समाज

पिस्कर काण्ड : अझै मुटु झस्काउने पञ्‍चायतको त्याे दमन

किशोर बुढाथोकी |
माघ १, २०७८ १९:२९ बजे

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक पिस्करकी पूर्णमाया थामी (६०) अहिले पनि त्यो दिन सम्झिन्छिन् । ३८ वर्ष अघिको त्यो घटना उनका मष्तिष्कमा अहिले पनि ताजै छ । दुई जनाको हत्या भएको त्यतिबेलाको जात्राकी प्रत्यक्षदर्शी उनलाई घटना सम्झँदा अझै त्रास लाग्छ ।

अहिले हरेक वर्ष त्यो समय हत्या भएका दुई व्यक्तिको नाममा स्मृति सभा गरिन्छ । त्यहाँ उनी भक्कानिन्छिन् । घटना सम्झिदा दिनमा भोक हराउँछ, रातमा निन्द्रा ।  उनीजस्तै हरेक वर्ष पुसको अन्तिम रात सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करका स्थानीय राम्ररी निदाउन सक्दैनन् ।


२०४० सालमा भएको त्यो घटना गाउँबासीको मानसपटलमा अमिट छाप बनेको छ । पुरानो कथा दोहोरिन सक्ने सम्भावनाले स्थानीयलाई अझै संशकित हुन्छन् । 

३० पुस २०४० । गाउँमा मेला लागेको थियो । नाटक खेल्ने, गीत गाउने, सभा गर्ने कार्यक्रमहरु भइरहेको थियो । जब, साँझले छोप्योे, मैदानमा जूनको छाँया पर्न लाग्दा झडप सुरु भयो ।

‘हरेक वर्ष मेला लाग्ने गर्दथ्यो,’ स्थानीय लक्ष्मण थामी भन्छन्, ‘एक्कासी नाटक चलिरहेको ठाउँमा झडप भयो, भागाभाग भयो ।’

गाउँमा त्यतिबेला सडक पुगेको थिएन । विजुली बत्ती थिएन । स्थानीयले साँस्कृतिक कार्यक्रम गर्नका लागि उज्यालो दिन मैन्टोलको प्रयोग गरेका थिए । 

‘मलाई याद भएसम्म ३ वटा मैन्टोलको उज्यालो प्रकाशमा कार्यक्रम भइरहेको थियो,’ लक्ष्मणले त्यतिबेलाको घटना स्मरण गर्दै इकागजसँग भने, ‘छेऊमा भएको दुई वटा मैन्टोल ढुंगामुढा गरेर फुटेपछि अँध्यारो भयो, पछि ढुंगामुढा मात्रै होइन गोली चल्यो ।’

गोली चलेपछि भागदौड चल्यो । कतिलाई गोली लाग्यो भन्ने त्यतिबेला कसैले भेऊ पाउन सकेनन् । सबैलाई आफ्नै ज्यानको पिरलो थियो । 

‘म त्यतिबेला १४ वर्षको थिएँ, गोलीको आवाज आएपछि सबै तितरबितर भए,’ उनी सम्झिन्छन्, ‘कोही बारीको पाटा मुनी, कोही उकालोतिर त कोही ओरालोतिर भागे ।’ 

त्यो समय पञ्चायतकाल थियो ।

माघ १ मा स्थानीयस्तरमा पिस्कर गाउँमा बृहत् मेला लाग्ने भएकै कारण अघिल्लो साँझ साँस्कृतिक कार्यक्रम राखिएको हो । तत्कालीन नेकपा मालेले यो ठाउँमा सरकार विरोधी चेतना फैलाउने कार्यक्रम राखेको थियो । त्यतिबेला माले भूमिगत थियो । साँस्कृतिक कार्यक्रममा प्रस्तुत भएका गीत, कविता, नाटकलगायतले पञ्चायतकालको विरोध गरेको थियो ।

कार्यक्रम विथोल्न सरकारी पक्षबाट दमन भएको थियो । त्यही दमनले स्थानीयको खुशी खोसेको लक्ष्मण सुनाउँछन् । जुन घटनाले अहिले पनि उनीहरुलाई झस्काउँछ । आँखाभरी आँशु ल्याउँछ ।

दमनका क्रममा स्थानीय इले थामी र वीरबहादुर थामीले ज्यान गुमाएका थिए । आफ्नै दाजुभाईले ज्यान गुमाएपछि अहिले पनि थामी समुदायमा पुस मसान्त आएसँगै त्यो कहालीलाग्दो घटनाले चसक्क दुखाउँछ ।

‘म सानै थिएँ, त्यो घटना अलिअलि थाहा छ,’ स्थानीय बृद्धा पूर्णमाया भन्छिन्, ‘हामी भाग्यौं, अनि पछि घरबाट निस्कन नै सकेनौं ।’ उनले त्यतिबेला प्रहरीले धेरै गाउँवासीलाई लगेको पनि बताइन् ।

स्थानीयवासीलाई पक्राउ गर्न प्रहरीले त्यतिबेला लुक्ने जुक्ति अनेक गरेको थियो । 

‘घाँस भित्र बस्ने, अँध्यारो ठाउँ पार्नेजस्ता गर्थे प्रहरीहरू’ उनले त्यो बेलाको घटना बताइन् । भागदौड हुँदा रातभर के भयो भन्नेबारे कसैले पत्तो पाएनन् । दुई जनाको ज्यान गएको बिहान मात्रै थाहा भयो ।

घटनालगत्तै गाउँमा त्रास फैलियो । धेरै घाइते भएका थिए । संन्त्रासपछि गाउँमा बालबच्चा र केही महिला मात्रै रहे । हिँड्न सक्नेहरु सबै विस्थापित भए । नसक्ने बृद्धबृद्धा, महिला मात्रै गाउँमा रहेको लक्ष्मण सुनाउँछन् ।

अधिकांश पुरुषहरू भागेर पिस्कर पारीको गाउँ तौंथली हुँदै टेकानपुर पुगेर लुके । युवाहरु सबै धुलिखेल पुगेका थिए । गाउँमा प्रहरी खोज्दै आउँथ्यो तर, बालबच्चा मात्रै देखेपछि प्रहरी फर्कने गर्दथे ।

‘अहिले कसैले त्यो दिनको सम्झना गराइदियो भने घटना देखेकाहरू रुन थाल्छन्,’ त्रिपुरासुन्दरी गाउँपालिका पिस्करका अध्यक्ष भूपेन्द्र श्रेष्ठले भने, ‘किनभने त्यतिबेला धेरैले यातना पाए, दुःख पाए ।’ उनले आँगनमै आफ्ना आफन्तको गोलीबाट मृत्यु भएपछि त्यो दिन अझै यहाँका स्थानीयले सम्झने गरेको बताए ।

पन्चायती ब्यवस्था फाल्ने आन्दोलनका रुपमा पिस्करका स्थानीय बासिन्दा इले थामी र वीरवहादुर थामीले पिस्करको भूमिमा आहुति दिएको स्मरणमा आयोजित स्मृति सभामा थामी समुदाय धेरैले ३८ वर्षअघिको घटना पुनस्मरण गरे । सभा शुक्रबार आयोजना गरिएको थियो ।

वि.स २०४० साल पौष मसान्तका दिन राति भएको घटना पिस्कर काण्डले चर्चित रहेको छ । त्यो समय तत्कालीन मालेका धेरै नेताले जेल नेलको कठोर यातना समेत भोगेका थिए । राज्य विरुद्धको आरोप लागेर कतिले वास स्थान नै छोड्नु परेको कारण गाउँ रित्तो थियो । पिस्करमा त्यो समय रगत बग्नुका साथै मान्छेले झुटा मुद्धाको आरोपमा जेलको सामना गर्दै सत्य र अधिकारका लागि लडेका थिए ।

गाउँमा पुलिसका बुट र लाठी बर्सिएका थिए । बिनाकारण पाएको यो पीडाले थप मानिसमा आक्रोश पनि बढ्यो । र, यसले तत्कालीन शासन व्यवस्थाविरुद्ध थप आवाज बुलन्द गर्न ऊर्जा मिल्यो । यसलाई पञ्चायती शासकको दमनको उदाहरणका रूपमा उनीहरुले लिने गरेका छन् । 

माघेसंक्रान्तिको यो घटना हुनुभन्दा करिब ५ दिनअघि मालेका नेता अमृत बोहरा र माधव पौडेल पिस्कर पुगेका थिए । कार्यक्रमको आवश्यक व्यवस्था मिलाएर उनीहरू काठमाडौं फर्केका थिए । तर, प्रहरीले पार्टीका उच्च नेतृत्व नै सो कार्यक्रममा सहभागी हुने सूचनाका आधारमा आक्रमण गरेको थियो ।

थुप्रै स्थानीय बासिन्दालाई प्रहरीले गिरफ्तार गरेको थियो । त्यसबेलाका स्थानीय नेता प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपाल, वाग्मती प्रदेश सामाजिक विकास मन्त्री सरेश नेपालहरू घाइते भएका थिए । उनीहरूसहित नेताहरू मेघनाथ पौडेल, छत्रबहादुर बोहरा, मानबहादुर थामीलाई सरकारले जेल हालेको थियो । 

घटनालगत्तै हत्या र दमनको देशव्यापी विरोध तथा प्रतिवादको योजना अघि सारिएको थियो। मानव अधिकारको हनन् भएको निचोडसहित सञ्चार तथा मानवअधिकारवादी संस्थाहरू परिचालित भएका थिए । यस हत्याकाण्डको देशव्यापीरूपमा विरोध भएको थियो । यसलाई अन्तर्रा्िष्ट्रयकरण गर्ने काम पनि भयो । 

जसले दरबारलाई समेत समस्यामा पारेको थियो । त्यसबेला राजाका निकट मानिने व्यक्तिले पनि घटनाको विरोध गरेको नेताहरू बताउँछन् । संघर्षको परिणामस्वरूप पिस्कर क्षेत्रमा गरिएका नाकाबन्दी हटाउन र केही मात्रामा भए पनि दमन खुकुलो पार्न सरकार बाध्य भएको त्यतिबेला संघर्षमा उत्रिएका नेताहरूको भनाइ छ । 

त्यस घटनाको ६ वर्षमै देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । मन्दिरमा लागेको मेलामा प्रहरीले दमन गरेर मान्छे मारेको घटना यसअघि नेपालमा भएको थिएन । त्यसकारण पनि यसले तत्कालीन व्यवस्थाप्रति जनधारणा नकारात्मक बन्दै गएको थियो । प्रजातन्त्रका लागि लडेका यहाँका स्थानीयले अहिले गणतन्त्र देख्न पाएको र विकासको लागि गाउँपालिकाले काम गरिरहेको गाउंपालिका अध्यक्ष श्रेष्ठले बताए ।

‘उहाँहरूको सम्झनामा सहिद गेट र सालिक निर्माण गरेका छौं,’ उनले भने, ‘गाउँपालिकाको अगुवाइमा उहाँहरूको सम्झनामा अन्य पूर्वाधारसमेत निर्माण भइरहेको छ ।’ सालिक र गेट प्रदेश सरकार तथा स्थानीय सरकारको बजेटमा निर्माण गरिएको हो ।

अहिले संग्रहालय र पार्क निर्माण भइरहेको छ । तीन करोड रुपैयाँको लागतमा सहिदको सम्झनामा निर्माणाधीन पार्क र संग्रहालय अन्तिम अवस्थामा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 



Author

थप समाचार
ad
x