समाज

वडाध्यक्षबाट मरणासन्न हुनेगरी कुटिए युवक

सुभाष कर्ण |
कात्तिक १३, २०७७ बिहीबार ७:२१ बजे

वडाध्यक्षको कुटाइबाट घाइते युवक गोविन्द माझी

जनकपुरधाम : सर्लाहीमा वडाध्यक्षसहितकाे समूहले एक युवकलाई मरणासन्न हुनेगरी कुटपिट गरेकाे छ ।  जिल्लाको ईश्वरपुर नगरपालिका–९ का वडाध्यक्ष अमिरीलाल साहसहितको समूहले मेला हेर्न गएका स्थानीय १९ वर्षीय गोविन्द माझीलाई कुटपिट गरेकाे हाे । 

वडाध्धयक्षसहित स्थानीय रामचन्द्र सुडी र भरत महतो सुडीलगायतका व्यक्तिहरुले स्थानीय माझीलाई हातखुट्टा बाँधेर कुटपिट गरेको स्थानीय पच्चु माझीले जानकारी दिए। कुटपिटबाट युवक गम्भीर घाइते भएका छन्। 


सोमवार राति रामनगरमा आयोजित दुर्गा पुजाको मेलामा आयोजित नाच हेर्न गएका युवकमाथि चोरीको आरोपमा उनीहरूले कुटपिट गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते युवकको बयलबाँसस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

पीडित युवक गोविन्दले भने खेतमा शौच गर्न गएको बेला चोरचोर भन्दै नियन्त्रणमा लिएको बताए । त्यसको भोलिपल्ट मंगलवार वडाध्यक्षगायतका व्यक्तिहरुले आफूलाई रुखमा बाँधेर लट्ठीले कुट्नुका साथै करेन्ट समेत लगाएको बताए।

युवकलाई मात्र होइन उनकी आमालाई समेत कुटपिट गरिएकोे स्थानीय पच्चु माझीले बताए । वडाध्यक्ष साहले पनि युवकमाथि कुटपिट भएको स्वीकार गरे । तर राति स्थानीय सुरेश महतोको घरमा चोरी गर्न गएको बेला नियन्त्रणमा लिइएको उनले दाबी गरे। तीन महिना भित्र भएको १४ वटा चोरीको घटनामा समेत उनको संलग्नता रहेको जिकिर गर्दै सोही रिसमा स्थानीयले कुटपिट गरेको उनले दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले भने कुनै पनि आरोपमा कसैलाई पनि कानून हातमा लिएर कुटपिट गर्नु गलत भएको बताए । ‘युवकलाई कुटिपिट गरिएको हाे । बाँकी कुरा अनुसन्धानपछि खुल्नेछ ।’ उनले भने।

उनकाअनुसार मंगलवार जिल्ला प्रहरी कार्यालयमा कुटपिट गरिएको अवस्थामा वडाध्यक्षसहितका समूहले चोर भन्दै घाइते अवस्थामा ती युवकलाई ल्याएका थिए । तर घाइते युवकलाई उपचारका लागि पठाइएको उनले बताए।

जिल्ला प्रहरीमा पीडक र पीडित दुवै पक्षबाट निवेदन परेको उनले जानकारी दिए। घटनाको छानबिन गरी दोषीउपर कारबाही हुने उनले बताए।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x