सिंहदरबार महिला मार्च
ए हजुर ! एउटा प्रश्न सोध्न पाइन्छ ?
काठमाडौँ : शवले प्रश्न गर्दैन । तर, प्रश्न गर्नकै लागि जिउँदा मान्छे शव बन्नुपर्यो । सन्दर्भ- सिंहदरबार महिला मार्च । जहाँ एउटा शव यात्रामा हुनुपर्ने सबै कुराहरू थिए । जस्तै मलामी, घारो, कात्रो, शंख आदि आदि । तर, शव थिएन । थियो - शवको अभिनय गरिरहेको जिउँदा मान्छे ।
सांकेतिक मलामीहरूले प्रश्न गर्दै थिए- बलात्कारी खोइ ?
शुक्रबार दिउँसो बसन्तपुरबाट सांकेतिक शव यात्रा संहदरबारतिर लम्कियो। सिंहदरबारसम्म हिँडेको महिला मार्च भद्रकालीमै रोकियो । मार्चले भद्रकालीबाटै एकोहोरो शंख फुकेर उद्घोष गर्यो,‘देशभरी बलात्कार गरी हत्या भएकाको सम्झनामा यो सरकारको मृत्यु भएको घोषणा गदर्छौँ ।’
महिलाहरूको यो मार्च बलात्कारपछि हत्या भएका मैना सुनुवारदेखि निर्मला पन्त र अंगिरा पासीदेखि भागरथी भट्टसम्मका लागि उठेको आवाज थियो । मार्चमा अधिकारकर्मी हिमा विष्टले डेढ वर्षमा पाँच हजार ७ सय ३५ बलात्कार भएको तथ्यांक प्रस्तुत गर्दै यसले जनतालाई फरक परेपनि बालुवाटार र सिंहदरबारलाई फरक नपर्ने बताइन् ।
‘बलात्कारका घटनाले जनतालाई फरक परेपछि सिंहदरबार र बालुवाटारलाई फरक परेको छैन,’ उनले भनिन्,‘महिला राष्ट्रपति भएर पनि गर्व गर्न लायक ठाउँ छैन । अब के महिलाले बच्चा पाउनका लागि पनि वडाको सिफारिस लिनुपर्ने हो ?’
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले सरकारलाई प्रश्न गरिन् । उनले भनिन्,‘सिंहदरबारमा बिराजमान शासक घर फिर्ता हुँदा तपाइँहरूका छोरी, बहिनी र श्रीमतीले भद्रकालीमा महिला किन भेला भएका ? भन्ने प्रश्न गरे त्यसको जवाफ तपाइसँग छ ?’
सपना सन्जिवनीले आफ्नो मैथली भाषाको कविता वाचन गरिन् । कविता मार्फत् उनले भनिन्,‘अब कोही महिला सिता बनेर अग्नी परीक्षा दिनेवाला छैनन् । कोही महिला गान्धारी बनेर आँखामा पट्टी लगाएर बस्नेवाला छैनन् ।’
लेखक अर्चना थापाले हामीले दैनिक जीवनमा बोलिने भाषाले समेत महिलामाथि हिंसा र बलात्कारमा प्रोत्साहन गरिरहेको बताइन् । ‘फिल्म, गीत, उखानटुक्का र बोलिचालीका भाषाले महिलामाथि हुने हिंसा र बलात्कारलाई प्रोत्साहन गरिरहेको छ,’उनले भनिन्,‘यस्ता भाषालाई निरुत्साहित गर्नुपर्छ ।’
त्यस्तै, अबका दिनमा राममन्दिर बनेपछि सिता पहिलाको जस्तो नहुने भन्दै उनले भनिन्,‘महिला उभिएर बोल्न थाल्यो भने सरकार ‘ट्याउँ-ट्याउँ’ गरेको भन्छ तर हामी न्याय नपाएसम्म ट्याउँ-ट्याउँ गरिरहन्छौँ ।’
साथै, आन्दोलनमा सडकमा ‘फ्ल्यास मोभ’का नाराहरूले सरकारलाई प्रश्न गरे– ‘ए हजुर ! एउटा प्रश्न सोध्न पाइन्छ ? हामीलाई श्वास फेर्न कसको सिफारिस चाहिन्छ ?’ आन्दोलनमा मौलिख भाषामा भाषामा कविता वाचन गरिएको थियो । शिल्पी थिएटरका कलाकारले बलात्कारविरुद्ध प्रस्तुति दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया