समाज

कृषिमन्त्रीकाे राजीनामा माग्दै जनमत पार्टीद्वारा जनकपुरधाममा प्रदर्शन

ज्यान दिन र लिन साहससहित महाआन्दोलनमा सहभागी हुन उपाध्यक्ष अब्दुलको अपिल

सुभाष कर्ण |
पुस ३०, २०७८ शुक्रबार २१:५७ बजे

जनकपुरधाम – किसान समस्या समाधानका १२ बुँदे माँगसहित जनमत पार्टी जनकपुरधाममा किसान महारैली प्रदर्शन गरेको छ ।

जनकपुरधामको रामानन्द चौकबाट सुरु भएको सो महारौली जिरोमाइल, विद्यापति चौक, भानु चौक हुँदै जनक चौकमा पुगी कोण सभामा परिणत भएको थियो । अतिव्यस्त जनक चौकमा प्रहरीको सुरक्षामा करिब एक घण्टासम्म बाटो अवरुद्ध गरी कोण सभा प्रदर्शन गरिएको थियो । 


किसानहरुको सहभागितामा जनमत पार्टीले निकालेको सो महारैलीमा सहभागीहरुले हलो, कुदाल, खुर्पा बाँसका टोकरी लगायतका सामाग्रीहरु बोकेका थिए । सहभागीले कृषि मन्त्री राजीनामा दे, किसानको मांग सम्बोधन गर, प्रदेश सरकार र संघीय सरकार मुर्दाबाद लगायतका नाराबाजी गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुलले किसानसम्बन्धित माग सम्बोधन गराउन भोलिदेखि सरकारविरुद्ध हुने महाआन्दोलनमा ज्यान दिन र लिन साहससहित सहभागिताका लागि तयार रहन अपिल गरेका थिए ।

उनले भने, 'यो एसीमा बसेका बाहिर सरकारलाई किसानको समस्या बारे के थाहा, यिनीहरु आफ्नो आन्दोलन भाड्न लागि परेकोले किसान विरोधी सरकारसँग आफ्नो अधिकारका लागि गोली खाएर ज्यान दिन तयार रहनुपर्छ ।'

उपाध्यक्ष अब्बदुलले माथि संसददेखि स्थानीय तहसम्म सरकारमा बसेकाहरुलाई यही किसान जनताले पुर्‍याएकाे बताए । हामी किसान सत्तामा पुर्‍याउने अधिकार राख्छौं भने सत्ताबाट झार्न जनकारवाही गर्न तरिका पनि थाहा छ । यदि यो सरकार किसानको समस्या समाधान गरेन भने सत्तामा बसेकाहरुलाई जहाँ देखे त्यही कारवाही गर्न सहभागीहरुलाई अपिल गरे ।

महारौलीकै क्रममा जनमत पार्टी धनुषाका सचिव विजय साहले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई र नेपाल सरकारलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले ११ बुँदे मागसहितको ज्ञापन पत्र प्रजिअ पौडेल मार्फत नेपाल सरकारलाई बुझाएका छन् भने पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइ लगायतका ३ बुँदे मागसहित प्रजिअलाई ज्ञापन पत्र दिएका हुन् ।

सो ज्ञापन पत्रमा पक्राउ परेका आफ्ना जिल्ला अध्यक्षसहितका नेता कार्यकर्ताको रिहाइ र आन्दोलनमा घुसपैठ भएर गाडी जलाउनेहरुलाई कारवाही नभए कडाभन्दा कडा आन्दोलनमा जाने र त्यसको जिम्मेवार नेपाल सरकार तथा स्थानीय प्रशासन स्वयं हुने उल्लेख छ।

उनीहरुको ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले नेपाल सरकारसँग गरिएको माँग किसानहरुका लागि जायज रहेकोले आजै पठाइ दिने र पक्राउ परेकाहरुको सम्बन्धमा परेका ज्ञापन पत्रमा घटना बुझेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको सचिव साहले बताए ।

मलखाद्य उपलब्ध गराउ, किसान कार्ड लागू गर, किसान पेन्सन व्यवस्था गर, बालीनाली क्षतिको सुरक्षा बीमा गर लगायतका किसानका समस्यासम्बन्धी विभिन्न ११ बुँदे माग राख्दै जनमत पार्टी विगत एक महिनादेखि आनदोलनरत छन्। तराई मधेशका विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध गरी क्रमागत रुपमा आन्दोलन गर्दै आएका छन्। 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x