समाज

बिइङ ह्युमनका सञ्‍चालक बख्रेल: यस्तो छ अपराधका शृंखला

लागूऔषध र राजश्व छलीका दुई/दुई मुद्दा

किशोर बुढाथोकी |
माघ १७, २०७८ सोमवार २०:२१ बजे

काठमाडौं– केही दिनअघि बजारमा चलेको हल्ला प्रहरीको कानमा पनि पुग्यो । ‘बजार भाउभन्दा निकै सस्तोमा ब्रान्डेड मदिरा पाइन्छ ।’

त्यही ‘क्लू’लाई प्रहरीले केही गडबड छ भन्ने शंका मानेर अनुसन्धान थाल्यो । महानगरीय अपराध अनुसन्धान महाशाखाले एउटा अप्रेसन नै चलायो यो विषयमा । अप्रेसन लिमा नाम दिएर सुरु गरिएको यो अप्रेसन सफल पनि भयो। 


गएको शुक्रबार भन्सार छलीका मदिरासहित पर्सा घर भई हाल बूढानिलकण्ठ बस्‍ने सन्तोषचन्द्र बख्रेल पक्राउ परे। चेभास, एब्सुलेट भोड्का, ब्लायक लेबललगायतका मदिरा भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको अवस्थामा प्रहरीले उनीसहित चार जनालाई पक्राउ गरेको थियो । 

उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरासहित बख्रेल र उनका थप तीन साथी पक्राउ परे। राजस्व छलेको आरोपमा जब उनी पक्राउ परे तब उनका थप गैरकानुनी क्रियाकलाप सतहमा आउन थाल्यो ।

प्रहरीका अनुसार उनी वर्ष दिनअघिकै फरार प्रतिवादी थिए । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी एवं सूचनाअधिकारी जीवनकुमार श्रेष्ठले २०७६ पुसदेखि नै उनी फरार रहेको जानकारी दिए ।

‘उनी महाशाखाले राजश्व छलीको मुद्दा चलाउनुअगावै फरारको सूचीमा थिए, उनको खोजी भइरहेको थियो,’ ब्यूरोका सूचनाअधिकारी श्रेष्ठले इकागजसँग भने, ‘यसअघि नै उनीमाथि अर्कै अप्रेसन चलिरहेको थियो।’ उनका अनुसार २०७६ पुसमा करिब १४ लाख ७४ हजार ट्रामाडोल क्यापसुल बरामद गरिएको थियो। त्यसमा बख्रेलको पनि संलग्नता थियो । 

प्रहरीका अनुसार ट्रामाडोल नियन्त्रित औषधि हो। डाक्टरको प्रेस्किप्सनविना यसको बिक्री वितरण तथा सेवन गर्न पाइँदैन। 

त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोमै उनीविरुद्ध अर्काे मुद्दा छ । त्यो हो नियन्त्रित लागूऔषध ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको अर्को मुद्दा। यसमा उनी पनि संलग्न रहेको ब्यूरोले जनाएको छ । ब्यूरोले आज (सोमबार) प्रेस विज्ञप्ति जारी गरी यो मुद्दामा संलग्न भएकाहरुलाई सार्वजनिक गरेको थियो ।

ब्यूरोले पक्राउ पर्नेमा गोकुलदगंगा गाउँपालिका–१ घर भई सिफल बस्दै आएका सुनिल भन्ने २५ वर्षीय निमा दोर्जे शेर्पा, चैनपुर नगरपालिका–८ बझाङ घर भई हाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका २९ वर्षीय उमेश कुमार केसी, म्यगङ गाउँपालिका–५ नुवाकोट घर भएका ३४ वर्षीय राजाराम दवाडी, मध्यनेपाल नगरपालिका–१ लमजुङ घर भई टोखा बस्दै आएका ३८ वर्षीय बद्रीनाथ पौडेल र ३० वर्षीय पेम्बा शेर्पा रहेको जनाएको छ । यो २५ दिनअघिको मुद्दा हो।

ब्यूरो र औषधि व्यवस्था विभागले संयुक्तरुपमा नियन्त्रित औषधि ट्रामाडोल करिब २१ हजार क्याप्सुलसहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार पठाइएको छ।

लागूऔषध ओसारपसारमा संलग्न रहेका उनका भाञ्जालाई प्रहरीले पक्राउ गरेपछि उनको पोल खुलेको थियो । अनुसन्धानका क्रममा उनका भाञ्जाले सन्तोषको नाम खुलाएका थिए । उनको खोजी हुँदै गर्दा महाशाखाले अप्रेसन लिमामार्फत पक्राउ गरेकै व्यक्ति भनेर पहिचान भएको ब्यूरोका सूचनाअधिकारी श्रेष्ठले बताए । 
‘बख्रेलको आपराधिक क्रियाकलाप विस्तारै खुल्दैछ,’ श्रेष्ठ भन्छन्, ‘ अन्य थप हुन पनि सक्छ ।’

बख्रेल बिइङ ह्युमन क्लोथिङ नेपालका सञ्चालक हुन् । भन्सार छलीको मदिरा बिक्री गरेको आरोपमा पक्राउ परेका बख्रेल थप तीन आपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको हो ।

पक्राउ परेको दोस्रो दिन नै उनले सुर्तीजन्य पदार्थ र कस्मेटिककोसमेत व्यापार गर्ने गरेको खुलासा भएको थियो । नयाँ बजारको खुसिंबुमा रहेको बख्रेलको गोदाम छापा मार्दा प्रहरीले थप सामग्री राजश्व छली गरेर ल्याइएको भेटिएको थियाे ।

अनुसन्धानबाट खुल्दै जाँदा उनले कस्मेटिककोसमेत व्यापार गर्ने गरेको पाइएको थियो । सोअनुसार उनको गोदाममा प्रहरीले छापा मार्दा त्यहाँ पनि राजश्व छलीका सामान भेटिएको हो।

उनै बख्रेल लागूऔषध सम्बन्धी दुईवटा कसूरमा जोडिएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

मदिरापछि ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ तथा कस्मेटिक सामानहरू बरामद गरेसँगै उनी राजश्व छलीमा लामै समयदेखि संलग्न रहेको पुष्टि हुन आएको प्रहरीको भनाइ छ ।

महाशाखाको विशेष टोलीले बख्रेलले  भन्सार छली ल्याएको सूर्तीजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू बरामद गरेको एसपी कोइरालाले इकागजलाई बताए । ‘बोरामा सुर्ती ल्याएर यहीं प्याकिङ गर्ने गरेका रहेछन्,’ उनले भने, ‘तर, मेड इन इन्डिया लेखेको प्याकेटमा प्याकेजिङ गर्ने गरेको पाइयो ।’ 

काठमाडौंको खुशिंबुस्थित घर भाडामा लिई ठूलो परिमाणमा भण्डारण गरी राखेको अन्दाजी ५० लाख बराबरको सामान बरामद गरी अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सुर्तीका धुलो दुई हजार ५ सय केजीका एक सय बोरा, सुपरपावर सुर्ती ५ सय ८० केजी, विभिन्न ब्रान्डका चुरोटहरू, स्याम्पु तथा लेडिज कपडाहरू बरामद गरिएको हो ।

बलिउड अभिनेता सलमान खानको च्यारिटी कम्पनीले चलाएको बिइङ ह्युमन क्लोथिङ नेपालमा राजु थापाले चलाउँदै आएका थिए । यसको स्वामित्व बख्रेलले लिएका थिए । सोही बिइङ ह्युमेनमा केही समयअघि परेको ७० लाखको केसमा समेत उनी संलग्न रहेको आरोपसमेत लाग्दै आएको छ ।

दुई राजश्व छली र दुई लागूऔषध मुद्दा परेको बख्रेललाई महाशाखाले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पठाएको छ । त्यहाँको कारबाही प्रक्रिया ब्यूरोले बख्रेलमाथि थप अनुसन्धान गर्नेछ । लागूऔषधको मुद्दा भने औषधि व्यवस्था विभागले हेर्नेछ ।
 


Author

थप समाचार
x