समाज

महानगरले एनसेललाई पार्क बनाउन अनुमति दिएको ठाउँमा किन राखियो कृत्रिम दुबाे ?

अतिन आचार्य |
पुस ३०, २०७८ शुक्रवार ७:५८ बजे

काठमाडौँ- लैनचौरस्थित मल्ल होटल अगाडि रहेको खुल्ला चौरलाई दुरसञ्चार प्रदायक टेलिफोन सेवा एनसेल कम्पनीले सामाजिक दायित्त्व अन्तर्गत पुननिर्माण गर्दैछ । निर्माण सम्पन्‍न अन्तिम चरणमा पुगिसकेकाले दुई सातासम्ममा एनसेलले काठमाडौँ महानगरलाई उक्त खुला मैदानमा बनेको पार्क हस्तान्तरण गर्नेछ ।

एनसेलले महानगरपालिकाको वडा-२६ मा पार्क, हरियाली बोटविरुवा,शौचालय फुटसल र बास्कटेल कोर्ड निर्माण गरेको छ । अव्यवस्थित  रुपमा रहेको खेल मैदानलाई हरियाली पार्क बनाउँदा र प्राकृतिक दुबो भएको चौरलाई मासेर कृत्रिम झार (आर्टिफिसियल टर्फ) राखेको छ । अहिले विभिन्‍न व्यक्तिहरूले वातावरणीय दृष्‍टिकोणले फोहोर हुने र वरिपरि आकाशे पानीसमेत जम्मा नहुने भन्दै विरोध गरिरहेका छन् ।


तर, काठमाडौँ महानगरपालिका-२६ का अध्यक्ष ख्याम तिवारी आकाशे पानीलाई ढलमा जान दिने गरी निर्माण गरिएको कुरालाई स्वीकार्दैनन् । आकाशबाट परेको पानी रिचार्ज गर्न १२ वटा इनार बनाइएको उनले जानकारी दिए ।

'आकाशे पानीलाई बाहिरी ढलमा निकास नहुने गरि निर्माण गरिएको छ,'अध्यक्ष तिवारीले इकागजसँग भने,' पानीलाई बाहिर निकास हुन नदिने गरी नक्सा तयार गरि आवश्यक संरचना बनाइएको छ । वरिपरि परेको सबै पानी इनारमा जम्मा हुन्छ ।'

महानगरले तयार पारेको डिजाइनमा एनसेलले पार्क निर्माण गरेको हो । साढे चार करोड रुपैयाँ भन्दा बढी लगानीमा एनसेलले उक्त खेल मैदानको पुनःनिर्माण गरेको हो । निर्माणअघि खेल मैदानमा स्थानीय विद्यालयका विद्यार्थी तथा बालबालिकाहरू खेल्ने गर्थे ।  

एनसेललले महानगरको सहकार्यमा पार्कको तयार गरेको र त्यसको संरक्षण महानगरले गर्नेछ । हरियाली पार्क, अपांगमैत्री तीन कोठाको शौचालयसमेत बनाएको छ । ४२ वटा रुखबिरुवासमेत रोप्‍ने भएको छ । मर्निङ वार्क गर्न गोरेटोसमेत निर्माण गरिएको उनले जानकारी दिए ।

वातावरण र सम्पदा संरक्षणको हिसाबले केही असहज जस्तो भएकाले त्यसमा महानगर संवेदनशील बनेको तिवारीको भनाइ छ । 'कृत्रिम चौर (आर्टिफिसियल टर्फ) राख्‍दा एन्फासँग सल्लाह गरेर राखिएको हो,' उनले अगाडि थपे,' खेल खेल्‍दा झार मर्ने भएकाले वर्षेनी मर्मत गर्दा लाखौँ खर्च हुने भएकाले कृत्रिम झार हालिएको हो ।' वातावरणीय दृष्‍टिकोणले महानगर संवेदनशील छ । महानगरले शौचालय सेवाग्राहीलाई निशुल्क प्रयोग गर्न दिने उनले दाबी गरे ।

सहरको मध्यभागमा खाली मैदान हुनु र पार्क निर्माण गरिने कार्यलाई सौन्दर्यको दृष्‍टिकोणले हेर्न सकिन्छ । भूकम्प जस्ता महाविपत्ति आइपर्दा सुरक्षित स्थान खुला चौर खोज्‍ने गरिन्छ । तर, खुला मैदान लोप विपत्तिमा भागेर जाने ठाउँ हुँदैनन् । पार्क वातावरणीय दृष्‍टिकोणले सुन्दर र बालबालिका तथा ज्येष्ठ नागरिकले सहजै प्रयोग गर्न सक्ने हुनुपर्ने वातावरणमा सरोकार राख्‍ने अभियन्ताहरूले बताउन थालेका छन् ।  

'कृत्रिम झारले वातावरणलाई प्रदुषित बनाउँछ'

खुला मैदानलाई पार्क बनाएकोमा वातावरण संरक्षण अभियन्ता मिलन राईको विचार भने फरक छ, 'खुला मैदानमा बनाइएको पार्कले समाजको सबैलाई प्रतिनिधित्व गर्ने खालको हुनुपर्छ । युवा उमेरकालाई मात्र लक्षित नगरी ज्येष्‍ठ नागरिकलाई समेत प्रतिनिधित्व गर्ने खालको हुनुपर्छ ।'

निर्माण गरिएको खेल मैदानले आकाशे पानीलाई सोस्‍न नसक्‍ने राईले तर्क राखे । निर्माण गरिएको पार्कले पानीलाई ब्लक गर्ने उनको दाबी छ । पानी ब्लक हुँदा वातावरणीय दृष्‍टिकोणले बसोबास गरिरहेका मानिसलाई समेत असर गर्ने उनले प्रस्ट पारे ।

'खेल मैदानका लागि राखिएको कृत्रिम झार (आर्टिफिसियल टर्फ) कालान्तरमा टुक्रा-टुक्रा भएर जाँदा वातवरणलाई असर गर्छ,' उनले सुनाए,' दीर्घकालीन रुपमा टीकाउ हुँदैन । वातावरणमा रहेका स-साना जीवलाई समेत असर गर्छ ।' प्लाष्‍टिकको कण हावामा मिसावट हुँदा वायु प्रदुषण भएर मानव जीवनमा समेत असर गर्ने उनको तर्क छ ।

पार्क भनेर बनाए पनि त्यसले पार्कको स्वरुप पाउन नसकेको राईको दाबी छ । हरियाली राख्‍ने भनेर सिजनल फूल रोप्‍ने बताए पनि स्थानीय प्रजातीका झारहरू लोप हुने उनले चिन्ता व्यक्त गरे । प्राकृतिक रुपमा उत्पादन हुने साना-साना झारहरूलाई संरक्षण गर्नुपर्ने उनले सुझाव दिए ।

खुला मैदान व्यवस्थित भयो

महानगरले अव्यवस्थित खुला मैदानलाई पार्क बनाएर व्यवस्थित गर्न लागेको एक स्थानीय बताउँछ्न् । स्थानीय बालबालिकाका लागि खेल मैदान नभएको समयमा नयाँ निर्माण हुनुले सकरात्मक काम गरेको उनले प्रतिक्रिया दिए ।

'पार्कलाई व्यवसायिक प्रयोजनका रुपमा प्रयोग गर्न हुदैन,' ती स्थानीयको तर्क छ,' ज्येष्‍ठ नागरिकलगायत समाजका सबै मानिसले प्रयोग गर्न पाउनुपर्छ ।' सार्वजनिक सम्पत्तिको निर्माण गरेपछि त्यसको संरक्षण गर्न पनि जान्‍नुपर्ने उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x