समाज

त्रिविमा जर्नल आर्टिकल लेखन अभ्यास : घरदेश र परदेशको सहकार्य

इकागज |
फागुन २२, २०७७ शनिबार २१:३० बजे

काठमाडौँ : अमेरिकामा साँझ पर्दै थियो । यता भर्खर मिरमिरे उज्यालो । प्राध्यापनमा संलग्न दुवै मुलुकका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरू प्राविधिलाई चुस्त दुरुस्त पार्दै, आफ्नो कम्युटर अगाडि बसेर बोल्ने र सुन्‍ने तयारीमा थिए । 

कसैको इन्टरनेट चलेन त कसैले सारै ‘स्लो’ भयो भन्दै थिए । कोही भन्दै थिए, ‘मेरो विषयगत समूहमा जुमबाट पस्नै सकिएन, कसरी पस्ने ? मेरो प्रस्तुति नै देखिएन, यस्तैयस्तै ।’ त्यतीबेला लाग्थ्यो सबैजना प्रविधिको ‘क्लास’मा छन् । मुलुकको बुढो विश्वविद्यालयमा प्राध्यापन लागेकालाई अनुसन्धनात्मक जर्नल लेख लेखाउने प्रयास पहिलो लक्ष्य भए पनि सँगसँगै आइटी मैत्री बनाउने कार्य पनि भयो । 


घरदेशबाट परदेश पढ्न जाँदा समय र रकमको अभावले आउजाउ नै गर्न गाह्रो हुँदा प्रविधिको एक झ्यालबाट यसरी सहकार्य गर्ने मौका मिलेको सुनाउँदै थिए, न्यूयोर्कस्थित स्टोनी ब्रुक विश्‍वविद्यालयका सहप्रध्यापक डा. घनश्याम शर्मा । उनीसहित अन्य १५ जनाको विशेष सहकार्यमा १३ समूहका ८१ जनाले अन्तराष्ट्रिय स्तरको जर्नल आर्टिकल तयार पारेका छन् ।

सबै आर्टिकल अब छापिने तहमा पुगिसकेका छन् । फरक-फरक विषयमा केन्द्रित रहेर तयार पारिएका जर्नल आर्टिकलले ‘टियू इज डेड’ भन्नेहरूलाई साच्चै जवाफ दिने उनीहरूको विश्‍वास छ । ‘मिड करिअर’मा रहेका उप/सह-प्राध्यापकले छ महिना स्वयंसेवी बनेर मेन्टरको सहयोगमा आर्टिकल तयार पारेका हुन् । 

लेखन कार्यमा सहभागीले डा. शर्मालाई धन्यवाद दिएका थिए । विदेशमा रहेर पनि आफूले अध्ययन गरेको मातृ विश्वविद्यालयलाई जोडेर अब्बल बनाउन लागेकोमा शर्मालाई धन्यवादको पात्र बनाइएको थियो । लेखनमा सहयोग त छदैँछ प्रविधिको व्यवस्थापन पनि शर्माकै काँधमा थियो । त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाले पनि डा. शर्माको प्रयासलाई विश्वविद्यालयले मुल्यांकन गर्ने बाचा गरे ।

अनुसन्धान तथा लेखन अभियान समारोह नियाल्दै उनले भने, ‘विदेशी भूमिमा रहेर पनि मातृ विश्वविद्यालयलाई यो स्तरको योगदान गर्नु  सामान्य कदापी होइन ।’ यो अभियानले त्रिविका अध्यापकहरूलाई ‘ग्रास रुट’ देखि जोड्ने काम गरेको डा. बास्कोटाको ठहर थियो । 

डा. शर्माको मुख्य संयोजनमा तयार भएको जर्नल आर्टिकलमा आधारित रहेर गरिएको प्रस्तुती पनि शनिबार नै भयो । आफू अभियानको मुख्य संयोजक भए पनि सहभागी सबैको योगदान महत्वपूर्ण रहेको र दुवैपक्षबाट सिक्ने सिकाउने काम भएको शर्माको भनाइ थियो । 

उत्कृष्ट तरिकाले विद्या अभ्यास गराउँने व्यक्ति नै प्राध्यापक हुन् । त्यसैले पनि प्राध्यापकलाई सम्मान गरिन्छ । त्यसो त प्राध्यापकले आफैँ पनि राम्रै अध्ययन गर्नुपर्छ । प्राध्यापकमा शैक्षिक प्रमाणपत्रको अलावा विद्या र प्रस्तुतीमा पारंगत हुनु आवश्यक छ । 

त्यसका लागि उत्तिकै मेहनत र अध्ययन चाहिने भन्दै प्राध्यापक डा. शर्माले भने, ‘पाँच छ वर्षदेखि यसप्रकारको कार्यक्रम आयोजाना गर्दै आएका हौँ । हामीले सबैसाथीहरूसँग अनौपचारिक रूपमा समूह बनाएर काम गरिरहेका छौँ । यो कार्यमा त्रिविका उपकुलपति, विभागका प्रमुख, रजिस्टारलगायत सबैको साथ र सहयोग छ ।’
 
विदेशमा रहेकाहरूले त्रिविलाई अर्थात मातृ मुलुकलाई चटक्कै बिर्सन्छन भन्‍ने होइन । कुनै ग्रान्टबिना पनि त्रिविमा काम गर्न सकिन्छ भन्‍ने तथ्यको प्रमाण हो, यो कार्यक्रम । विदेशलाई ‘विक डेज’ र नेपाललाई ‘विक एन्ड’ दिएर भएपनि सहकार्य गरेको र आज यो यति आर्टिकल तयार भएकोमा उनले खुशी व्यक्त गरे । डा. शर्मा मात्र होइन अमेरिकामा रहेका अन्य प्राध्यापक पनि कार्यक्रममा सहभागी थिए । 

‘यस्ता लेखन कार्य दुवै पक्षको उत्तिकै सहकार्यबाट मात्र सम्भव छ तर अनुसन्धानकर्ताले जाँगर चलाउनुपर्छ,’ उनले भने, ‘यो कार्यक्रम नियाल्दा तयार आर्टिकल हेर्दा सबैमा उर्जा बढेको देखिन्छ । अगामी दिनमा सहकार्य थप अघि बढ्ने नै छ ।’ 
 
काम आफैले गर्ने हो भन्दै उनी थप्छन्, ‘संस्थाले गरेन, नेताले गरेन भनेर गुनासो गरिरहनुको भन्दा आफूले चाहिँ के गरे भनेर आफैँलाई प्रश्‍न गर्नुपर्छ ।’ त्रिविको आलोचना गर्ने भन्दा पनि सन्ततिका लागि विशेष अध्ययन स्थलको रूपमा विकास गर्नुपर्ने भन्दै उनले भने, ‘हामीले हिमाल, पहाड, तराई सबै मिलाएको मात्र होइन समूह निकै समावेशी पनि बनाउने प्रयास गर्‍यौं ।’

इन्डेक्स धेरै भएका जर्नल होइन अध्ययन गरेका जर्नल निकाल्नु पर्नेमा जोड दिइएको पनि उनले बताए । ‘हाम्रो दिन र रात नमिले पनि बात मिलेको कारण यस्तो कार्य सम्भव भएको हो,’ डा. शर्माले भने । 

समाजको परिवर्तनमा प्राध्यापकको भूमिका अग्रणी रहन्छ । प्राध्यापकको मुख्य काम अध्यापन गर्ने भएपनि अनुसन्धान गर्ने, अनुसन्धान गराउने र आविष्कारहरूमा जोड दिने जस्ता कार्यलाई सँगै अघि बढाउन पनि उनीहरुको दयित्व हुन्छ । यस्तै विषय पनि कार्यक्रममा नउठेको होइन । काठमाडौँ विश्व विद्यालयका दिपक सुवेदी हुन या त्रिविका डा. निता सैजु प्रधान सबैको धारणा छ, ‘८१ जर्नल आर्टिकल लेखन चानचुने एकेडेमिक काम होइन ।’

त्रिविले जर्नल आर्टिकल लेखनलाई प्राथमिकतामा राख्दै विभागहरूलाई सक्रिय बनाउन पर्ने हो । तर, त्रिविबाट अपेक्षाकृत काम नहुँदा बाहिर रहेकाहरूको अनौपचारिक संयोजनमा भएपनि यस्तो कार्य हुनु प्रशंसनीय हो । त्यसमा पनि लेखनमा संलग्नहरू स्वयंसेवी भावमार्फत सहकार्य गर्नु साच्चै लोभलाग्दो कार्य हो । त्रिविमा रहेकाले केही गर्न सक्दैनन् भन्‍नेलाई यो लेखन सहकार्य गतिलो जवाफ रहेको उनीहरूको धारणा छ । 

सहभागि ध्रुवकुमार गौतमले यस लेखनकार्यलाई सुरुवात भनेका छन् । यस्तै मिसिगन विश्वविद्यालयबाट डा. केशव पोखरेलले यस किसिमको सहकार्यलाई भविष्यमा पनि निरन्तरता दिने अठोट व्यक्त गरे । सिक्ने र सिकाउने काम भएकाले नै ‘रिसर्च’ भनिएको हो । यसको जे जस्तो माध्यमबाट सुरुवात भएको छ यसलाई अघि बढाउनुपर्ने धारण डा. पोखरेलको थियो । नानु देवकोटा हुन या चन्द्र उपाध्याय सबै सहभागीको मत यस्तै थियो । कार्यक्रमको अन्त्यमा विभिन्‍न विधामा उत्कृष्ट सावित हुने सहभागीलाई इ-प्रमाण पत्र पनि प्रदान गरिएको थियो । 
 


Author

थप समाचार
x