समाज

'राज्य सञ्‍चालन नफेरिँदा सुशासन कायम भएन'

सुभाष कर्ण |
फागुन २२, २०७७ शनिवार १७:३४ बजे

जनकपुरधाम : शासन व्यवस्था फेरिँए पनि राज्यको मूल चरित्र र सञ्‍चालन व्यवस्था नफेरिँदा मुलुकमा सुशासन कायम हुन नसकेको वक्ताहरूले बताएका छन् । शनिबार जनकपुर साहित्य महोत्सवको चौथो दिनको “कसले देला सुशासन” शिर्षकको पहिलो सत्रमा  सहभागी वक्ताहरूले देशमा प्रजातन्त्र, पञ्‍चायत, बहुदल र गणतन्त्रलगायतका शासन व्यवस्था फेरिँए पनि काम गर्ने प्रणाली पुरानै रहेकाले कारण सुशासन कायम हुन नसकेको बताए । 

कार्यक्रममा वक्ता  इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले  देशमा संघीयता आएपनि नागरिकले गाउँगाउँमा सिंहदरबार पुगेको महसूस गर्न नसकेको पनि बताए । उनले भने, 'संघीयता आएपछि गाउँगाउँमा अधिकार र नागरिकलाई सेवाभन्दा तुजुक र कुशासन पुग्यो । जसको परिणाम मुलुकमा परिवर्तन आए पनि प्रणाली त्यही गयो, जुन पहिला सिंहदरबारमा हावी थियो । जसले गर्दा आम नागरिकले परिवर्तनको अनुभव गर्न सकिरहेका छैनन् ।'


थापाले कुनै एक पक्षलाई दोष दिएर मात्रै नहुने, सबैले कुशासनको प्रणाली तोडन सबैले आ-आफ्नो जिम्मेवारी वहन गर्न जरुरी रहेको बताए । छ । परिवर्तनका लागि उच्च तहका कुनै एक व्यक्ति अघि बढे भने सुशासनको कायम हुन सक्नेछ ।

 प्रदेश-२ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले मुलुकमा परिवर्तनपछि संघीयता आएपनि काम गर्ने कर्मचारी त्यही पुरानो मानसिकता बोकेका भएकाले प्रणालीमा परिवर्तन आउन नसकेको बताए । उनले भने, 'मुलुकमा सुशासन कायम गर्नुछ भने काम गर्ने कर्मचारीको मानसिकतामा परिवर्तन ल्याउन जरुरी छ । जंगबहादुर राणाको पालादेखि विभिन्‍न राजनीतिक परिवर्तन आएर तर काम गर्ने प्रणाली र संरचनामा कुनै परिवर्तन आएन । जबसम्म राज्यको स्वरुप र चरित्र, नेतृत्व तथा निर्णय गर्ने क्षमतामा परिवर्तन ल्याउन सकिदैन । तबसम्म सुशासन कायम हुन सक्दैन ।'

दिपेन्द्र चौलागाईले मुलुकमा सुशासन कायम गर्न शासन व्यवस्थापन भन्दा पनि मानसिकता र संस्थागत सुधारको आवश्यकता रहेको बताए । उनले भने, 'संस्थागत परिवर्तनका लागि सबभन्दा पहिला राज्यले इनसेन्टिभको मानसिकता त्याग्‍नु पर्छ । किनकी हाम्रो मुलुकमा सबभन्दा बढी कर उठाउने अर्थमन्त्री र सबभन्दा बढी फाइन उठाउने ट्राफिक असल र सबल हुने मानसिकता छ । राज्यले जनताबाट बढी कर उठाउनु भन्दा राम्रो सहज ढंगबाट राम्रो सेवा दिने न कि कर उठाउने वातावरण बनाउनु पर्छ ।'

समाजसेवी मुन्‍नी दासले कानुन कार्यान्वयनको अवस्था कमजोर भएको बताइन् । उनले भनिन्, 'देशमा असल कानुन र त्यसको कार्यान्वयनको पक्ष कमजोर भएको कारण मुलुकमा सुशासन कायम हुन सकेको छैन । भ्रष्टाचार कहाँ-कहाँ भइरहेछ सम्बन्धित निकायलाई थाहा छ । तर, कारबाही गर्नुको सट्टा सलाम गर्छन भने सानातिना कर्मचारी र आम नागरिकलाई कारबाही गर्छन् । समस्या यहीँनेर छ ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x