समाज

मदिरा सेवनले एक महिनामा १० राउटेको निधन

कर्णाली सरकारले राउटेको सुरक्षामा प्रहरी परिचालन गर्ने

लक्ष्मी भण्डारी |
फागुन १७, २०७७ सोमबार १९:१६ बजे

मुख्‍यमन्त्री शाहीसँगै राउटेका मुखिया ।

सुर्खेत : कर्णाली सरकारले राउटे समूदायको सुरक्षाको लागि प्रहरी परिचालन गर्ने भएको छ । सोमबार मुख्यमन्त्री कार्यालय पुगेका राउटे मुखियाहरुसँग कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटेको सुरक्षाका लागि प्रहरी परिचालन गरिने बताएका हुन् । अत्याधिक मदिराका कारण राउटे समुदायको जनसंख्या घट्दै गएकाले प्रहरी परिचालन गरेर मदिरा सेवन नियन्त्रण र बस्तीको सुरक्षा गर्न लागिएको मुख्यमन्त्री शाहीको भनाई छ । 

अघिल्लो महिना राउटे समुदायको जनसंख्या एक सय ५६ थियो । अहिले त्यो संख्या घटेर एक सय ४६ पुगेको छ । पछिल्लो एक महिनाको अवधिमा राउटे समुदायका १० जनाको मृत्यु भएको छ । ति मध्ये अधिकांश बालबालिका छन् । ‘अबदेखि राउटे समुदायलाई मदिरा बिक्री गर्नेलाई कारबाही गर्छौँ, मुख्यमन्त्री शाहीले भने, ‘मदिरा नियन्त्रणसँगै उनीहरुको सुरक्षाको लागि प्रहरी परिचालन गर्छाैँ ।’ शाहीले राउटे समूदायमा मदिरा नियन्त्रण गर्न सकेको खण्डमा उनीहरुलाई सुधार गर्न सकिने विश्वास व्यक्त गरे ।  


पछिल्लो समय राउटे समुदायमा मदिराको लत अत्याधिक छ । पहिले पैसा छुँदा पाप लाग्छ भन्ने राउटेहरु अहिले राउटे बस्तीमा पुग्ने जो कोहीसँग पैसा र मदिरा माग्ने गर्छन् । उनीहरुले मागेको पैसाले खाद्यन्न किन्न छोडेर मदिरा किन्‍ने गर्छन् । महिला तथा बालबालिकाले पनि मदिरा सेवन गर्ने भएकाले उनीहरुको जनसंख्या घट्दो छ ।

त्यसैगरी कर्णाली सरकारले राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले समिति गठनको तयारी थालेको छ । मुख्यमन्त्री शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्ने समिति गठन गर्ने तयारी गरेको बताए ।  ‘हामीले संरक्षणको जिम्मा नलिए केही वर्षमै घुमन्ते राउटे समुदाय नरहने अवस्था आउँछ,’ उनले भने, ‘त्यसैले समिति गठन गरेर उनीहरुको संरक्षण र संबद्र्धनमा लाग्ने निर्णयमा पुगेका छौँ ।’ 

प्रदेश सरकारले राउटे समुदायलाई संघले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा प्रतिव्यक्ति दुई हजार रुपैयाँ थप्‍ने निर्णय गरिसकेको छ । योसँगै अबदेखि राउटे समूदायले प्रतिव्यक्ति पाँच हजार भत्ता पाउनेछन् । यता राउटे मुखिया वीरबहादुर शाहीले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा आफूहरु भोकै रहेको बताए । उनले प्रदेश सरकारले थपिदिएको मासिक दुई हजार सामाजिक सुरक्षा भत्ता पनि नपाएको गुनासो गरे । 


Author

थप समाचार
x