समाज

यसरी हुन्छ नेपाल हुँदै अमेरिका मानव तस्करी

किशोर बुढाथोकी |
माघ ९, २०७८ आइतबार १९:३५ बजे

घटना १
दुई साताअघि करिब ३५ लाख रुपैयाँ ठगी गरी दुई व्यक्तिलाई अमेरिका पुर्‍याइदिने सपना देखाएकी दाङस्थित तुल्सीपुरकी २४ वर्षीया सुधा देवकोटा पक्राउ परिन् । उनले श्रीमान् मुक्तिनारायण केसीसँगको मिलेमतोमा अमेरिका लगिदिने भन्दै बबरमहल–४ (परिवर्तित नाम) र बबरमहल–९(परिवर्तित नाम)लाई बीचमै अलपत्र पारेकी थिइन् । नेपालबाट बोलेभिया हुँदै अमेरिका जाने भनी जाकार्तामा लगेर बेचबिखन गरेको आरोप लागेकी सुधालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो । बेचबिखनमा संलग्‍न उनका श्रीमान् मुक्तिनाराण भने अझै फरार छन् ।

घटना २


दुई युवतीलाई अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर बेचबिखन गरेको आरोप लागेका एक गिरोह अझै फरार छन् । सिंहदरबार ५४ र सिंहदरबार ‘क’ (प्रहरीले राखेको नाम)सँग ४१ लाख ६० हजार रुपैयाँ ठगी गरी अमेरिकाको सपना देखाउने सिंगो गिरोह नै कानुनी दायरामा आउन सकेका छैनन् । यी दुई युवतीलाई अमेरिका पठाउने भन्दै बीचमै याताना दिई बन्धक बनाएको आरोप लागेका रमित थापा, विमला लामा, राम यादव, रबिन कार्की, चिरञ्जीवी शाह, पूर्ण लामालगायतका गिरोहमाथि जाहेरी परेको हो ।

घटना ३

रोहिंग्या शरणार्थीलाई अमेरिका लैजान खोज्ने बंगलादेशी नागरिकलाई प्रहरीले गएको असोजमा काठमाडौंको कपनबाट पक्राउ गरेको थियो । शरणार्थीका परिवारसहितलाई नेपालको नाका हुँदै अमेरिका लैजाने प्रलोभन देखाई भारत हुँदै तस्कर गर्न लागेको सुराकी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बंगलादेशी नागरिक आजमत अलि, म्यानमारका नागरिक सोफिक आलम र रोहिंग्या शरणार्थी नूर अमिन पक्राउ परेका हुन् । उनीहरूले बंगलादेशमा शरण लिइरहेका शरणार्थीलाई नेपाल सरकारले भत्ता दिने र अमेरिका लैजाने सपना देखाएका थिए ।

विभिन्‍न समय र स्थानमा नेपाल हुँदै अमेरिकासम्म पुग्‍ने सपना देखाई बीचमै अलपत्र भएका यी प्रतिनिधि घटना हुन् । पछिल्ला वर्षदेखि अमेरिका मोहमा नेपालीहरू बढेका कारण बीचमै फस्‍नेहरूको संख्या पनि बढेको हो । जसकारण अमेरिका पुर्‍याइदिन्छु भन्दै तस्करहरूसमेत सल्बलाएका हुन् ।

अमेरिका जाने भन्दै जाकार्तामा फसेकी बबरमहल–४ (परिवर्तित नाम)लाई सुधा दम्पती मिलेर अमेरिका पुग्‍नका लागि २७ लाख रुपैयाँ मागेका थिए । उनले मासिक ३ लाख रुपैयाँ कमाइ हुने आश्वासनसमेत पाएकी थिइन् । उक्त प्रलोभनमा केसीका भान्जाले सात हजार अमेरिकी डलर बराबरको रकम साट्न लगाएर पीडितसँग पटकपटक गरी १९ लाख १० हजार रुपैयाँसमेत लिएका थिए ।

२५ जनवरी २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डोनेसियाको बालीका लागि उनी उडेकी थिइन् । ‘त्यहाँबाट मलाई जाकार्तामा पुर्‍याइएको थियो, पछि बोलेभिया हुँदै अमेरिका जाने भनी जाकार्ताको एयरपोर्टमा पुर्‍याउँदा सेटिङ नमिलेको भनी फर्काइ दियो,’ पीडित भन्छिन्, ‘पुनः इथोपियामा पठाएर मेक्सिको हुँदै अमेरिका जानुपर्छ भन्दै एउटा कोठामा राखियो ।’ 

जाकार्तामा ७ महिनासम्म शारीरिक तथा मानसिक यातना दिई बन्धक गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोमा दिइएको जाहेरीमा उल्लेख छ । सो बन्दकीबाट उम्किएर भाग्दै गर्दा जाकार्ताको इमिग्रेसनबाट उनी नियन्त्रणमा परेकी थिइन् । १४ दिन जेलमा बसेर १३ मंसिर २०७६ मा नेपाल फर्किएपछि उनले सुधा र उनकी पतिविरुद्ध जाहेरी दिइन् ।

त्यस्तै, आफ्नै देशमा कुनै रोजगारी गरौं भने मनशाय बोकेकी सिंहदरबार ५४(प्रहरीले राखेको नाम) पनि अमेरिका जाने मोहमा फसिन् । सामान्य लेखपढ मात्रै जानेकी उनले रोजगारी पाउने सम्भावना नभएपछि वैदेशिक रोजगारका नाममा हुने बेचबिखनको जालमा फस्‍न पुगेकी हुन् । उनलाई अमेरिकामा ‘राम्रो कमाइ’ हुने आश्वासन दिलाइएको थियो ।

सिंहदरबार ५४ लाई आफ्नै भिनाजुले फसाएका थिए । वैदेशिक रोजगारीमा जाने कुरा उनले भिनाजुलाई भनेकी थिइन् । भिनाजुमार्फत जेम्स भनिने पूर्ण लामा भेटिएपछि उनमा अमेरिका मोह झनै फैलिएको थियो । उनी लामाको ‘आश्वासन जाल’मा फसेकी थिइन् । ‘मैले लामाको ह्वाट्स अपमा सम्पर्क गरे । उनले आफू म्यानमारमा भएको बताएका थिए,’ उनले भनिन्, ‘लामाले काठमाडौंमा काम गर्ने अर्कै साथीलाई सम्पर्क गराइदिए ।’ उनले जेम्स बोस नाम गरेको लामाको ह्वाट्स एप आइडीमा सम्पर्क गरेकी थिइन् । लामाले दरबारमार्गमा रहेको होलिल्यान्ड ट्राभल एन्ड टुरिजम प्रालिका सञ्चालक रमित थापालाई भेट गराएका थिए । 

‘उहाँले सम्पर्क गरेर महिलाका लागि राम्रो काम आएको छ भन्‍नुभयो,’ उनले मानव बेचबिखन अनुन्धान ब्युरोमा दिएको जाहेरीमा उल्लेख गरेकी छन्, ‘प्रतिमहिना ३ लाखसम्म कमाइ हुने र सुपरमार्केटमा सेल्स म्यानको काम गर्नका लागि टिकट खर्च बाहेक थप तीन लाख खर्च लाग्दछ भनी विश्वास दिलाए ।’ 

उनले त्यतिबेला रमितलाई राहदानीसहित दश लाख रुपैयाँ बुझाएकी थिइन् । पछि उनका गिरोहहरूमध्ये सोही दिन ग्लोबल आईएमई बैकमा चिरञ्जीवी शाहको खातामा पैसा जम्मा पनि जम्मा गरेको उनको भनाइ छ । पटकपटक गरी दुई जनाको ४१ लाख ६० हजार रुपैयाँ गिरोहको हातमा परेको थियो । त्यसपछि विदेश पठाउनका लागि प्रक्रिया बन्द भएको भन्‍न थालेको उनको भनाइ छ । पटकपटक कार्यालयमा भेट गर्न गएपछि अमेरिकाकै अर्कै भीसा मिलाइदिने अर्काे आश्वासन उनले पाइन् ।

नभन्दै, २०७७ फागुन ३०मा उनको उडान हुने भयो । थापाले काठमाडौंको एअरपोर्टमा लगेर मनिलामा पूर्ण लामा लिन आउँछन् भन्दै उनीलाई छाडेका हुन् ।
‘मनिलामा पूर्ण लामालाई भेट भयो, उनले नजिकैको होटलमा लगेर राखे,’ उनी भन्छिन्, ‘उनले अमेरिकाका लागि कागजपत्र बनाउन समय लाग्‍ने भन्दै होटलमा दुई महिनासम्म राखेका थिए ।’

अनि, बिरानो मुलुकमा उनका दुःखका दिन सुरु भयो । होटलमा समयमा पर्याप्त खाना नदिने, घर परिवारसँग सम्पर्क गर्न नदिने, कोठाबाट बाहिर निस्किन नदिनेजस्ता काम हुन थालेको हो । अमेरिका नलैजाने भए पैसा फिर्ता गर्नु, नेपाल फर्कन्छौं भनेपछि उनलाई लामाले यहाँ बिक्री गरिएको जानकारी गराएका थिए । पीडितहरूले रमित लामालाई अठार लाख तीस हजार, विमला लामाको नाममा पठाएको दश लाख ३० हजार, राम यादवको खातामा पठाएको ६ लाख, बिजनेश  टे«डस चितवनको खातामा पठाएको ४ लाख, र रबिन कार्कीलाई नगदै ३ लाख रुपैयाँ अमेरिका लगिदिने भन्दै दिएका थिए । 

यसअघि मानव बेचबिखन भारतमा हुने गरे पनि वैदेशिक रोजगारीका नाममा अहिले ठूलो गिरोहले चलखेल गर्ने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोले गरेको अनुसन्धानबाट नेपाल हुँदै अमेरिकासम्म हुने मानवतस्करको रुट उस्तै प्रकृतिको हुने गरेको पाइएको छ ।

ब्युरोका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले अमेरिका लगिदिने भन्दै विभिन्‍न देशमा अलपत्र पार्नेहरूको संख्या बढेको बताए ।अनुसन्धानअनुसार नेपालबाट दुबई–मस्को–इटाली–बोलेभिया–पेरु–फिलिपिन्स–कोलम्बिया–पानामा–कोयटारिका–होन्डुरस–ग्वाटेमाला–मेक्सिको हुँदै अमेरिकासम्म मानव तस्कर हुने गरेको पाइएको ब्युरोले जनाएको छ । ‘सञ्जाल निकै ठूलो हुने गरेको पाइएको छ, सिधै बेचबिखन जस्तो नदेखिने र वैदेशिक रोजगारीका लागि जान लागेको देखिने हुँदा नियन्त्रणमा समस्या देखिएको छ,’ धमलाले भने ।

विदेशमा लामो समय अलपत्र परेर नेपाल फर्केपछि उजुरी गरिने हुँदा पीडकलाई पक्राउ गर्न गाह्रो हुने गरेको प्रहरी बताउँछ । ‘पीडकहरूको वास्तविक नाम, ठेगाना पीडितलाई स्पष्ट रुपमा थाहा हुँदैन,’ उनले पीडकको पहिचान गर्न कठिन हुने गरेको सुनाउँदै भने, ‘विदेश जाने क्रममा श्रम सम्झौता नगर्ने, हवाई मार्गको प्रयोग नगरी पैदल वा बसमा लामो यात्रा गर्ने र आफूसँग भएको टिकट, भिसाहरू नेपाल फिर्ता आउँदा साथमा नल्याउने गरेकाले अनुसन्धानमा प्रमाणको अभाव हुने गरेको छ ।’

पीडितहरू सहजै विश्वासमा परी अवैध बाटो हुँदै विदेश जाने गरेका कारण उनीहरूले दिएको पैसाको भर्पाई, बैंकमा पैसा जम्मा गराएको भर्पाई वा आइएमई गरेको कुनै प्रमाण नहुनु अर्काे समस्या हुने गरेको उनले बताए । विदेशमा गरिने मानव तस्करमा संलग्‍नहरूको सम्पर्क विभिन्‍न देशमा हुने गर्दछ । एक सिजनमा धेरैलाई प्रलोभनमा पारी मानव तस्कर गरेपछि पीडकहरू आफैँ विदेश गएर बस्‍ने गरेको पाइएको उनको भनाइ छ । ‘जसकारण उनीहरूलाई पक्राउ गर्न निकै कठिन हुने गर्छ’ उनले भने ।

विदेशमा नै बसेर अपराध गर्ने तर, नेपाल नआउने गरेकाले प्रायः जस्तो देशसँग नेपालको सुपर्दगी सन्धी नभएका कारण प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याउन नसक्दा अपराध न्यूनीकरणमा समस्या भएको ब्युरोले जनाएको छ ।

ब्युरोको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा एक हजार ६० बेचबिखनका मुद्दा दर्ता भएका छन् । तीमध्ये अधिकांश वैदेशिक रोजगारीका क्रममा भएका मुद्दाहरू धेरै छन् । तीमध्ये एक हजार तीन सय ५३ महिला र २११ पुरुष पीडित छन् । उनीहरूलाई बेचबिखन गरेको आरोपमा एक हजार पाँच सय ९४ पुरुष ५८२ महिलाको नाममा उजुरी परेको छ । तीमध्ये ६०३ पुरुष र १७६ महिला पक्राउ परेको ब्युरोले जनाएको छ ।


Author

थप समाचार
x