समाज

एसएसबीले दशगजामा बनाएको सुरक्षा पोस्ट हटायो

इकागज |
माघ १०, २०७८ सोमबार २०:३२ बजे

विराटनगर – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माण गरेको सुरक्षा पोष्ट हटाएको छ । मोरङ प्रशासनले भारतीय प्रशासनसँग समन्वय गरी पोस्ट हटाउन गरेको आग्रहपछि सोमबार एसएसबीले पोष्ट हटाएको हो । 

एसएसबीले विराटनगर महानगरपालिका–१६ दरैया र जोगवनीको टिकुलिया बस्तीबीचको दशगजामा सुरक्षा पोस्ट निर्माण गरेको थियो । त्यहाँ हतियारसहितका सुरक्षाकर्मी तैनाथ हुँदै आएका थिए । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित जिल्लास्थित सुरक्षा निकायको समन्वयमा उक्त पोस्ट हटाउन आग्रह गरिएको थियो ।


अनुगमनका क्रममा दशगजामै सुरक्षापोस्ट राखेको पाइएपछि सशस्त्र प्रहरीसँगको समन्वयमा पोस्ट हटाउन भारतीय सुरक्षा अधिकारीहरुलाई आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकार दाहालले जानकारी दिए ।

आग्रहअनुसार नै भारतीय पक्षले अस्थायी रुपमा बनाएको पोष्ट सोमबार दशगजाबाट आफ्नो क्षेत्रमा सारेको प्रजिअ दाहालले बताए ।

‘दशगजाभित्रै सुरक्षा पोस्ट देखिएकोले भारतीय पक्षलाई पोष्ट सार्न आग्रह गरिएको थियो, उनीहरुले कोभिडमा आवश्यक सुरक्षाका लागि भन्दै अस्थायी पोस्ट राखेको बताएका थिए’ प्रजिअ दाहालले भने, ‘सोमबार पुनः अनुगमन गर्दा पोस्टलाई दशगजाभन्दा बाहिर सारेको पाइएको छ ।’

विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले भारतीय पक्षले दशगजामै भारतीय सुरक्षाकर्मीको पोस्ट राखेको विषयमा इलाका प्रहरी कार्यालय रानी र शसस्त्र प्रहरी बलको सीमा सुरक्षा टोली जानकारी गराएका थिए । 

भारतीय पक्षले अन्तर्राष्ट्रिय सिमामा कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुनविपरित दसगजामै पोस्ट बनाएर एसएसबीलाई राखेपछि चौतर्फी विरोध भएको थियो । पोस्ट  हटाएपछि त्यसको जानकारी गृह मन्त्रालयमा समेत पठाइसकेको प्रजिअ दाहालले जानकारी दिएका हुन् ।


Author

थप समाचार
x