समाज

कर्णालीका महिलाको भोगाइ

‘महिला हिंसा सहनु नै अपराध रहेछ’

हिंसा सहेर बस्नुभन्दा न्यायका लागि अघि बढ्नुपर्छ

लक्ष्मी भण्डारी |
माघ २०, २०७८ बिहीबार १७:३३ बजे

तस्वीर : हिंसा पीडित महिलाहरु छलफल गर्दै ।

सुर्खेत : कलिलै उमेरमा भागी विवाह गरेकी पश्चिम सुर्खेतकी ३५ वर्षिय मनसरा सुनारका विवाहपछि दुःखका दिन सुरु भए । घरमा साँझ बिहानको गुजारा चलाउन मुस्किल । त्यसैमाथि श्रीमानको कुटपिट सहिनसक्नु थियो उनलाई । 

‘भरिपेट खान पनि नपुग्ने अवस्था थियो बाहिर काम गरेर कमाउँछु भन्दा त्यो पनि श्रीमानले गर्न दिनुभएन’ उनले भनिन्, ‘श्रीमान बाहिर अरु केटीसँग लागेपछि मदिरा खाएर घरमा कुट्न थाल्नुभयो ।’


काखमा दुधे बालक लिएर कहिलेकाही अरुको काम गरिदिएर गुजारा चलाउँदै आएकी उनलाई त्यही काम गर्न पनि श्रीमानले रोक्थे । यतिसम्मकी श्रीमानको कुटाई र यातनाबाट उनको गर्भको बच्चा पनि खेर गयो । श्रीमान अर्के महिलालाई लगेर विदेश गए र तीन वर्षपछि फर्के उल्टै मनसरालाई विरुद्ध मुद्दा हालेका रहेछन् । 

श्रीमानले दिएको यातना ढाकछोप गरि पीडा सहेर बसेकी मनसरा अदालत जानुपर्दा अह्य पीडा भयो । ‘अदालतबाट फोन आएपछि मेरो विरुद्ध मुद्दा हालेको थाह पाए र अदालत गए’ उनी भन्छिन्, ‘इज्जत जाने डरले श्रीमानले दिएको यातनाको विषयमा बाहिर केही भनेकी थिएन अदालतमा मेरो विरुद्ध मुद्दा आएपछि मैले पनि संस्थाको साहारा लिए ।’ 

मनसराले संघसंस्थाको साहारा लिएपछि मुद्दा जितिन् । ‘अहिले छोरीको साथमा संस्थाले बनाइदिएको घरमा बसेकी छन् । ‘यसरी श्रीमानको यातना सहेर बसे उतिबेला मेरो बुद्दि आएन’ मनसरा भन्छिन्, ‘हिंसा सहनु नै अपराध रहेछ ।’

जुम्लाकी बिर्मा परियार पनि छोरा नजन्मिएको भन्दै घरपरिवारबाट अपहेलित हुनुपर्‍यो । उनका पाँच जना छोरी छन् । छोरा नभएको भन्दै श्रीमानले दोस्रो विवाह गरे । त्यतिमात्र होइन उनले सौता र श्रीमानबाट उल्टै दुव्र्यवहार सहनुपर्ने भयो । अहिले उनी एक गैरसरकारी संस्थाको सहयोगमा वीरेन्द्रनगरमा बस्दै आएकी छन् । ‘पहिला थाहा नपाएर धेरै दुःख पाइयो’ उनी भन्छिन्, ‘अब त हामीले पनि आँट बढाउनुपर्छ ।’ हिंसा सहेर बस्नुभन्दा न्यायका लागि आफै अगाडी बढ्नुपर्ने उनको बुझाइ छ । 

फेसबुकबाट चिनजान भएपछि सुर्खेतकै एक युवकसँग १९ वर्षिया दिलमाया कार्कीको विवाह भयो । ती युवकले आफ्नो वास्तविकताको विषयमा झुट बोलेर उनलाई धनगढी लगेपछि उनको वास्तविकता थाह भयो । ‘धनगढी घर हो भनेर लग्यो तर त्यहाँ उसको आफन्तको घर रहेछ धनगढी पुग्दाको दिन साँझ थाह पाए, उ मदिरा खाएर आयो’ घटनाक्रम सुनाउँदै उनले भनिन्, ‘रातभर रोयरै बसे यहाँबाट मेरो पासमा भएको पैसा पनि उसले लगेछ । म त घर न घाटको भएँ ।’ 

वीरेन्द्रनगरमा हुर्किएकी उनलाई पश्चिमको विकट गाउँमा गुजारा चलाउन मुस्किल थियो तर पनि उनले आफ्नो भाग्यलाई दोष दिएर जसोतसो सहेकै थिइन् । घरपरिवारको अत्याचार र श्रीमानको २४ सैं घण्टा मदिरामा मात्र भुल्ने र यातना दिने भएपछि उनलाई गुजारा चलाउन मुस्किल भयो । यातनाबाट प्रताडित भएकी दिलमायाले श्रीमानसँग सम्बन्ध विच्छेद गरि बसिन् । उनले अहिले ब्युटीपार्लर तालिम लिएर व्यवसायमा लागेकी छन् । यसबाट दिलमायाले राम्रो आम्दानी गर्न सफल भएकी छन् । श्रीमान तथा घरपरिवारको यातनाबाट मुक्त भएकी छन् । 

‘अब यही व्यसायलाई बढाउने विचारमा छु’ उनी भन्छिन्, ‘यो भन्दा माथिल्लो स्तरको तालिम लिएर व्यवसायलाई बढाउँछु ।’ आफुमाथि भएको हिंसालाई दबाएर राख्नुभन्दा त्यसको न्यायको बाटो लाग्नुपर्ने उनको भनाई छ । ‘सानो मन बनाएर हुँदो रहेनछ’ उनी भन्छिन्, ‘हिम्मत बढाएर अघि बढ्नुपर्दाे रहेछ ।’

यी त प्रतिनिधि हिंसापीडित महिला हुन्, जसले विगतमा पाएका यातनालाई शक्तिमा बदलेर अघि बढेका छन् । हिम्मत गरेर आफ्नो जिवनयापनलाई सहज बनाएका छन् । हिंसापीडित महिलाको क्षेत्रमा वकालत गरिरहेकी अधिवक्त गीता कोइरालाका अनुसार हिंसा पीडित महिलाहरु अहिले हिम्मतका साथ आर्थिक सशक्तिकरणमा लागेको बताउँछन् ।

‘संघसंस्था र अधिकारकर्मीको साथ पाएपछि उनीहरु न्याय पाएका छन् र आफ्नो सहज गुजाराको लागि आर्थिक पाटोलाई मजबुत बनाउन लागेका छन्’ कोइराला भन्छिन्, ‘त्यतिमात्र होइन उनीहरु आफु सक्षम भएपछि आफुजस्तै पीडामा परेका महिलालाई सहयोग र सल्लाह दिने गर्दछन् ।’

 


Author

थप समाचार
x