समाज

झा दम्पतीको अवस्था अझै अज्ञात, ४ पक्राउ

सुभाष कर्ण |
फागुन २२, २०७७ शनिवार १६:२३ बजे

जनकपुरधाम : १२ दिनदेखि घरबाट बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी श्रीमति गीता देवीको अवस्था अझै अज्ञात छ । घटनाबारे  अनुसन्धानका क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी सँग सोधपुझ गरेर संकाका आधारमा ४ जनालाई नियन्त्रणमा लिएको बताएको छ । 

प्रदेश-२ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले घटनाको अनुसन्धानमा दुई दर्जन बढीसँग सोधपुझपछि संकाका आधारमा ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । डिआईजी सिंहले बेपत्ता झा दम्पतीका छिमेकी जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । 


प्रहरीले झा दम्पतीबारे सत्य तथ्य पत्ता लगाउन विभिन्‍न ठाउँमा सर्चका गर्नुका साथै हत्या भएको आशंकामा धनुषा र महोत्तरीका दर्जनौ पोखरीमा समेत खोजबीन गरिसकेको सिंहले बताए । तर अहिलेसम्म घटनाबारे केही पत्ता लाग्‍न नसकेको सिंहले बताए । डिआईजी सिंह भने ‘दम्पतीको अवस्था हालसम्म अज्ञात छ । जिउँदो वा मृत के अवस्थामा छन् भन्‍ने कुरातर्फ केन्द्रित भई हामीले अनुसन्धान गरिरहेका छौं ।

संकाका आधारमा पक्राउ परेका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको छ । जसमा पक्राउ परेका हरेन्द्र र रामबाबुले कतिपय कुरा झुट विवरण दिएको देखिएको डिआईजी सिंहले बताए । 

झा दम्पत्ती फागुन १० गते राति घरबाटै बेपत्ता भएका थिए । उनीहरू सुतेको ओछ्यानमा रगतका केही छिटा देखिएकाले हत्या भएको हुन नसक्ने आशंका गरिदै आएको छ । ओछ्यान नजिकै देखिएका रगतका छिटा नमूना परीक्षणका लागि काठमाडौ पठाइएको र रिपोर्ट आएपछि केही भन्‍न सकिने प्रहरीले बताएको छ ।

प्रहरीले अनुसन्धानको क्रममा महोत्तरी र धनुषाका ४ दर्जनभन्दा बढी पोखरीमा खोजबिन गरिसकेको छ । फागुन १४ गते महोत्तरीको एक पोखरीबाट बेपत्ता दम्पतीले प्रयोग गर्ने झुल बरामद गरेको प्रहरीले जनाएको छ । 

पोखरीमा खोजबिन गर्ने क्रममा जाल हान्‍नेदेखि डुंगासम्म  प्रयोग गरिसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

बेपत्ता मोसाफिर झा मालपोतको पूर्वकर्मचारी र जग्गा विवादमा साक्षी बसेको कारण केही दिनअघि एक स्थानीयसँग विवाद भएको स्थानीयले बताएका छन् । त्यही विवादका कारण हत्या भएको हुन सक्ने आशंका स्थानीयको छ । प्रहरीले पनि सोही आधारमा अनुसन्धान गरिरहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x