समाज

महाविर पुनको आविष्कार केन्द्रलाई इजरायल सरकारको सहयोग

इकागज |
पुस २२, २०७८ बिहिवार १७:४१ बजे

काठमाडौँ - इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई ल्याब हस्तान्तरण गरेका हुन् ।

ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरू सँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ ।


‘हाइटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सिप आदान प्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महाविर पुनले बताए । सो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने पुनको भनाइ छ । 

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसको जीवन पद्दतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधि भएका परिवर्तनहरूको अध्ययन आवश्यक रहेको बताए । इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

सो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।  


Author

थप समाचार
x