समाज

प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

इकागज |
माघ १, २०७८ शनिवार १९:२१ बजे

फाइल तस्बिर

म्यान्म -  संघीय सरकारले महत्वका साथमा सुरुआत गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्कुलमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा उपचार हुने भएकाले प्रभावकारी रहेको पाइएको हो ।

कालीकोटको खाँडाचक्र नगरपालिकाको वडा नं ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा ममता आचार्यले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहजरूपमा विद्यालयमै उपचार पाएको बताइन् । 'पहिले महिनावारी हुँदा विद्यालयमा स्यानेटरी प्याड नपाउँदा समस्या हुने गरेको थियो', उनले भनिन्, 'अहिले भने निःशुल्क स्यानेटरी प्याड र प्रथामिक उपचार पाउँदा सहज भएको छ ।'


महिनावारी भएको बेला विगतमा स्वास्थ्यचौकी वा मेडिकलबाट स्यानेटरी प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्यायनमा समेत बाधा पुग्दै आएको आचार्यको भनाइ छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको एक वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको जनजीवन माध्यामिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर शाहीले बताए । 'विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुका साथै समग्र विद्यालयको विकास भएको छ', उनले भने, 'छात्रा महिनावारी भएको समयमा विद्यालय आउने छात्राको शतप्रतिशत बढ्दै गएको छ ।'

कार्यक्रम सञ्चालनमा आएसँगै विद्यालयमा, विद्यार्थीको स्वास्थ्य जाँच, प्रजनन स्वास्थ्य, हेल्थ प्रोफाइलजस्ता गतिविधि सञ्चालन भएको स्कुल नर्स प्रतिभा शाहीले जानकारी दिइन् । 'यो कार्यक्रमले किशोरीको स्वस्थ्य सुरक्षित बनाएको छ', उनले भनिन्, 'विशेष गरेर किशोरीले महिनावारीको समस्याबारे खुलेर भन्न सकिरहेका हुँदैनन् ।' 

महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरूले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । खाँडाचक्र नगरपालिकाको वडा नं ६ को सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा अरुणाकुमारी शाहीले विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताइन् ।

'विद्यालयमा महिनावारी हुँदा अगाडि पछाडि बसेका साथीले जिस्क्याउने गर्थे', उनले भनिन्, 'तर अहिले विद्यालय नर्सले जस्तोसुकै समस्या आउँदा औषधि उपचारका साथै सामग्री वितरण गर्ने भएपछि सजिलो भएको छ ।' महिनावारीकै कारण धेरै दिन पढाइ छुटाउनुपर्ने बाध्यता थियो तर अहिले हाम्रो विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यालयमा नियमित आउने गरेको स्कुल नर्स पार्वती शाहीले बताइन् । रासस


Author

थप समाचार
x