समाज

पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई जापानी विभूषण

नेपाल-जापान र जापान-चीन सम्वन्ध उचाईमा पुर्‍याउन पाण्डेले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि

इकागज |
फागुन १३, २०७७ बिहीबार २३:५८ बजे

काठमाडौँ : जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन्’ विभूषणले सम्मान गरेको छ । 'कूटनीति र राजनीति' , 'क्रान्ति र प्रतिक्रान्ति'का लेखक पाण्डेलाई ‘अटम इम्पेरियल डेकोरेसन’ अन्तर्गत विभूषण बुधबार प्रदान गरेको हो । नेपाल र जापान सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै पाण्डेलाई चार महिना अघि उक्ता सम्मानको घोषणा गरेको थियाे ।

काेभिड-१९ को  त्रासका कारण बुधबार भर्चुअल माध्यमबाट उक्त पदक हस्तान्तरण गरिएकाे  काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ । कूटनीति, अनुसन्धान, शिक्षा, समाजसेवा, खेलकुद, संस्कृतिलगायतका क्षेत्रबाट द्विपक्षीय सम्बन्ध सुदृढमा योगदान पुर्‍याउने व्यक्तिलाई यसप्रकारको विभूषणबाट जापानले सम्मानित गर्दै आएको छ ।


यो वर्ष (२०२०) जापान सरकारले मुलुकका ६० जना फरक क्षेत्रका व्यक्तिलाई विभूषित गर्ने घोषणा गत कात्‍तिक १६ मा गरेको थियो । यस पटक दक्षिण एसियाबाट उक्त विभूषण पाउने पूर्वपराष्ट्रमन्त्री पाण्डे एक्ला हुन् ।

पूर्व मन्त्री (परराष्ट्र, पर्यटन, सूचना तथा सञ्‍चारलगायत) पाण्डेलाई  कात्तिक १६ मा जापानी विदेशमन्त्री तोसिमित्सु मोतेजीले पत्र पठाएर उक्त सम्मान दिन लागेको जानकारी दिएका थिए। ‘द्विपक्षीय सम्बन्ध मजबुत बनाउन यहाँले खेल्नु भएको भूमिकालाई उच्च मूल्यांकन गर्दै जापान सरकारले उक्त विभूषण प्रदान गरिएको’ जानकारी जापानी मन्त्रीले दिएको पाण्डेले बताए ।

आफ्नो कार्यकाल सकेर शुक्रबार स्वदेश फर्कन लागेका मसामिची साइगोले जापानको  विदेश मन्त्रालयसँगको भर्चुल संवाद मार्फत उक्त घोषित पदक पाण्डेलाई हस्तान्तरण गरेका हुन‍् । चार महिना अघि नै उक्त पदकले सम्मान गर्ने घोषणा जापानी दूतावासले गरेको थियो । जापानका पूर्वप्रधानमन्त्री रियुतारो हासिमोतोसँग पाण्डेको व्यक्तिगत सम्बन्ध रहेको र दुइ मुलुकको सम्वन्ध विस्तारमा योगदान पुर्‍याएको दूतावासले उल्लेख गरेको छ ।

पाण्डे पर्यटन मन्त्री रहेका बेला सन् १९८६ मा सगरमाथा आरोहण गरेका जापान-नेपाल-चीनसहित त्रिदेशीय टोलीलाई गरेको सहयोग तथा जापान र चीन सम्वन्ध बिस्तारमा निर्वाह गरेको भूमिकालाई मध्य नजर गर्दै सम्मान गरेको जनाइएको छ । सन २००२ मा पाण्डे सञ्‍चार मन्त्री हुँदा नेपालको भ्रमण गर्ने पहिलो जापानी नागरिक एकाई कावागुचीको तस्विर अंकित हुलाक टिकट सुरु गरेका थिए ।

जापान सरकारले हरेक वर्ष वसन्त र शरद ऋतुमा दुई पटक जापानसँगको सम्बन्ध सुधारमा उल्लेख्य भूमिका खेलेका विदेशी नागरिकलाई ‘अर्डर अफ दि राइजिङ सन’ अवार्ड दिंदै आएको छ । उक्त अवार्ड पछि पाण्डेले इकागजसँग भने, 'यो सम्मान मलाई हाेइन समगं नेपाललाई जापानले गरेको हो । सम्मानित हुन पाउँदा खुसी छु । दुई पक्षीय सम्वन्ध बलियो बनाउन सधै आफ्नाे तर्फबाट भूमिका निर्वाह गरिरहनेछु ।'

जापान सरकारले हरेक वर्ष अप्रिल २९ मा ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ र नोभेम्बर ३ मा ‘अटम इम्पेरियल डेकोरेसन’ विभूषणको घोषणा गर्छ । यो अवार्ड सन् १८७५ मा तत्कालीन जापानी सम्राट मेइजीले स्थापना गरेका हुन् । यही विभूषणमध्ये मेरिटका आधारमा ‘अर्डर अफ दि राइजिङ सन’ दिइने गर्छ । यसअघि यस वर्षको वसन्त ऋतुमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ अन्तर्गत ‘अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित गरेको थियो । 


Author

थप समाचार
x