समाज

एक्लै यात्रा गर्ने सिज्जुको बेग्लै तरिका

सृजना खड्का |
पुस ३०, २०७८ शुक्रवार १४:३९ बजे

काठमाडौँ - उनकी हजुरआमा हिँडेकै बाटो आमा हिँडिन् । आमा जुन बाटोमा हिँडिन्, उनी पनि त्यही बाटो हिँडून् भन्‍ने चाहन्थ्यो समाज । तर, रुकुम, मुसिकोटकी सिर्जना सिज्जु (२४) आमा र हजुरआमाभन्दा फरक बाटो हिँड्न चाहन्थिन् । ‘छोरी भएर यो गर्नुहुँदैन, त्यो गर्नुहुँदैन’ भन्‍नेको गतिलो जवाफ बन्न चाहन्थिन् । सिर्जना वनविज्ञानकी विद्यार्थी हुन् । तर, अहिले अर्को एउटा परिचय थपिएको छ— त्यो हो, सोलो ट्राभलर अर्थात् एकल यात्री । 

वनविज्ञान पढेकी उनी केही महिनायता आफू, प्रकृति र समाजलाई बुझ्न वनजंगल चहार्न थालेकी छिन् । खोलानाला डुल्न र हिमाल चढ्न थालेकी छिन् । उनको गन्तव्य कुनै ‘भाइरल स्थान’ होइन । उनी त्यस्तो ठाउँ पुग्छिन् जहाँ मानिस घुम्नैका लागि विरलै पुगेका हुन्छन् । 


सिर्जनाले सानैदेखि ‘यो गर, त्यो नगर’ भन्‍ने खालको आदेश पालना गर्नुपरेन । उनको परिवार भन्थ्यो, ‘अरूलाई हानि हुने गरी नबाँच्नू, बाँकी जसरी बाँच्दा पनि हुन्छ ।’ परिवारको साथ र सहयोगले उनको जीवनमा ठूलो प्रभाव परेको छ । ‘परिवारले विश्वास गर्‍यो भने मात्र मानिसले आफूले आफूलाई विश्वास गर्न सक्छ,’ उनी भन्छिन् । सिर्जना घुमेर आएपछि सबैभन्दा पहिला आफूले कैद गरेका फोटो र भिडियो आमालाई देखाउँछिन् । सिर्जनाको स्वतन्त्रतामा उनीभन्दा आमा बढी उत्साहित हुन्छिन् । 

फरेस्ट्री यात्रा 

एसएलसीपछि सिर्जनाका साथीमध्ये कसैले विज्ञान, कसैले व्यवस्थापन, कसैले मानविकी पढे । तर, उनलाई धेरैले नपढेको विषय पढ्नु थियो । एकजना आफन्तको सल्लाहमा उनी फरेस्ट्री पढ्न काठमाडौँ आइन् । तीन वर्षे डिप्लोमा कोर्स सकेर फेरि रुकुम फर्किइन् । त्यहाँ एउटा एनजीओमा काम गर्ने मौका मिल्यो । त्यसलाई उनी जीवनको टर्निङ प्वाइन्ट मान्छिन् । त्यसअघि उनी गाउँलेहरूप्रति खासै संवेदनशील थिइनन् । तर, त्यहाँ काम गर्न थालेपछि उनले गाउँको समस्यालाई नजिकबाट नियाल्न पाइन् । यसबीचमा उनले लोक सेवा आयोगको परीक्षा पनि दिइन् । त्यसमा पास नभएपछि उनी स्नातक गर्न फेरि काठमाडौँ आइन् । 

त्यसताका उनी युट्युबमा थुप्रै मोटिभेसनल भिडियो हेर्थिन् । ‘बायोग्राफी’ पढ्थिन् । फरेस्ट्री पढ्दै गर्दा उनले प्रकृति र संस्कृतिलाई जोगाउँदै पर्यटन गतिविधिमा स्थानीय जनसहभागिता बढाउने कल्पना गर्न थालिन् । कल्पनालाई वास्तविकतामा बदल्न उनी यात्रामा निस्किइन् । एउटा टिमसँग मिलेर १५ दिन उपल्लो डोल्पा फन्को मारिन् । डोल्पालाई लिएर जति सुन्दर शब्द खर्चिए पनि अन्याय हुने उनलाई लाग्यो । नेपाल यति सुन्दर होला भन्‍ने उनले सोचेकी थिइनन् । सिर्जनामा छुट्टै खालको आत्मविश्वास पलायो । यसपछि उनी आफ्नै जिल्लाका थुप्रै ठाउँ डुलिन् ।  लोबुचे हिमाल चढिन् । केही हप्ताअघि मात्रै उनी मार्दी सोलो टे«क गएर आएकी छिन् । 

सोलो ट्राभल गर्दा निर्णय क्षमता बढ्ने अनुभव सिर्जनाले गरेकी छिन् । ‘साथीहरूसँग जाँदा सबैको आ–आफ्नै खालको प्रतिक्रिया हुन्छ,’ उनी भन्छिन्, ‘कुनै डिसिजन गलत भयो भने अर्कालाई दोष लगाउँदैमा यात्रा सकिन्छ ।’ सिर्जनालाई आफैँले रोजेर हिँडेका गन्तव्यले कहिल्यै नबिर्सिने अनुभूति दिएका छन् । त्यसैको ऊर्जाले उनलाई अर्को यात्रामा निस्किन तम्साइरहन्छ । उनी हराएको आफूलाई भेट्न एकल यात्रा गर्छिन् । प्रकृतिबाट उनले सिकेको पाठ हो— जस्तोसुकै परिस्थति आए पनि आफ्नो समयमा फक्रिन, फुल्न र फल्न छाड्नुहुँदैन । 

केही अघिसम्म सिर्जनालाई कसैले ‘छोरी मान्छे’ भन्दा खासै फरक पर्दैनथ्यो । ‘छोरी मान्छेलाई छोरीभन्दा किन रिसाएको होला जस्तो लाग्थ्यो,’ उनी भन्छिन्, ‘कस्तो अवस्थामा भनेको हो त्यसले फरक पर्दो रहेछ । हिजोआज घुम्न निस्केका बेला ‘छोरी मान्छे भएर पनि घुम्न हिँडेको’ भन्यो भने साह्रै रिस उठ्छ । छोरी हटायो भने म पनि मान्छे हुँ । मान्छे त हिँड्छ, डुल्छ, खान्छ, रमाइलो गर्छ ।’

यात्रामा निस्किँदा उनले केहीको मात्र स्याबासी पाउँछिन् । ‘एक्लै घुम्न पठाउने बाआमा कस्ता होलान्,’ ‘कस्तो बेबारिसे जस्तो छाडा छोडेको’, ‘घर–व्यवहार सम्हाल्नुपर्ने बेला झोला बोकेर के लखर–लखर हिँडेको होला’ अधिकांशले दिने प्रतिक्रिया यस्तै–यस्तै हुन्छ । तर, उनी ती प्रतिक्रियाको जवाफ फर्काउन जरुरी ठान्दिनन् । उनी प्रायःजसो मौनतामा डुल्छिन् । 

सोलो ट्राभल टिप्स

उनी कहिलेकाहीँ साथीहरूसँग पनि यात्रामा निस्किन्छिन् । समूहमा हिँड्दा र एक्लै हुँदा बेग्ला–बेग्लै रमाइलो हुन्छ । ‘साथीहरूसँग गयो भने एक ठाउँमा हजार वटा फोटो खिच्न लगाउँछन्,’ उनी भन्छिन्, ‘त्यो बेला न आफूलाई भेट्टाइन्छ न प्रकृतिलाई । एक्लै हुँदा नजिकबाट दुवैको अनुभूति गर्न पाइन्छ ।’ एकल यात्राबाट उनले आफूमा भएका बलियो र कमजोर पक्ष पत्ता लगाएकी छिन् । ‘प्रकृतिलाई अनुभव गर्न पाएकाले नै जीवनमा आइपर्ने परिस्थितिको सामना गर्न सिकेको छु,’ उनी भन्छिन् । 

सोलो यात्रामा निस्किनुअघि आफू जाने ठाउँबारे प्रशस्त जानकारी लिन उनको सुझाव छ । त्यस्तै, प्रकृतिसँग चाहिनेभन्दा बढी चुनौती नलिन, प्रकृतिप्रति संवेदनशील हुन, अरुबाट सहयोगको अपेक्षा नगर्न, खल्ती छामेर मात्र खर्च गर्न उनी सुझाउँछिन् । ‘एक्लै यात्रा गर्दा अरुलाई हेरेर निर्णय गर्नुहुँदैन,’ उनी भन्छिन्, ‘अरुको लहलहैमा लाग्नु हुँदैन । आफूलाई चाहिने लुगा–जुत्तादेखि सबै सामान बोकेर हिँड्नुपर्छ ।’

आफू बस्ने होटल, नजिकैको प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालयको सम्पर्क नम्बर पनि राख्न उनी सल्लाह दिन्छिन् । ‘कतै हराइयो वा कसैले दुःख दियो भने काम लाग्न सक्छ,’ उनी भन्छिन्, ‘तर, यात्रामा भेटिएका जोसुकैसँग सम्पर्क नम्बर साटासाट गर्नु जरुरी छैन ।’

घुम्न जाँदा मौसम एकनासको हुँदैन । घाम लाग्छ भनेको दिन पानी पर्न सक्छ । पानी पर्न सक्छ भनेको दिन थाम्नै नसक्ने गरी हिउँ पर्न सक्छ । ‘जस्तो मौसमलाई पनि स्वीकारेर यात्रा गर्नु नै यात्रीको विशेषता हो,’ सिर्जना भन्छिन् । 

‘घुम्नु मान्छेले सोचेजस्तो महँगो छैन’

उनले यात्रा गरेको फोटो–भिडियो सामाजिक सञ्जालमा राखेपछि धेरैले प्रश्न तेस्र्याउँछन्, ‘हैन यसरी लखर–लखर डुल्ने पैसा कहाँबाट आउँछ ?’ यसमा सिर्जनाको रेडिमेड जवाफ छ । केटा साथीहरूले सोधे भने– तिमीहरूले रक्सी र चुरोटमा उडाउने पैसाले घुम्छु । केटी साथीहरूले सोधे भने– लिप्स्टिक, पाउडर किन्ने पैसाले घुम्छु ।

‘मान्छेले सोचेजस्तो घुम्न महँगो छैन,’ उनी भन्छिन्, ‘डिजाइनर लुगा नलगाउने, क्लब जाने पैसा जोगाउने हो भने घुम्न जति पनि पुग्छ । तर, मान्छेहरूलाई २० हजारको लेहेङ्गा सस्तो लाग्छ । घुम्दा पाँच हजार खर्च भयो भने महँगो लाग्छ ।’ सिर्जना भने लेहेङ्गा किन्ने पैसाले टे«किङ गेयर किन्छिन् । ‘लेहेङ्गा एक पटक लगाएपछि लगाउन मन लाग्दैन,’ उनी भन्छिन्, ट्रेकिङ गेयर एक पटक किनेपछि पटक–पटक काम लाग्छ ।’

सिर्जनालाई लाग्छ, समाज बुझ्न डुल्नैपर्छ । घरबाहिर निस्किनै पर्छ । यसअघि उनलाई गाउँका कुनाकन्दरामा बसेका मान्छेहरू दुःखी छन् जस्तो लाग्थ्यो । तर, डोल्पा पुगेपछि उनलाई लाग्यो मानिसहरू जहाँ पनि खुसी छन् । रेडियो, टेलिफोन, इन्टनेट नभएको ठाउँमा मानिसहरू झन् बढी खुसी छन् । सिर्जनाको नजरमा सामाजिक सञ्जालमा देखेका र भेटेका मान्छे मात्र मान्छे होइनन् । नेपालको दूरदराजमा यस्ता मान्छे पनि छन् जसले बाहिरका मान्छे देखेका छैनन् । घुलमिल हुन सिकेका छैनन् । त्यहाँ जाँदा राम्रो आतिथ्य पाइँदैन । तर, यो उनीहरूको दोष होइन । ‘यो कर्णालीको अहिलेको मुख्य समस्या हो,’ उनी भन्छिन्, ‘पर्यटनमा उनीहरू आकर्षित छैनन् । आफ्नो ठाउँको महत्व उनीहरूलाई बुझाउन सकिएको छैन ।’

पर्या–पर्यटनबारे काठमाडौँमा बैठक गरेर मात्रै नहुने उनी बताउँछिन् । ‘होटल नै खोल्नुपर्दैन, घरकै दालभात खुवाउँदा पनि पैसा आउँछ भनेर हामीले सिकाउन सकेका छैनौँ,’ उनी भन्छिन्, ‘खोलानाला जोगायो भने आफैँलाई फाइदा हुन्छ भन्‍ने मान्छे कोही छैन ।’ सिर्जना आफू घुम्न गएको ठाउँमा यी कुरा सुनाउँछिन् । उनको परिभाषामा घुम्नु केबल घुम्नु र सामाजिक सञ्जालमा फोटो, भिडियो सेयर गर्नु मात्र होइन । आफूसँगै समाजलाई पनि अगाडि बढाउनु हो, प्राकृतिक स्रोत र साधनको महत्व बुझाउनु पनि हो । 

भौगोलिक विकटता चिर्ने सामाजिक सञ्जाल 

सिर्जनालाई कर्णालीमा पर्यटन विकास भएको हेर्ने रहर छ । ‘त्यहाँको भौगोलिक विकटतालाई चिरेर पर्यटकलाई कसरी आकर्षित गर्न सकिएला भनेर सोचिरहन्छु,’ उनी भन्छिन् । भौगोलिक विकटता चिर्ने उनको हतियार हो–सामाजिक सञ्जाल । टिकटक, फेसबुक र युट्युबको प्रयोग गरेर उनले आफ्नो ठाउँको भरपुर प्रचार गरिरहेकी छिन् । सिर्जनालाई आफूले बाँचेका समयलाई क्यामेरामा कैद गर्न मन लाग्छ ।

कुनाकन्दरामा गएर उनी ती भिडियोबाट सामाजिक सञ्जालमा आह्वान गर्छिन्, ‘यो ठाउँ साह्रै बबाल छ है गाइज ! अहिलेसम्म यहाँ आइपुग्नु भएको छैन भने तपाईंको आधा जिन्दगी खेर गयो ।’ सिर्जना भन्छिन्, ‘भाइरल नभएको त्यो ठाउँमा मेरो भिडियो हेरेर एकजना मात्रै गयो भने मेरा लागि ठूलो उपलब्धि हुनेछ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x