समाज

पुराना कर्मचारीलाई हटाएर रेलवेमा नयाँलाई भर्ना गर्न लागिएकाे भन्दै विरोध प्रदर्शन

सुभाष कर्ण |
पुस २८, २०७८ बुधवार १८:१५ बजे

जनकपुरधाम - नेपाल रेलवे कम्पनी अन्तर्गतको जयनगर जनकपुरधाम रेलवे सञ्चालनका आफूहरुलाई हटाएर महाप्रबन्धकले आफ्ना पार्टीका कार्यकर्तालाई भर्ना गर्न तालिम दिन लागेको भन्दै यसअघि नियुक्त गरिएका कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रेका छन् ।

चाँडै नै सञ्चालन गर्ने भनी रेलवे सञ्चालनका लागि पहिला १ सय ५१ जना कर्मचारीलाई प्रशिक्षण दिई दुई महिना खटाएर अहिले तिनीहरुलाई हटाएर ५५ जना नयाँ कर्मचारी भर्ना गर्न गोप्य रुपमा मंगलबारदेखि तालिम सुरु भएको छ ।


केपी ओली नेतृत्वको सरकार भएकाे बेला तत्कालिन रेलवे महाप्रबन्धक गुरु भट्टराईले २०७० सालसम्म खटेका कर्मचारीहरु मध्ये ६५ जना र विभिन्न तहका गरी १ सय ५१ जनालाई गएको वैशाख महिनादेखि श्रावण महिनासम्म किस्ताकाे रुपमा एक महिनाको प्रशिक्षणसहित दुई महिनासम्म डियुटीमा समेत खटाइएको थियो । तर सत्ता परिवर्तनसँगै प्रबन्धकमा निरन्जन झा नियुक्त भएपछि आफूहरुलाई हटाई ५ दलीय संयुक्त सरकारले आ–आफ्ना पार्टीका कार्यकर्तालाई भर्ना गरी तालिम दिन लागेको आरोप पुराना कर्मचारीमध्ये तालिम लिएका कर्मचारी अजयकुमार गोइतले बताए ।

उनले भने, 'आफूहरु प्रक्रिया पूरा गरेर तालिम लिई दुई महिनासम्म डियुटी समेत गरे, तर अहिले आएर एक विज्ञप्ति जारी गरी आफूहरुलाई हटाएर सरकारमा आबद्ध दलहरुका कार्यकर्ताहरुलाई नयाँ कर्मचारीको रुपमा भर्ना गर्न रेलवेको प्रशस्त पुर्वाधार हुँदा हुँदै गोप्य स्थानमा तालिम दिइरहेको छ ।'

जनकपुरधामको मत्स्य विकास तालिम केन्द्रमा आयोजना गरिएको सो तालिम स्थल अगाडि बिहान ११ बजेदेखि विरोध प्रदर्शनमा उनीहरु उत्रेका छन् । उनीहरुले आफूहरुलाई के कति कारणले हटाइएको भनी महाप्रबन्धक झासँग जवाफ माग्दै नाराबाजी गरिरहेका छन् ।

इन्जिनीयरमा तालिम लिएका सुजित साहले भने, ' पछिल्लो पटक लोक सेवाले निकालेको विज्ञापनको आधारमा निवेदन दिएर तालिम लियौं, सोही आधारमा नेपाल रेलवे दुई महिनासम्म डियूटीमा पनि खटायो, डियूटी गरेको तलब पनि पाएको छैनौं, सबै प्रमाण हुँदाहुँदै दलीय आधारमा आफ्ना कार्यकर्ता भर्ना गर्न लाग्दा आफूहरुमाथि अन्याय भएकाे छ।'

उनका अनुसार रेल सञ्चालनका लागि गएको साउन महिनासम्म तालिमका लागि एक करोड १५ लाख रुपैया समेत खर्चिएको थियो । अहिले फेरि तालिम दिनु भनेको राज्य ढुकुटीको रकम दुरुपयोग गर्न खोजिएको आरोप समेत उनीहरुले लगाए ।

पुराना तालिम लिएकाहरुलाई के कति कारणले हटाएर नयाँ भर्नाका तालिम दिइरहेको प्रसंगमा रेलवेका महाप्रबन्धक निरञ्जन झाले भने, 'नयाँ पुरानो कर्मचारी के हो भन्ने कुरा आफूलाई थाहा छैन, लोक सेवा आयोगले करारमा कर्मचारी भर्ना गर्न पाइँदैन भन्नेपछि तिनीहरुलाई कानूनसम्मत हटाएर दैनिक ज्यालादारीमा कमर्चारी भर्ना गर्न लगिएकाे हाे।'

उनले थप्दै भने, 'यसअघि रेल सञ्चालनका लागि हस्तान्तरण पनि भएको थिएन, पुर्वाधार समेत तयार भएको थियो त्यस अवस्थामा लोकसेवा विज्ञापन स्थगित गरेपछि आफ्ना मान्छेलाई स्वविवेक रुपमा कर्मचारीको रुपमा खटाइएकाहरुलाई आफूले हटाएका छौं ।'

तर संचारकर्मीहरुले तालिम दिइएको र हटाइएको सबै थोक प्रमाण छ भन्ने प्रसंगमा पत्रकारविरुद्ध जाइलाग्दै उनले यसमा विषयमा मलाई कसैलाई स्पष्टीकरण दिन जरुरी नरहेकाे बताए ।

उता रेलवेका तात्कालिन महाप्रबन्धक गुरु भट्टराईले भने, 'रेल खरिद भइसकेपछि पुरानो कर्मचारीको पीरमार्का बुझेर तिनीहरुमध्ये सक्नेलाई घरबाट बोलाएर लोक सेवा आयोगको विज्ञापनअनुसार निवेदन दिलाएर तालिम दिई उत्तीर्ण भएकाहरुलाई डियूटीमा खटाएका थियौं । तर अहिले दलीय स्वार्थमा आफ्ना पार्टीका कार्यकर्ता भर्ना गर्ने ती पीडित कर्मचारीहरुलाई हटाउनु सरासर गलत हो ।'

यसैबीच कडा सुरक्षकाबीच गोप्य रुपमा तालिम दिइरहेको थाहा पाएपछि संचारकर्मीहरु तालिम स्थलमा जान खोज्दा प्रहरी लगाएर घण्टौसम्म कुराएर महाप्रबन्धक झा बाइट दिन नबाहिर आए न संचारकर्मीलाई भित्र छिर्न दिए । करिब ३ घण्टासम्म कुरेर बसेका पत्रकारहरु भित्र जान खोज्दा महाप्रबन्धक झाले प्रहरी लगाएर हातपात समेत गराएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x