, ‘यौनको विषयमा लाज मानेर उनीहरूले विभिन्न बहाना गरेर टार्ने गरेका हुन् ।’
‘मलाई पनि थाहा छैन, हामी मिलेर खोजौँ न’
अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र उनका सहकर्मीहरूले स्कुलमा धेरै विद्यार्थीबाट यस्ता प्रश्नको सामना गर्नुपर्छ । कतिपय प्रश्नका जवाफ आफूसँग नहुँदा उनी स्कुलमा सम्बन्धित विशेषज्ञ ल्याएर यौन शिक्षा दिने गर्छिन् । शिक्षकहरूलाई पनि यो विषयमा प्रशिक्षण दिइरहेकी हुन्छिन् । ‘हामीले प्रि-स्कुलदेखि नै शरीरका अंगबारे कुरा गर्न थाल्छौँ,’ उनी भन्छिन्, ‘असल छुवाइ र खराबबारे सिकाउँछौँ । पहिला यौन शिक्षा पाँच-छ कक्षामा पुगेपछि मात्रै दिने गरेका थियौँ । अहिले तीन कक्षाबाटै दिनुपरेको छ ।’
पाँच वर्षमुनिका बालबालिकालाई शरीरको अंगबारेमै थाहा नहुने हुनाले धरै अभिभावकले दैवी शक्तिको सहारा लिने उनी बताउँछिन् । तर, बालबालिका जिज्ञासु हुने भएकाले अभिभावकको जवाफमा चित्त नबुझाउन सक्छन् । ‘त्यस्तो अवस्थामा उनीहरूलाई परिवारको इतिहास खोतलेर त्यसबारे जानकारी दिन सकिन्छ,’ उनी भन्छिन् ।
प्रिन्सिपल भट्टराई अभिभावकले सबै प्रश्नको जवाफ दिनुपर्छ भन्ने जरुरी नभएको बताउँछिन् । ‘आफूलाई थाहा नभएको प्रश्नको जवाफ ‘मलाई पनि थाहा छैन, तिमी र म मिलेर खोजौँ’ भन्ने हो,’ उनी भन्छिन् । सबै प्रश्नको जवाफ आफैँ दिएर उनीहरूको जिज्ञासा नमार्न उनी अभिभावकलाई सल्लाह दिन्छिन् ।
बालबालिकाले सोध्ने सबै प्रश्नको जवाफ दिन नसकिने बताउँदै उनी भन्छिन, ‘धेरैले यो पनि भन्छन् बालबालिकाले सोध्ने सबै प्रश्नको सही र वैज्ञानिक ढंगले जवाफ दिने मानिस महाविद्वान् हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया