कर्णालीका बालबालिका घरमै असुरक्षित
काठमाडौँ : कर्णालीका बालबालिका घरमै असुरक्षित रहेको सरोकारवालाहरुले बताएका छन् । बालबालिकाहरू सबैभन्दा आफन्त तथा नातेदारहरुबाटै असुरक्षित रहेको उनीहरुले बताएका छन् । महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले वीरेन्द्रनगरमा आयोजना गरेको बालबालिका खोजतलास नं. १०४ संचालन तथा बालअधिकार प्रबर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा डिआइजी बसन्त पन्तले बालबालिका बाहिर भन्दा आफन्तहरुबाटै जोखिममा रहेको बताए ।
कर्णाली प्रदेश प्रहरी प्रमुख पन्तले बालबालिकाहरू आफ्नै घरमा जाेखिममा रहेको बताए । ‘जोखिममा रहेका बालबालिकालाई समयमै जोखिमबाट मुक्त गर्न नसकेमा समस्या निम्तिन सक्छ’ उनी भन्छन्, ‘समयमै उनीहरुलाई जोखिम मुक्त गर्न सकेमा देश विकासमा उनीहरुको महत्वपूर्ण योगदान हुन्छ ।’ कर्णालीका १० जिल्लामा बालबालिका खोजतलासको लागि १०४ र जोखिममा रहेमा १०९८ नम्बर प्रयोगमा ल्याएको उनले बताए ।
डिआइजी पन्तले बालबालिका हराएपछि सुरुवातमा प्रहरीमा खबर आउने र उनीहरुको उद्धार कार्य सुरुवात गरिने बताए । ‘कतिपय अवस्थामा बालवालिकाको उद्धार कार्य र उनीहरुको पुनर्स्थापनामा समस्या हुने गरेको छ’ पन्त भन्छन्, ‘अभिभावकविहीन बालबालिकालाई पुर्स्थापना गरेर राख्ने ठाउँ नहुँदा झन् समस्या थपिने गरेको छ ।’
पन्तले बालबालिकाको सुरक्षा दिन सकेमा ठूला अपराध न्युनिकरण गर्न सकिने बताए । ‘अधिकांश अपराधहरु अभिभावकको संरक्षकत्व नपाएका बालबालिकाबाट हुने गरेको छ’ उनी भन्छन्, ‘त्यसैले घरमै राम्रो संरक्षकत्व पाएमा उनीहरु भविष्यमा नैतिकवान र इमान्दारी बन्छन् ।’ राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले जोखिममा रहेका बालबालिका उद्धारका लागि सरोकारवाला निकायहरुसँग सहकार्य गरेर काम गरिरहेको बताए ।
यसको लागि सातवटै प्रदेशमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएको बताए । कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका महिला सेलमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । परिषद्का सदस्य सुन्दर लामिछानेले जोखिममा रहेका बालबालिका उत्पिडनमा परेको बताए । पछिल्लो समय प्रविधिको कारण बालबालिका खोजतलासमा समस्या परेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया