समाज

रोगभन्दा भोकको चिन्ता: महामारीकैबीच लालाबालासहित भारत पस्‍न थाले सुदूरपश्‍चिमेली

इकागज |
माघ ११, २०७८ मंगलबार १०:३४ बजे

कैलाली - कोभिड-१९को तेश्रो लहर फैलिएपछि भारतबाट स्वदेश फर्किएका नेपालीहरू पुन: लालाबालासहित भारत तिरै फर्कन थालेका छन् । नेपालमा आम्दानीको स्रोत नभएपछि भोकको चिन्ताले रोगको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका हुन् ।

गाउँ-शहरमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न सहर जाने क्रम बढेको हो । अहिले यहाँको मुख्य नाका गौरीफन्टाबाट भारत पस्नेको दिनहुँ भिड लाग्ने गरेको छ ।


कोभिड-१९ महामारीकै बिच दैनिक सयौँ सुदूरपश्चिमेलीहरू भारत पस्न बाध्य भएका छन् । स्वदेशमा रोजगारीका कुनै पनि अवसर नभएपछि फेरि ज्यानको बाजी राखेर पुन: भारत जानुपर्ने बाध्यता भएको उनीहरूको दुखेसो छ ।

गाउँमा बस्दा रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेपछि आफूहरू मुग्लान पस्नु पर्ने बाध्यता आएको डोटीका रामबहादुर ढाट बताउँछन् । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी तथा डोटीलगायतका जिल्लाका नागरिक कामकै लागि बर्सेनि भारत जाने परम्परा छ । यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी अछाम, बाजुरा तथा डोटीका नागरिक कामका लागि बढी भारत पस्ने गरेका छन् ।


Author

थप समाचार
x