विवाह गर्ने प्रलोभनमा बेचबिखन
दुःख पाएका युवतीमाथि ‘दलाल’का आँखा
– दुई दिनअघि माइती नेपाल कञ्चनपुरले भारतको सिमलामा बेचबिखनमा परेकी एक युवतीलाई उद्धार गर्यो । विवाहको प्रलोभन देखाएर एक व्यक्तिले सल्यानकी ३३ वर्षीया सुनिता (परिवर्तित नाम)लाई सिमलामा लगेर छाडेका थिए । उनलाई सिमलाभन्दा २५० किलोमिटर टाढा बागी भन्ने गाउँबाट उद्धार गरिएको हो ।
– करिब महिना दिनअघि माइती नेपालले भारतीय संस्था तथा प्रहरीलगायतको सहयोगमा हैदरावादमा सञ्चालित एक मसाज पार्लरमा छापा मार्यो । मसजा पार्लरको नाममा भित्रभित्रै यौनधन्दा भइरहेको सूचना पाएपछि त्यहाँ पुगेको टोलीले बाँकेकी ३३ वर्षीया युवती उषा (परिवर्तित नाम) लाई उद्धार गर्न सफल भयो ।
– दुई साताअघि एक बालिकालाई विवाहको प्रलोभनमा पारेर भारततर्फ लैजाँदै गर्दा एक युवा पक्राउ परे। बीरगञ्ज महानगरपालिका वडा नं।१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ जाँदै गर्दा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । बैतडीकी १४ वर्षीया बेचबिखन प्रयोजनका लागि भारत लैजाँदै गर्दा चितवनका राजु अधिकारी प्रहरी फन्दामा परे ।
राणाकालदेखि नै नेपाली चेली भारतका विभिन्न स्थानमा बेचिँदै आएको भनिए पनि कहिलेबाट बेचबिखन भयो भन्नेबारे अझै कतै तथ्य भेटिएको छैन । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचबिखनको शैली फेरिएको दाबी विभिन्न संघसंस्थाले गरिरहे पनि माथिका उदाहरणले भन्छ–बेचबिखनमा ‘दलाल’ आँखा अझै भारततिरै छ ।
मंगलबार माइती नेपालको पहलमा उद्धार गरिएकी सुनिता प्रलोभनकै कारण बेचबिखनमा परिन् । दाङमा गरेको विवाह असफल भएपछि उनी अर्काे युवकले लालचमा फसाएका हुन् । उनकी ८ वर्षीया छोरीसमेत छिन् । ‘पहिलेको श्रीमानले वेवास्ता गर्ने र भारतबाट नफर्किएपछि सुनिता श्रीमान्लाई खोज्दै भारत गएकी रहिछिन्,’ उद्धार गरेको संस्था माइती नेपाल कञ्चनपुरकी कार्यक्रम संयोजक महेश्वरी भट्टले भनिन् ।
उनका श्रीमान् भारतमै अर्काे विवाह गरेर बसेको पत्ता लाग्यो । यसअघि पनि सुनिता भारत जाने गर्दथिन् । श्रीमान्ले वेवास्ता गरेपछि उनी पनि छोरीलाई पढाउने खर्च जुटाउन उनी भारतको सिमलामा स्याउ टिप्ने काम गर्न थालिन् ।
दैनिकी यसरी नै चलिरहेको थियो । रक्षाबन्धनको दिन एक अपरिचितले उनलाई फोन गरे । सुनिताको भनाइ उदृत गर्दै भट्टले भनिन्, ‘म चिन्दछु, तिमी पनि दुःख पाएको र म पनि दुःख पाएको मान्छे भेटघाट गरौं ।’ श्रीमानले वेवास्ता गरेपछि साहाराविहीन बनेकी उनलाई विश्वास भयो ।
विस्तारै उनीहरू बीच मायाँ झांगियो । त्यो पनि टेलिफोनबाटै । माया प्रेमका कुराकानी हुँदै गर्दा उनले विवाह गर्ने प्रलोभन देखाए । अनि सिमलाबाट अर्कै ठाउँमा लिएर गए । त्यहाँ पनि स्याउ टिप्ने काम थियो सुनिताको । ‘हप्तादिनपछि ती युवक घर फर्किन्छु भनेर नेपाल फिरेका रहेछन्,’ माइती नेपालकी कार्यक्रम संयोजक भट्टले इकागजसँग भनिन्, ‘उनी फर्केनन्, अरु सँगीले उनलाई भनेका रहेछन्, तिमी बेचियौं ।’
यसअघि पनि ती व्यक्तिले दुई जनालाई ल्याएर यसरी राखेका रहेछन् । एक जनाबाट धोका पाएकी उनले फेरि भरोसा गरिएको प्रेमीबाट धोका पाइन् । इच्छा हुँदा पनि सुनिता नेपाल फर्किन पाइनन् । साहुले तिम्रो लागि पैसा तिरिसकेको भनेपछि उनी बल्ल आफू बेचिएको थाहा पाइन् । पछि माइती नेपाल, भारतीय प्रहरी र विधिन्न संस्थाको सहयोगमा उनलाई उद्धार गरिएको हो ।
सुनिताजस्तै विवाहकै प्रलोभनमा परेर बाँकेकी ३३ वर्षीया उषा भारतको हैदरावादको कोठीमा पुगिन् । बाहिर बोर्डमा मसाज पार्लर लेखिए पनि भित्र हुने गरेको यौन धन्दामा उनी फसेकी हुन् । उषाका पतिको दुर्घटनामा मृत्यु भयो । लगत्तै एक जना युवक उनको फेसबुकमा जोडिए । विस्तारै उनले पनि विवाहको प्रलोभन पाइन् । एक्ली बनेकी उषा ती युवकको माया जालमा फसिन् । अनि भारत पुगिन । ‘मलाई केही समय दिल्लीमा राखियो,’ उनले माइती नेपालसँग गरेको कुराकानीमा भनेकी छन्, ‘त्यसपछि हैदरावाद लगिएको हो ।’
एक छोरासमेत रहेकी उषाले न आश्वासनअनुसारको माया पाइन् न त श्रीमान्। बरु सामाजिक सञ्जालमा चिनजान भएका व्यक्तिमाथिको भरोसाले गर्दा भारतको दुई स्थानमा बेचिइनुपर्यो । उषा र सुनिताले भारतका विभिन्न स्थानमा दुःख पाए । कतै श्रम शोषण भयो त कतै शारिरीक शोषण प्रहरीले विवाहको प्रलोभनमा पारेर भारत लैजाँदै गरेकी एक बालिकालाई दुई साताअघि उद्धार गर्न सफल भयो। उनलाई भारत लैजाँदै गरेको युवक पनि पक्राउ परे ।
माघ दोस्रो साता बैतडीबाट १४ वर्षीया बालिका हराइन् । उनको खोजीका लागि परिवार तथा आफन्त जुटे । तर, उनी कतै भेटिइनन् । सम्पर्कविहीन भएकी ती बालिकाको खोजीका लागि प्रहरीसमेत जुट्यो । हराएको चार दिनपछि उनै बालिकासँगै एक युवक भेटिए पर्सा बीरगञ्ज महानगरपालिका वडा नं।१६ स्थित शंकराचार्य गेटमा । युवक थिए अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ घर भई चितवन भरतपुर उपमहानगरपालिका वडा न। १ पोखरा बसपार्क बस्दै आएका वर्ष २८ का राजु अधिकारी ।
प्रहरीले भारत जानबाट रोक्यो । माइती नेपालको समन्वयमा ती बालिकाको प्रहरीले उद्धार गरेको हो । भारततर्फ जाँदै गरेको अवस्थाामा ती बालिका फेला परेपछि सँगै रहेका युवकसँग सोधियो । उनको उत्तर थियो–विवाह गर्नलाई सामान खरिद गर्न भारत जान लागेको ।
उनी शंकाको घेरामा परे । पछिल्लो समय विवाहको नाममा भारतमा बेचविखन भएका घटनाहरू बाहिर आउन थालेपछि उनलाई थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं सूचना अधिकारी ओमप्रकाश खनालले जानकारी दिए । ‘अनुसन्धान गर्दै जाँदा बालिकालाई बेचबिखन प्रयोजनका लागि भारत लैजान लागेको पाइयो,’ खनालले इकागजसँग भने, ‘बालिकालाई फोनमार्फत चिनजान गरी भेट्न बोलाई अर्घाखाँची लगेर विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याएर बीरगञ्ज बसपार्कसम्म ल्याएका रहेछन् ।’ उनले बालिकालाइ अब ५ मिनेटमा घर पुगिन्छ भनी ईनर्वा नाका हुँदै भारत लैजान लागेकै बेला अधिकारी पक्राउ परेका हुन् ।
यस्तै अर्काे घटना छ । मंसिर ११ गते मानब बेचबिखन अभियोगमा काठमाडौंको तारकेश्वरबाट टेकबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गर्यो । निम्न आयस्रोत भएको परिवारको फाइदा उठाएर बेचबिखन गरेको आरोप उनीमाथि थियो । उनले विवाहको प्रलोभन दिलाएर शर्मिला (परिवर्तित नाम) लाई भारतमा लगेका थिए।
त्यतिबेला शर्मिला काठमाडौंको नयाँ बजारमा डेरा गरी बस्दै आएकी थिइन् । निम्न आयस्रोत भएको परिवारमा विवाह गरेर घरजम बसाल्दै आएकी उनका श्रीमान बालुवा खानीमा काम गर्ने क्रममा घाइते भए अनि वीर अस्पतालमा करिब १५ दिनको उपचारपछि आफ्नो घर फर्के । उनी एक्लै काठमाडौंमै रहेको कोठामा बसिरहिन् ।
त्यसैक्रममा उनको चिनजान टेकबहादुर लामिछानेसँग भयो । लामिछानेले यसैलाई मौका ठाने । ‘यो दुःख किन गर्छाैं, म तिमीलाई विहे गर्छु, अनि व्यापार गरेर बसाँैला’ शर्मिला (परिवर्तित नाम)ले उनको लालसामा फसिन् ।
दुःखको सागरबाट माथि उकास्छु भनेको मान्छेले झन् नयाँ व्यापारको कुरा गर्दा युवती खुसी मात्रै भइनन् अनेक खुशीका सपना पनि देख्न थालिन् । आफ्नो किराना पसल रहेको र विवाहपछि त्यही पसल चलाउन दिने प्रलोभन लामिछानेबाट पाएकी हुन् । उनी राजी भइन् । अनि, टेकबहादुरको पछि–पछि लागेकी उनी सिधै भारत पुगिन् । ट्याक्सीमा चढ्ने क्रममा एक महिलाले टेकबहादुरले ३५ हजार भारुमा आफूलाई बेचेको सुनाएपछि मात्र युवती आफू बेचिएको थाहा उनले पत्तो पाइन् ।
भारतमा अनेक समयासँग जुध्दै उनी बसिन् । अनि नेपाल फिरिन् । उनले टेकबहादुर विरुद्ध मुद्दा दर्ता गराइन् । लामिछाने पक्राउ परे । प्रहरीको तथ्यांकअनुसार शारिरीक शोषणका लागि मात्रै नभई विभिन्न कार्यका लागि पनि बेचबिखन भइरहेको छ । विशेषगरी दुःख पाएका महिला, श्रीमान् बितेकाहरू माथि बेचबिखनका दलालको आँखा पुगेको घटनाहरू देखिन्छ ।
माइती नेपाल कञ्चनपुरको तथ्यांकअनुसार पछिल्लो वर्ष माइतीकै सक्रियतामा १६ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको छ । बेचबिखन प्रयोजनमा शंका लागेर २ सय ६८ लाई नाकामै रोकिएको छ । नेपाली युवतीलाई उद्धार गर्न माएती नेपालको टोली भारतीय प्रहरी र भारतीय संघसंस्थाको सहयोगमा पुग्ने गरेको छ ।
‘भारतमा अहिले बेचविखनलाई संवेदनशील रुपमा हेरिन्छ, त्यसैले पनि चाहेृको सहयोग पाउने गरेका छौं,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरीले भनिन्, ‘आनाकानी गर्नुहुन्न, आवश्यक सहयोग हामीले पाएका छौं ।’ भारतबाट उद्धार गरी ल्याएकाहरूलाई परिवारसँग पुनर्मिलन नगराएसम्म माइतीकै सेल्टरमा राखिने गरेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार पछिल्लो वर्ष कार्यालयमा मानवबेचबिखनको चार वटा मुद्दामा सात जना पक्राउ परेका छन् । कार्यालयका डिएसपी एवं सूचना अधिकारी ओमप्रकाश खनाल सीमा क्षेत्रबाट एक सय २८ महिला तथा बालिबालिकालाई उद्धार गरिएको बताए ।
मानव बेचबिखन अनुसन्धान व्यूरोको तथ्यांकअनुसार १८ वर्ष मुनीका बालिका पनि बेचबिखनमा पर्ने गरेका छन् । पछिल्लो पाँच वर्षमा एक हजार एक हजार ६ सय ३६ घटनामा १८ वर्ष मुनीका पाँच सय ७४ रहेको छ । १८ वर्षभन्दा माथिको घटना संख्या एक हजार ६२ रहेको व्यूरोका सूचना अधिकारी एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। ‘उमेर पुगेकाहरु नै बेचबिखनमा परेको संख्याले विशेष गरी यौन शोषण प्रयोजनकै लागि हुनसक्ने अनुमान गर्न सकिन्छ ।’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया