समाज

मामाले यसरी गरे आफ्नै भान्‍जाको अपहरण

सुवास कर्ण |
फागुन ९, २०७७ आइतबार १६:४३ बजे

जनकपुरधाम : आफ्नै भान्जाको अपहरण गर्ने एक युवकलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका ७ निवासी लक्ष्मेश्‍वर दासलाई सार्वजनिक गरेको हो ।  अनुन्धानको क्रममा अपहरित बालकको बुवा रमेश दास र एक जना महिलालाई पनि पक्राउ गरिएको थियो । घटनामा संलग्नता नदेखिएपछि बालकका बुवा रमेशलाई भने प्रहरीले छाडेको छ । 

यसरी गरिएको थियो अपहरण


शनिबार दिउँसो २ः३० बजेको समयमा जनकपुरधाम ७ माछा बजार नजिक कटैया चौरीमा डेरा गरी बस्दै आएका २० वर्षिय पिपरा निवासी लक्ष्मेश्वर दास आफ्ना भिनाजु रमेश दासको गाउँ नगराइन नगरपालिका ६ लगमा पुगे । लगमा पुग्ने बित्तिकै भिनाजुको घर नपुग्दै पसल जान हिडेँका ७ वर्षिय भान्जा चन्दन दासलाई घुम्न जाउँ भनेर बाटोबाटै मोटरसाइकल राखेर त्यहाँबाट लगेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

घटना बारे जानकारी दिदैं  उनले भने ‘लगमाबाट लक्ष्मेश्वरले चन्दनलाई आफू बस्दै आएको डेरा ढोका थुनेर मुख बाँध राखेको रहेछ । चन्दन हराएको भनेर दिदीको फोन उनै लक्ष्मेश्वरलाई आयो ।’ दिदीको फोन आउने लगतै मोबाइलमा रुमाल बाँधेर आवाज परिवर्तन गरी लक्ष्मेश्वरले आफ्ना दिदी र भिनाजुसँग एक करोड रुपैया फिरौती माग गरे । चारपाँच वटा सिम प्रयोग गरेर विभिन्न नम्बरबाट लक्ष्मेश्वरले फिरौती माग गरे । 

नाटकीय रुपमा लक्ष्मेश्वरले भिनाजुसँग मोटरसाइकलमा बसेर चन्दनलाई खोज्न विभिन्न ठाउँमा पुगे । घटनाको करीब ३ घण्टापछि गाउँमा लग्मा प्रहरी चौकीमा बालकको अपहरण भएको निवेदनसमेत भिनाजुसँगै गएर लक्ष्मेश्वरले दर्ता गराए ।  प्रहरीलाई जानकारी भए लगतै प्रदेश प्रहरीको प्राविधिक टीमको सहयोगमा फिरौती माग गरिएका मोबाइलहरुलाई ट्रेस गर्दा जनकपुरधामको कटैया चौरीबाट फोन गरिएको खुल्न आएपछि खोजतलास गर्दा घटनाको करीब ७ घण्टापछि लक्ष्मेश्वर भाडामा बस्दै आएको सरोज ठाकुरको घरबाट बालकको उद्धार गरियो । 

अनुसन्धान गर्दै जाँदा बन्धक बनाई बालक चन्दन राखिएको कोठा लक्ष्मेश्वरले भाडा लिएको खुल्न आएपछि,उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालियो । लक्ष्मेश्वरसँगै बालकको बुवा रमेश पनि रहेको कारण तिनलाई पनि अनुसन्धानको क्रममा लिइएको थियो । तरपछि बालकका बुवा रमेशको संलग्नता नदेखिएपछि सोधपुछ पछि छाडियो । घटनामा संलग्न रहेको आशंकामा घरधनी सरोज ठाकुरको घरबाट एक महिलालाईसमेत नियन्त्रणमा लिइएको छ । तर, अनुसन्धानकै क्रममा रहेको कारण प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।यसअघि प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरजप्रताप सिंहले घटनामा बुवा रमेश, मामा लक्ष्मेश्वर र अन्य एकजनासहित तीनजनालाई नियन्त्रणमा लिइएको जनाएको थियो ।  


Author

थप समाचार
x