समाज

अपराधमा युवती : मानव तस्करीदेखि हत्यासम्म

किशोर बुढाथोकी |
माघ १८, २०७८ मंगलबार १८:२१ बजे

- १३ तोला सुन र एक लाख एक हजार रुपैयाँ चोरीको आरोपपछि पक्राउ परेकी २० वर्षीया युवती कञ्चन पराजुलीलाई सिन्धुपाल्चोक अदालतले आइतबार थुनामा राख्ने आदेश दियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको घरमा चोरी डाँका अभियोगमा सुनकोशी गाउँपालिका–६ कि पराजुलीलाई न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको हो । पत्रकार श्रेष्ठको घरमा भाडामा बस्दै आएकी पराजुलीको निर्देशनमा आफूलाई ४० र अन्य चोरीमा संलग्न हुनेहरूलाई ६० प्रतिशत भाग लगाउने सम्झौताअनुसार चोरी गरिएको अनुसन्धानबाट खुलेको छ । उनले चोरीमा थप तीन जनालाई संलग्न गराएकी थिइन् ।

-  गएको असोजमा दैलेखका मालिका माविका शिक्षक नगेन्द्रकुमार बिसी हत्या गरिएको अवस्थामा उनको शव विद्यालयको बरण्डामा फेला पर्‍यो । शवको प्रकृतिअनुसार उनको घाँटी रेटेर हत्या भएको थियो । त्यो आरोपमा पक्राउ परिन्, गुराँस गाउँपालिका–८ की २५ वर्षीया मुना राना । व्यक्तिगत रिसइवीका कारण शिक्षक विसीको हत्या गरेको रानाले प्रहरीसामु स्वीकार पनि गरेकी थिइन् ।


- अघिल्लो सोमबार ब्राउनसुगरसहित प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट दुई युवतीलाई पक्राउ गर्‍यो । अवैध लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा धनकुटा मुगा नगरपालिका–७ घर भएकी २९ वर्षीया रेनुका तामाङ र बुढानिलकण्ठ नगरपालिका एकताबस्ती बस्ने धनुषा धनुषाधाम नगरपालिका–९ घर भएकी २१ वर्षीया लक्ष्मी लामा थिए । उनीहरूको साथबाट प्रहरीले ब्राउन सुगरसमेत बरामद गरेको हो । लागूऔषध बोकेर हिँडिरहेको अवस्थामा उनीहरू बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीको फेला परे ।

- म्युजिक भिडियोमा समेत देखिने दाङस्थित तुलसीपुर महानगरपालिकाकी सुधा देवकोटालाई दुई साताअघि मानव बेचबिखन अनुसन्धान ब्ष्यूरोले सार्वजनिक गरेको थियो । मानव तस्करीको आरोपमा पक्राउ परेकी २५ वर्षीया सुधामाथि विभिन्न महिलालाई अमेरिका पुर्‍याइदिन्छु भन्दै करिब ४३ लाख रुपैयाँ ठगीको मुद्दा थियो । मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अनुसार उनलाई कारवाही हुने प्रहरीले जनाएको छ ।

यी मात्रै हैनन् । पछिल्लो समय अपराधमा युवतीहरूको पनि संलग्न बढ्दो देखिन्छ । जघन्य र गम्भीर प्रकृतिका अपराध तथा महिलासँग सम्बन्धित, लागूऔषधजस्ता अपराधमा पनि महिलाको संलग्नता बढेको पाइन्छ । 

अघिल्लो वर्ष गोंगबुमा एउटा हत्या भयो । ज्यान एकातिर अनि शरिर एकातिर भएको अवस्थामा शव फेला परेको थियो । निकै क्रुर मानिएको त्यो हत्या पनि महिलाले नै गरेकी थिइन् । कलाकारसमेत रहेकी कल्पना मुडभरी पौडेल सो हत्या आरोपमा जेल जीवन बिताइरहेकी छिन् ।

टेलिसिरियलतिर पनि देखिने पौडेलले दाङका कृष्णबहादुर बोहराको निर्ममतापूर्वक हत्या गरी शव टुक्रा टुक्रा पारेर सुटकेशमा राखी फालेकी थिइन् । उनले प्रहरी बयानमा भनेकी थिइन्– ‘नशालु पदार्थ खुवाएपछि अण्डकोषमा ह्यामरले हानेर मारेको र खुकुरीले टाउको र खुट्टा छिनाएको हुँ ।’ यी घटना मात्रै होइन, पछिल्लो केही महिलाहरु क्रुूर अपराध कर्ममा संलग्न हुन थालेका छन् ।

प्रहरीको सूचीअनुसार महिलाहरू हत्या, लागूऔषध ओसार–पसार, चोरी–डकैती तथा मानव तस्करीमासमेत संलग्न रहेको पाइन्छ । ‘अपराध गर्नेहरूरुले विभिन्न बहानामा संलग्न भइरहेका देखिन्छ,’ सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारी भन्छन्, ‘अपराधमा संलग्न महिलाहरूले चलाखी अपनाउने गरेकोसमेत पाइन्छ ।’ 

उनले पत्रकार श्रेष्ठको गहना र नगद चोरीको घटनाबारे भने, ‘युवतीले लामै योजनाका साथ चोरी गरेको देखिन्छ ।’ उनले महिलालाई घरधनीले विश्वास गरेका कारण पनि अपराधतिर उनी लागेको देखिने बताए ।

गहना चोरीमा २० वर्षीया युवतीले आफ्ना पुरुष साथीको प्रयोग गरेकी थिइन् । काठमाडौंमा एउटै कलेजमा अध्ययन गर्ने साथीलाई उनले प्रयोग गरेको घटनाक्रमले पुष्टि गरेको छ । ‘चोरी गरिएका गहना र नगदमध्ये बाँकी तीन साथीलाई ६० प्रतिशत र युवती आफू एक्लैलाई ४० प्रतिशत राख्ने सम्झौताअनुसार योजना गरेर चोरी गरिएको अनुसन्धानबाट खुलेको छ’ उनले इकागजसँग भने ।

त्यस्तै मानव बेचबिखनमा महिलाहरू रहेको तथ्यांकले देखाउँछ । उसो त, सिन्धुपाल्चोकको जिल्ला अदालतमा २००० साल फागुनमा त्यतिबेलाको परिवेशअनुसार एउटा अनौठो मुद्दा दर्ता भएको थियो । महिला बिक्री गरेको आरोपमा महिलामाथि नै उजुरी परेको त्यो मुद्दा त्यतिबेला नौलो थियो । सिंहबहादुर नामका व्यक्तिले कुसुमकुमारी नाम गरेकी महिलामाथि उजुरी गरेका थिए । यसले पनि पछिल्लो समय मात्रै नभई पहिलेदेखि नै अपराधमा महिलाको सक्रियता रहेको देखाउँछ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको पछिल्लो पाँच वर्षको तथ्यांकमा महिलाहरू अपराधमा सक्रिय भएको देखाउँछ । पछिल्लो पाँच वर्षमा ब्यूरोमा दर्ता भएका एक हजार ६० मुद्दामा बेचबिखनको आरोपमा चार सय १० महिला पक्राउ परेका छन् भने एक सय ७६ अझै फरार रहेका छन् ।

ब्युरोका सूचना अधिकारी एवं एसपी राजेन्द्रप्रसाद धमलाले दर्ता भएका मुद्दामध्येमा एक हजार पाँच सय ९४ अभियुक्तमा पाँच सय ८२ जना महिला अभियुक्त रहेको बताए । ‘बेचबिखनमा महिला नै प्रयोग हुन्छ, जसलाई महिलाले नै प्रलोभन दिँदा चाँडै फस्‍ने हुँदा यो तथ्यांक बढेको अनुमान गर्न सकिन्छ’ उनले भने ।

प्रहरीको तथ्यांकअनुसार, पछिल्लो दुई वर्षमा ४ हजार १ सय ५५ महिला विभिन्न आपराधिक गतिविधिमा संलग्नहरू पक्राउ परेका छन् । तथ्यांकअनुसार लागूऔषध र कर्तव्य ज्यान मुद्दामा बढी छन् । प्रहरीकाअनुसार कर्तव्य ज्यान मुद्दामा २३९ र लागूऔषध ओसारपसार आरोपमा ३९५ महिला पक्राउ परेका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीकाअनुसार महिलाहरू अपराधमा संलग्न हुनुलाई परिस्थिति उपज मान्छन् । ‘व्यक्तिगत रिसइवी, हिंसाका कारण पनि महिलाहरू अपराध गर्न बाध्य भएका घटनाहरू पनि धेरै छन्,’ उनले इकागजसँग भने, ‘यौन विकृति, लेनदेनका कारण पनि अपराध बढिरहेको पाइन्छ ।’

उनले महिलालाई छिट्टै विश्वास गरिने भएकाले पनि पुरुषहरूले महिलालाई प्रयोग गरेको पाइएकाले अपराधमा महिलाको संलग्न बढी देखिएको बताए । सूचना, प्रविधिलगायतले महिला पनि अगाडि बढेका छन् । विभिन्न श्रव्यदृष्य सामग्रीका कारण पनि अपराधतर्फ महिलाहरू उन्मुख भएको उनको भनाई छ । ‘महिला र पुरुष भन्‍ने नै छैन, पुरुष जत्तिकै महिलाहरु पनि टाठा भएका छन्’, उनले भने, ‘सामाजिक परिवेशले महिलामा पनि आवश्यकता बढेकाले आपराधिक धन्दामा लागेको पनि भेटिएको छ ।’नेपाली समाजमा अझै पनि महिलाले ढाँट्दैनन् अनि छल्दैनन् भन्‍ने भ्रम छ । ‘महिलामाथि छिट्टै विश्वास गरिने भएकले पनि अपराध भइरहेको छ’ उनले भने । 


Author

थप समाचार
x