सुगम छोडेर दुर्गममा उद्यम गर्ने सानु (फोटोफिचर)
सिन्धुपाल्चोक (हेलम्बु) : लकडाउन अघिसम्म सानु शेर्पा(४१) काठमाडौंमा थिइन् । माकलबारीमा सामान्य व्यापार व्यवसाय गरी घरखर्च चलाउँथिन् । तर केही महिनादेखि उनी हेलम्बुमा छिन् । झुमोथाङको छेवैमा दाइ र मामा सँग मिलेर नयाँ रिसोर्ट सञ्चालनमा ल्याएकी छन् ।
‘काठमाडौंमा काम भएन, बच्चा पढाउनुपर्यो, खानुपर्यो, घरखर्च चलाउनुपर्यो,’ उनी भन्छिन्, ‘तर लकडाउन भएपछि सबै काम ठप्प भयो । त्यसपछि दाइसँग सल्लाह गरी यहाँ रिसोर्ट सञ्चालनमा ल्यायौँ ।’
सानु हेलम्बुको गांखर्कमै जन्मिएकी थिइन् । तर विहे गरेर रामेछाप पुगेकी थिइन् । तर छोरा पढाउन उनी काठमाडौँमै बसेकी थिइन् । लकडाउनमा व्यवसाय ठप्प भएपछि के गर्ने भनेर सोचिन् । त्यसबेला उनका दाइ पनि भारतबाट परिवारसहित फर्किएका थिए ।
सिन्धुपाल्चोकको आमा झ्योमो याङ्ग्रीमा छोटो पदयात्रा गरी आउने पर्यटकहरू आउने गरेको देखेका थिए । त्यसैले उनीहरूले झुमोथाङ चुने । काठमाडौंबाट नजिक रहे पनि यो ठाउँमा राम्रोसँग अझै मोबाइलका नेटवर्क टिप्दैन ।
फोन गर्न ठूला ढुंगामाथि, रुखमाथि चढ्न पर्छ । पानी थाप्न २० मिनेट मुनी खोँचमा झर्नुपर्छ । बत्ती छैन, जेनेरेटरको भरमा बस्नुपर्छ । गाडी रिजर्भ गरेर खानेकुरा ल्याउनुपर्छ ।
यहाँ केही समय अघि मात्रै गाडी चल्ने बाटो बनेको थियो । कामदार लगी काठको टहरा बनाउने काम सुरु गरे । पर्यटकलाई खुवाउने भाडा, खाद्यान्न काठमाडौंबाटै लगे । एक महिना भयो यो रिसोर्ट सञ्चालनमा आएको छ । अहिले रिसोर्टमा ११ जना बस्छन् । काम गर्छन् ।
रिसोर्ट सञ्चालनमा आएदेखि उनीहरू चुकचुकाउन परेको छैन । किनकि, हरेक दिन १५/१६ जना आन्तरिक/बाह्य पर्यटक टुट्दैनन् । ‘काठमाडौँमा बस्नु भन्दा यहाँ धेरै राम्रो छ,’ उनी भन्छिन्, ‘काठमाडौं जस्तो यहाँ धुलो छैन, कोलाहल छैन । गाउँमा बसे दुनियाँ देखिन्छ, टेन्सन हुन्छ । यहाँ फोन पनि लाग्दैन । यहाँ छुट्टै दुनियाँ छ । त्यसैले आनन्द छ ।’
उनीसँगै १२ वर्षिया निम डोल्मा पनि छिन् । सानुकी दाइकी छोरी निम कक्षा ४ मा पढ्दैछिन् । आमाबुवा, फुपुसँगै उनी पनि झुमोथाङ आएकी छन् । लकडाउनको कारणले रोकिएको पढाई अझै सुरु भएको छैन । तै पनि पढ्न विर्सिने डरले उनी दिउँसो पढ्छिन् । ह्याडराइटिङ गर्छिन् ।
‘बिहान र साँझ बत्ति हुन्न, पर्यटक आउने भएकाले बेलुका जेनेरेटरबाट बत्ति बाले पनि होहल्ला हुन्छ, पढ्न सकिँदैन,’ उनी भन्छिन्, ‘त्यसैले दिउँसो पढ्छु ।’ अब कमाइ हुन थालेपछि भने निमलाई काठमाडौंमा राखेर पढाउने सोच रहेको सानुले सुनाइन् । ‘हामी यहीँ काम गछौँ, नानीलाई काठमाडौंमा होस्टेल राखेर पढाउनुपर्छ,’ उनी भन्छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया