समाज

सात दिनदेखि युवा बेपत्ता

इकागज |
माघ १२, २०७८ बुधवार ९:५५ बजे

मङ्गलबारे - इलामका एक युवा सात दिनदेखि बेपत्ता छन् । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएका हुन् । 

विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौँ गएका थिए । क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत भारत गएका थिए। विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत जानु भएका उनी भारतबाट नै सम्पर्कविहीन भएको बताइएको छ ।


भारतको गुलाफ होटलमा बसेकोसम्म जानकारी भए पनि त्यहीँबाट सम्पर्कविहीन भएको उनका भाइ पुकार बस्नेतले जानकारी दिए । उनका अनुसार बास बस्नका लागि होटल बुक गरेर बस्नेतलाई होटलमै छाडेर सँगै गएका पोखराका आशिष रानाभाटसहितको टिम फर्किएर आउँदा बस्नेत होटलमा नरहेको बताइएको छ । त्यहीँबाट बस्नेत सम्पर्कविहीन भएको आशिषले बताए । उनीसँग रानाभाटसहित मोरङका मनप्रसाद योङहाङ, मनबहादुर योङहाङ र कल्याण राईसमेत रहेका थिए ।

परिवारका सदस्य बेपत्ता भएपछि बस्नेत परिवारमा चिन्ता छाएको छ । बस्नेत परिवारले घटनाका बारेमा थप बुझीदिन र सम्पर्कविहीन व्यक्तिको खोजी गरिदिन सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । बस्नेत होटलबाट एक्लै घुम्न जाँदा पुनः होटल नचिनेर सम्पर्कविहीन भएको वा अन्य केही भएको भन्नेबारे अन्योल छ । बस्नेत परिवारले म्यानपावरसँग समेत खोजी गरिदिन आग्रह गरेको छ । रासस


Author

थप समाचार
x